Latest Updates :

सेती नदीमा बगेको छोरा बाँचेपछिको खुसी लक्कीका बुवा प्रकाश र आमा वसन्तीले उद्धार गर्ने सबैलाई धन्यवाद दिए पुरा ..


SHARE THIS POST :

डोटी, दिपायलको मौसम सफा भएसँगै गर्मी बढेको थियो । सदा झै दिपायलका केहि बालबालिका सेती नदीमा पौडी खेल्नका लागि घरबाट निस्किए । यसैमध्येका एक थिए दिपायल सिलगढी नगरपालिका १० मा बस्दै आएका ९ वर्षे बालक लक्की कठायत । विद्यालय विदा भएको मौका पारेर साथीसँगै पौडी खेल्न निस्किएका उनी र उनको परिवारका लागि आजको दिन अकल्पनीय दिन भयो । लक्की साथीहरुसँगै सेती नदीमा पौडिँदै थिए । नदीमा पानीबो बहाब उच्च थियो । त्यसैले नदीले काठ–दाउरा पनि बगाएर ल्याएको थियो ।




 नदीमा बगेर आएका काठ–दाउरा समात्दै लक्की नदीमा रमाइलो मानेर साथीहरुसँग पौडी रहेका थिए । महादेव मन्दिर नजिकै पौडी खेल्दै गर्दा उनी एका एक सेतीको भंगालोमा परे । उर्लदो सेतीको भंगालोमा परेपछि अत्तालिएका लक्कीलाई नदीले बगाउन थाल्यो । उनका साथीहरु हेरेको हेर्है भए । तर बगेर झण्डै ५० मिटर तल पुगेपछि कसो कसो उनी नदीको बिचमा रहेको ढुंगा थुप्रिएको ठाउँमा पाखा लागे । पुलको पिल्लर भएको ठाउँ भन्दा केहि मास्तिर ढुंगा थुप्रिएको थियो ।

त्यो थुप्रोमा उत्रिएपछि ९ वर्षे लक्कीले पुनर्जीवन पाउन सके । उनी नदीको बिचमा थुप्रिएका ढुंगामा पाखा त लागे, तर उन्मादसँग उनको दायाँ र बायाँबाट उर्लिएको भदौरे सेतीलाई पार गरेर यो टापूबाट निस्किने उनीसँग कुनै आट र उपाय थिएन । सेती पार गरी किनारा तिर जान नसकेपछि लक्की आफू पाखा लागेको ढुंगामै बसि रहे । यतिखेरसम्म उनलाई नदीले बगाएको खबर फैलिसकेको थियो । नदीको पुलबाट ओहोर दोहोर गर्नेले पुलमुनी हेरे । लक्की त लगलग कामेर ढुंगामा बसिरहेका । लक्की बगेर पाखा लागेको खबर दीपायल भरी फैलियो । पुलमा रमिता हेर्नेको भीड बढ्न थाल्यो ।



 तर पुलमुनि अड्किएका उनलाई निकाल्ने कुनै उपाय सुल्झिएन । पानीमा जस्तो सुक्कै पौडी खेल्न सक्नेले पनि त्यहाँ गएर लक्कीलाई उद्धार गर्ने आँट गर्न सकेनन् । झण्डै डेढ घन्टाको पर्खाईपछि दिपायलकै खडक कठायत र शिद्धराज साहुले नदीमा हाम फालेर लक्की भएको ठाउँमा पुगे । तर उनीहरुले लक्कीलाई बोकेर नदी तार्न संभव थिएन । त्यसपछि डोरी र जाल ल्याइयो । पुलमाथिबाट डोरीमा जाल बाँधेर तल खसालियो । खडक र शिद्धराजले लक्कीलाई बलियो गरेर जालमा पोको पारे । पुलमाथि बसेकाले विस्तारै विस्तारै डोरी ताने । लक्कीको उद्धार भयो ।
मरेर बाँचेको छोराको उद्धार भएपछि लक्कीका बुवा प्रकाश र आमा वसन्तीले छोराको  उद्धार गर्ने सबैलाई धन्यवाद दिए  । लक्कीकी फुपु कृष्णा कठायतले उज्यालो अनलाइनसँग भन्नुभयो ‘हाम्रा भगवान दाहिना भए, हाम्रो भदा बाँच्यो हामी खुसी छौ ।’ लक्की दिपायलकै खप्तड इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गरिरहेका छन् । लक्कीका १३ वर्षे दाइ चिरञ्जीवी कठायत गहभरी खुसीको आँसु निकाल्दै भने ‘भाइ र मसंगै एउटै स्कुलमा पढ्छौं, भगवानले मेरो भाइ बचाए, यसैमा खुसी छु ।’ लक्कीको स्वास्थ्य अवस्था राम्रो रहेको बुवा प्रकाश कठायतले जानकारी दिनुभयो । ‘छोरो सकुशल छ, मेरा भगवानले मेरो छोरो दिए धन्य छ प्रभुलाई ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv