चितवन, १२ असोज– पूर्वगृहमन्त्री माधव घिमिरेका चालक विष्णु राईले आफूले त्रिशूली नदीमा पौडिएर ज्यान जोगाएको बयान दिएका छन् ।
दुर्घटनाका एकमात्र जिवित पात्र राई घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । राईले प्रहरीलाई दिएको बयानमा दुर्घटनाको समयमा पूर्वमन्त्री घिमिरेले गाडी हाँकेको उल्लेख गरेका छन् । घिमिरेले दमैलीबाट आफै.ले गाडी हाँकेको उनले जनाए । अप्ठेरो सडकमा विपरीत दिशाबाट आएको गाडीलाई साइड दिने क्रममा आफूहरु सवार गाडी अनियन्त्रि भई नदीमा खसेको राईले बताएका छन् । ‘गाडीमा हामी चारजना थियौं, तीनजना बीचैमा खस्नुभयो, म खोलामा उछिट्टिएँ ’, राईको भनाइ उद्धृत गर्दै चितवन प्रहरीका एक अधिकारीले भने, ‘मलाई पौडी खेल्न आउने भएकाले पौडिएर नदी किनारामा आएँ ।’ राईले पौडन असजिलो भएकाले जुत्ता खोलेर फयाँकेको समेत बताएका छन् । मुक्तिनाथ दर्शन गरी राजधानी फर्कंदै गर्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ चितवनको मुग्लिन र कुरिनटारको बीचबाट त्रिशूलीमा खसेको थियो । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भएको थियो । पूर्वगृहमन्त्री घिमिरे तथा भाइहरु प्रकाश र मोहन अझै बेपत्ता छन् ।
Post a Comment