महाराष्ट्र नवनिगम सेनाद्वारा पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घन्टे अल्टिमेटम भारत नछाडे भौतिक कारवाही गर्ने कडा चेतावनी
मुम्बई, ७ असोज । महाराष्ट्र नवनिगम सेना (एमएनएस) ले भारतमा कार्यरत पाकिस्तानी कलाकारलाई ४८ घन्टाभित्र भारत छाड्न अल्टिमेटम दिएका छन् । ४८ घन्टाभित्र भारत नछाडे उनीहरुमाथि भौतिक कारवाही हुने चेतावनी पनि नवनिगम सेनाका कार्यकर्ताले दिएका छन् । कश्मिरस्थित उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय सैनिकको निधन भएपछि भारतीय चलचित्रमा कार्यरत पाकिस्तानी कलाकारलाई ४८ घण्टे अल्टिमेटमसहितको चेतावनी आएको हो । नवनिगम सेनाले पाकिस्तानी कलाकारले पिट्ने र पाकिस्तानी कलाकारलाई आफ्नो चलचित्रमा भूमिका दिने निर्मातादेखि निर्देशकसम्म सबैलाई भौतिक कारवाही गरिने चेतावनी पनि दिएको बताइएको छ । उक्त कुरा भारतीय फिल्म कर्मचारी संघबाट सार्वजनिक भएको हो । भारतीय फिल्म कर्मचारी संघले एक विज्ञप्ती जारी गर्दै यसलाई गम्भीरताका साथ नलिएको खण्डमा गम्भीर नतिजा भोग्न तयार हुनुपर्ने भन्दै सबैलाई सचेत गराएको छ । एमएनएस चित्रपट सेनाका एमेए खोप्कारले शुक्रबार भनेका छन्, ‘हामीले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको समय दिएका छौं। जसले अटेर गरेर बस्छ त्यसले पिटाई खान्छ। निर्माता निर्देशकले पनि अटेर गरेर उनीहरूलाई काम दिन्छन् उनीहरूले पनि कुटाई खानेछन् ।’ भारतीय चलचित्रमा पाकिस्तानका थुप्रै कलाकार काम गरिरहेका छन्। जसमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास र मावरा होकाने प्रमुख छन्। पाकिस्तानी कलाकारले भारतमा धम्की पाएको यो पहिलो घटना होइन्। यसअघि शिव सेनाले फवाद खान र मिहारा खानको फिल्म ‘ऐ दिल हे मुस्कील’ र महिरा खानको फिल्म ‘रइस’ लाई प्रतिबन्ध लगाउने धम्की दिएको थियो। धम्कीकै कारण पाकिस्तानका थुप्रै कलाकारले पछिल्लो समय भारतको भ्रमण रद्ध गरिसकेका छन्। मेकाल हसन ब्यान्ड र गजल सम्राट गुलाम अलीको भारतको कार्यक्रम रद्ध भइसकेको छ।
Post a Comment