‘मिस नेपाल’ नेपालमा हुने सुन्दरी प्रतियोगिताहरुमा सर्वाधिक प्रतिष्ठित प्रतियोगिता हो । भलै, यसको व्यवस्थापन समस्यारहित छैन र यस प्रतियोगिताको निष्पक्षतामाथि पनि बेला–बेलामा औला ठडिने गरेको छ ।
यति हुँदाहुँदैं पनि मिस वल्र्ड, मिस इन्टरनेशनलजस्ता अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने मिस नेपालले नै भएकाले यसको प्रतिष्ठा र गरिमा राष्ट्रको गरिमासँग जोडिने गरेको छ ।
राष्ट्रको प्रतिनिधित्व कुनै व्यवसायिक प्रयोजनको नीजि क्षेत्रलाई पूर्ण विश्वासका साथ सुम्पिने वा राज्यले नै त्यसको स्वामित्व लिने भन्ने कुरामा पनि बहसहरु भएका देखिदैंन् । तर, यसमा बहसको अपरिहार्यता भने जरुरी देखिन्छ ।
‘मिस नेपाल’ हिडेन ट्रेजर नामक निजी कम्पनीले गर्दै आएको छ । हालसम्म यसले २० नेपाल सुन्दरीहरु जन्माइसकेको छ । यसरी मिस नेपाल छनौट भएकाहरु केही वर्ष चर्चा रहन्छन र विस्तारै गुमनाम हुन्छन् । कतिसम्म भने केही नेपाल सुन्दरीहरुको त कहीँ चर्चा भएको समेत सुनिदैंन् ।
मिस नेपालको बिसौं संस्करणबाट अश्मी श्रेष्ठले मिस नेपालको ताज जितेकी छन् । २२ वर्षीय श्रेष्ठले १८ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल २०१६ को ताज पहिरिएकी हुन् । नेपालले नयाँ मिस नेपाल पाइरहँदा यसअघिका मिस नेपालहरु कहाँ के गर्छन सबैको चासोको विषय भएको छ । यस्तो छ पूर्व मिस नेपालहरुको व्यस्तता :
१. रुबी राणा- (१९९४)
सिंगो संस्करणकै पहिलो मिस नेपाल बनेकी राणा उमेरमा ४० नाघि सकिन् । फाट्टफुट्ट सिनेमामा पनि देखिएकी उनी केही वर्षयता जावलाखेलमा रुबी ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छिन् । श्रीमानले पनि उनलाई ब्यवसायमा साथ दिएका छन् ।
मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक, फिलिपिन्समा सहभागी बनेकी राणाले त्यसयता उपलब्धिमुलक काम केही गर्न सकिनन् ।
भारतीय सेनाका भूतपूर्व क्याप्टेन जनकबहादुर राणाकी छोरीका रुपमा वीरगन्जमा जन्मिएकी उनले २०५२ सालमा प्रजय विक्रम शाहसँग विवाह गरिन् ।
२. सुमी खड्का- (१९९५)
काठमाडौंमा जन्मिएकी हुन्, दोस्रो नेपाल सुन्दरी सुमी खड्का । यी सुन्दरी पनि नेपालमा मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक, फिलिपिन्समा उपस्थित भइन् । तर, उनको असफल उपस्थिति मात्रै रह्यो ।
उनले मोडल र अभिनेत्रीका रुपमा त काम गरिन तर त्यसमा सफलता भने हात पार्न सकिनन् ।
अन्ततः कतार एयरवेजमा एयर होस्टेस छिन्, खड्का । उनको पनि चर्चाभन्दा बढी छायाँमा परेकी मिस नेपाल हुन् ।
३. पुनम घिमिरे- (१९९६)
काठमाडौंकी घिमिरेको त आम रुपमा चर्चा पनि भएन । नत नेपालका सुन्दरीका रुपमा उनले विशिष्ट छाप नै छाड्न सकिन् ।
अम्बर कर सफ्टवेयर कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत घिमिरे पनि मिस नेपाल बनेपछि मिस एसिया प्यासिफिक फिलिपिन्समा सहभागी मात्रै भइन् । र उनको यात्रा त्यसमै सिमित रह्यो ।
४. निलिमा गुरुङ- (१९९७)
एसिया प्यासिफिक फिलिपिन्सकी एक सहभागी गुरुङ अन्ततः एक उद्यमी हुन् ।
पोखरामा जन्मिएकी निलिमाको आफ्नै एक ब्यवसाय छ । र, यी सुन्दरीले पनि आफ्नो ताजको खासै उपयोग गर्न सकिनन् ।
५. झरना बज्राचार्य- (१९९७)
अरुको तुलनामा अहिलेसम्म बढी चर्चामा रहने मिस नेपाल हुन्, झरना । त्यसो त, उनी अध्ययनशील सुन्दरी मानिन्छिन् । सन् १९८१ मा जन्मिएकी झरना १६ वर्षमै मिस नेपालको ताज जित्न सफल भएकी थिइन ।
मिस नेपाल बनेपछि मिस वर्ल्ड, सेचलेसमा सहभागी बनेकी बज्राचार्य नेपाली फिल्मी क्षेत्रमा केही वर्ष जमेरै बसिन् । उनले झण्डैं डेढ दर्जनको हाराहारीमा फिल्ममा अभिनय गरेकी छिन् ।
कुनै समय उनलाई ‘म्युजिक भिडियो क्वीन’ भनेर पनि भनिन्थ्यो । तर, पछिल्लो समय भारतीय मूलका एक मलेसियन ब्यवसायीसँग विहे गरेर सामान्य जीवनयापन गर्दै आएकी छिन् ।
सामाजिक सञ्जालमा पोष्ट भएका उनका पछिल्ला केही अभिव्यक्तिले के देखाउँछ भने झरनाले मोडलिङ र फिल्म चटक्कै छोडेर मलेसियामै रमाउने सम्भावना बढी छ ।
६. निरु श्रेष्ठ- (१९९८)
ज्योती प्रधानको ताज खोसिएपछि निरु श्रेष्ठ मिस नेपाल बनेकी हुन् ।
मिस एसिया प्यासिफिक फिलिपिन्सकी एक सहभागी थिइन् । तर, उनले पनि मोडलिङ वा फिल्मलाई आफ्नो करिअर बनाइनन् । अमेरिका बस्दै आएकी श्रेष्ठ अहिले पाइलटका रुपमा कार्यरत छिन् ।
६. श्वेता सिंह- (१९९९)
श्वेता पनि मिस वल्र्ड यूकेको सहभागी मात्रै बनेकी थिइन् । तर, अहिले मिस नेपाल छान्ने जिम्मा छ, उनलाई ।
पछिल्लो केही वर्षयता उनी हिडन ट्रेजरको कार्यकारी अधिकृतको रुपमा आफ्नो भूमिका देखाउँदै आएकी छिन् । उनले पनि मिस नेपाल जितेपछि आर्जित गर्नुपर्ने ग्ल्यामरस र चर्चा हासिल गर्न सकिनन् ।
७. उषा खड्गी- (२०००)
सुन्दरताको बयान निकै हुनेमध्ये एक सुन्दरी हुन्, उषा खड्की । तर, उनको सुन्दरता यात्रा भने सन्तोषजनक देखिएन ।
वीरगन्जबाट रुबीपछि मिस नेपालको ताज जित्न सफल भएकी उषाले मिस वल्र्ड यूकेको सहभागी भएकी थिइन । उनले एक उद्यमी तथा टेलिभिजन प्रस्तोतासँग विहे गरिन् ।
केही विज्ञापनमा फाट्फुट्ट देखिन्छिन् । पछिल्लो समय भने उनले युआर स्टाइलिस बुटिक सञ्चालन गरी काठमाडौंमै बसेकी छिन् ।
८. माल्भिका सुब्बा- (२००२)
धेरै युवाहरुको ‘आइडियल लेडी’को रुपमा चिनिने सुब्बा मिस नेपाल बनेपछि पनि केही वर्ष टेलिभिजन प्रस्तोताको रुपमा अनुहार देखाइन् ।
मोडलिङको साथै उच्च रकममा केही विज्ञापनमा पनि उनलाई प्रयोग गरिन्छ । अन्ततः उनले पनि काठमाडौंकै एक ब्यबसायीसँग विहे गरी औसत जीवनयापन गर्दै आएकी छिन् । उनले केही फिल्म र म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन् । उनले एउटा म्यागेजिनको समेत सम्पादन गर्दै आएकी छिन् ।
९. प्रीति सिटौला- (२००३)
१६ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल सन् २००३ बनेकी हुन् काठमाडौंकी प्रिति सिटौंला । मिस वल्र्ड चाइनामा सहभागी बनेकी सिटौला पनि टेलिभिजन कार्यक्रममा प्रस्तोताको रुपमा केही वर्ष देखिइन् ।
तर, पछिल्लो समय भने हिडेन ट्रेजरमा प्रोग्राम संयोजकको भूमिका पाएकी छिन् ।
१०. पायल शाक्य- (२००४)
सुन्दरी मिस नेपालको चर्चा हुँदा पायलको पनि विशेष चर्चा हुने गर्छ ।
सन् २००४ मा पायल मिस नेपाल भएकी थिइन । चकलेटी अनुहार, आकर्षक जिउडाल पायलका विशेषता हुन् । उनी गैडा संरक्षण र विभिन्न सामाजिक काममा समेत सक्रिय भएकी थिइन । शाक्य पनि मिस वल्र्ड चाइनाको एक सहभागी थिइन् ।
सन् १९८६ मा जन्मिएकी पायलले २०११ मा अग्लिज ब्याण्डका सरुण ताम्राकारसँग बिहे गरिन् ।
शाक्य अन्ततः अस्ट्रेलिया पुगिन । अहिले सिड्नीमा बस्दैं आएकी छन्, उनी ।
११. सुगरिका केसी- (२००५)
मिस नेपाल बनेकी केसीको आउटलुक आकर्षक छैन भनेर सधैं आलोचना भइरह्यो । तर, अनुहारको सुन्दरता कमजोर भए पनि ‘एकेडेमिक’ भने हुन् उनी ।
रेडियो प्रस्तोताको रुपमा आफ्नो करिअर सुरु गरेकी केसीले मिस नेपालको ताज पहिरिएपछि मिस वल्र्ड चाइनामा सहभागी भइन् र सुन्दरताको यात्रा त्यतिमै सिमित भयो । पछिल्लो समय उनी एक सोसल इन्टरप्रेनरको रुपमा चिनिन्छिन् ।
१२. सिताष्मा चन्द- (२००७)
मिस वर्ल्ड चाइनामा सहभागी भएकी सिताष्मा अहिले इमिरेट्स एयरवेजमा एयर होस्टेसको रुपमा कार्यरत छिन् । १२ औं नेपाल सुन्दरी बनेकी उनी सेन्ट मेरिज स्कुल पढेकी हुन् । पाटनकी यी सुन्दरी भलिबल खेलमा पनि उतिकै रुची राख्छिन् ।
१३. जेनिशा मोक्तान- (२००९)
मोडलिङमा कुनै बेला चर्चा कमाएकी जेनिशा मोक्तान पछिल्लो समय भने खासै चर्चामा छैनन् । मोडलिङबाट सुरु भएको उनको करिअर अन्ततः ब्यवसायमा पुगेको छ ।
ब्यवसायी दिपक मल्होत्राका पुत्र दिकेश मल्होत्राको साथमा विहे गरी सेटल हुने तयारीमा छिन् उनी ।
त्यसो त, (इन्टिग्रेटेड मोविलिटी सोलुसन) आइएमएसमा उनी जागिरे पनि हुन् । जुन कम्पनीका मालिक उनै दिपक हुन् । उनी गत फागुनमा ब्यवसायी दिकेश मल्होत्रासँग बैवाहिक बन्धनमा बाधिएकी छन् ।
१४. सदिक्षा श्रेष्ठ- (२०१०)
मिस नेपालको ताज पहिरिएपछि मिस वल्र्ड चाइनाको सहभागी बनेकी श्रेष्ठ केही समय विज्ञापनहरुमा पहिलो रोजाइ बनेकी थिइन् । केही मोडलिङमा पनि उनको अनुहार देखियो । अन्ततः सदिक्षा एउटा कम्पनी पूजा इन्टरनेशनल प्रा.लि.मा जागिरेमा सिमित भइन् ।
१५. मलिना जोशी- (२०११)
सन् २०११ को नेपाल सुन्दरीको ताज जितेकी मलिना धरानकी हुन् । मिस वल्र्ड यूकेमा सहभागी बनेकी मलिनाले केही फिल्ममा अनुहार देखाइन् । ‘ऋतु’ लगायत केही फिल्ममा अभिनय गरेकी उनी एक सफल मोडल तर असफल अभिनेत्री भनेर आलोचना हुने गरेको छ । तर, कतिपयले भने मलिनाको अझै परिक्षण हुन बाँकी रहेको बताइरहेका छन् ।
१६. सृष्टि श्रेष्ठ-(२०१२)
सन् २०१२ की नेपाल सुन्दरी हुन्, चितवनकी सृष्टि श्रेष्ठ । बेलायतमा तीन वर्ष मोडलिङ गरेपछि उनी काठमाडौंमा फर्केर मिस नेपालमा सहभागी मात्र भइनन्, ताज पनि जितिन् । मिस नेपाल भएपछि उनलाई मिस वल्र्ड चाइना सहभागिता जनाउने अवसर मिल्यो । त्यसयता उनले बलिउडमा पनि डेब्युका लागि धेरै मेहनेत गरिन् । केही समय अगाडि मात्र उनले बलिउड सिनेमा ‘ज्याकपट’ अनप्लगड भिडियोमा अभिनय गरेपछि उनको चर्चा अझ चुलियो ।
यतिमात्र होइन्, म्युजिक भिडियो नखेल्ने घोषणा गरेर मुम्बई हानिएकी उनी नेपाल फर्केर म्युजिक भिडियोमा पनि देखिइन् । अहिले उनी नायक भुवन केसीका छोरा अनमोल केसीको जोडीका रुपमा सिनेमा खेल्ने तयारीमा छिन् ।
१७. इशानी श्रेष्ठ- (२०१३)
नेपालका मिस नेपालहरुमध्ये विश्वमा नेपाललाई चिनाउने यिनै सफल सुन्दरी बनिन् । पेशाले डेन्टिस्ट श्रेष्ठ मिस वल्र्ड इन्डोनेसियामा सहभागी मात्रै भइनन् उनी त्यहाँ टप टेनभित्र परिन् । साथै, विश्वभरिका सुन्दरीहरुमध्ये एक शीर्षक उनले जितेकी थिइन् ।
नेपाली मिस नेपालहरुले विश्व प्रतिष्पर्धामा नपाएको सफलता इशानीले जितेकी थिइन् । तर, पछिल्लो समय एक सोसल वर्कर भनेर चिनिन्छिन् । ग्ल्यामर दुनियाँमा भने उनको चर्चा उति सारो हुँदैंन् ।
१८. सुविन लिम्बु-(२०१४)
सन् २०१४ की नेपाल सुन्दरी हुन्, सुविन लिम्बु । १९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल बनेकी धरानकी यी सुन्दरी सफल उद्यमी बन्ने लक्ष्य राखेको बताउने गरेकी छिन् । उनले मिस वल्र्ड यूकेमा सहभागी भइन । सुविनको चर्चा पनि ग्ल्यामर दुनियाँमा खासै छैन् ।
१९. इभाना मानन्धर- (२०१५)
अघिल्लाे संस्करणकी मिस नेपाल हुन् इभाना मानन्धर । अमेरिकाबाट फर्केर मिस नेपाल छानिएकी इभाना मिस वर्ल्डमा सहभागी भइन् । अमेरिकाबाट बीबीए अध्ययन पुरा गरेकी इभाना व्यवसायी क्षेत्रमा हात हाल्ने साेचमा छिन ।
२०. अश्मी श्रेष्ठ
नयाँ मिस नेपालकाे रूपमा अश्मीले ताज पहिरेकी छिन । नेटबलकी राष्ट्रिय खेलाडी रहेकी २२ वर्षीय अश्मीले १८ जना प्रतियाेगीलार्इ उछिन्दै मिस नेपालकाे पछिल्लाे संस्करणकाे ताज हात पारेकी हुन् ।
Post a Comment