Latest Updates :

सुनिता दनुवारको आत्मवयान, ‘कोठीमा धन्दा नगरेसम्म पानी पिउन पनि दिन्न भनियो’ -


SHARE THIS POST :
के छ सुनिता दनुवारको ‘आँशुको शक्ति’ भित्र ?


काठमाडौ : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँशुको शक्ति नामक पुस्तक लोकार्पण गरे । शक्ति समुहकी पूर्व अध्यक्ष सुनिता दनुवारद्वारा लिखित एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक मंगलबार एक समारोहका बीच ओलीले लोकपर्ण गरेका हुन् । पुस्तकमा मानव बेचबिखन पश्चात मुम्बई लगायतका विभिन्न देशमा बेचिएका महिलाको पीडा समावेश छ ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सामाजिक न्याय, मानव अधिकारका लागि समाजिक अभियानकर्ताहरुले चलाएको अभियानले नागरिकहरुलाई सचेत बनाएको तर अझै सामाजिक न्याय र लैँगिक समानताका लागि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरे । वरिष्ठ मानव अधिकारकर्मी नागरिक समाजका अगुवा गौरी प्रधानले यस पुस्तक मार्फत सुनिताले समस्यालाई उजागर गरेर समाजको आँखामा लागेको पर्दा हटाएको बताउँछन् । के छ पुस्तकभित्र ? पुस्तकभित्रको केही महत्वपूर्ण केही अंश ः

‘जबसम्म धन्दा गर्दिनस्, तबसम्म पानी पनि पाउँदिनस्’

त्यो ‘घरवाली’ले ‘आमा’ शब्द उच्चारण गरिन्, मलाई सहन झन गाहाे भयो । मैले आँखा बन्द गरेर आक्रोशको आवेगलाई रोक्ने कोशिस गरें, तर सकिँन । रिसमा आँखा पनि मैले देखिनँ । के के गरें गरें ? मेरो त्यस्तो व्यवहार थेग्न नसकेर उनीहरुले हतार हतार मलाई ढोका भित्र छिराए र चाबी लगाए । जानेबेलामा ‘घरवाली’ले भनी ‘जबसम्म तैले धन्दा गर्दिनस्, तबसम्म तैँले पानी पनि पाउँदिनस् ।’ ‘बरु खाना र पानी केही पनि नदे, तर म यो धन्दा कुनै हालतमा गर्दिन’, मैले पनि कड्किएरै भनें ।


जब होसमा आएँ, म एउटा यस्तो कोठामा थिएँ । जुन मेरो लागि बिलकुल नौलो थियो । नौलो पनि किन नहोस् ? जन्मदै म माटोमा जन्में । मैले बामे सर्ने मझेरी माटोकै हो । बुवाले लुली खुट्टी लुली खुट्टी भन्दै हिडाएको आँगन पनि माटाले बनेको थियो । बालपनमा बुर्कुसी मार्दै मैले नापेका पाइलाले पहिलो स्पर्श नै माटोलाई गर्थे,म जन्मेर यत्री भएँ तर कहिलै गिटी, बालुवा, सिमेन्ट र सिंगमरमरको भव्यताभित्र पसेकी थिइनँ ।
अब म बन्दी भएकी थिएँ । कोठाभित्र ढोका ढक्ढक्याउने, कराउने, रुने गर्थें । कराउँदा घाँटी नै सुक्यो । रुँदा रुँदा आँखा सुन्निए । भित्तामा टाउको ठटाउँदा टुटुल्का उठे तर मेरो वेदना सुन्ने त्यहाँ कोही थिएनन् । छोरालाई कता लगे ? के खान दिए ? मलाई थाहै भएन । बेलाबेलामा झल्याक्झुलुक्क देखाउँथे । फेरि विजुली जस्तै चम्काएर कता लैजान्थे, कता ? मेरो भोक,तिर्खा, निन्द्राको कुनै ठेगाना थिएन । पानी खान नपाएर मुख सुक्नु भनेको त हावा बदलेको जस्तो भयो । कसरी सुत्नु ? निन्द्रा लागेको भए पो सुत्नु ! आनन्दमा पो हुँदो रहेछ आराम विराम !


चेलिबटीलाई जसरी त्यो नर्कमा पुरायाइन्छ तर उनीहरुले अनेक सास्ती खेप्न बाध्य हुन्छन् । जुन कुरा लेखेर वा बोलेर वर्णन गर्न सकिदैन । कसैका लागि रमाइलो वा आकांक्षा पुरा गर्न महिलाको अस्मितामाथि यति सम्म बज्रप्रहार गरिन्छ कि त्यसको ऐना अहिले पनि मुम्बई लगायत भारतका विभिन्न शहरका गल्लीहरुमा देख्न सकिन्छ । त्यसमा पनि नेपाली चेलीहरुलाई नेपालीले नै बेचबिखनमा पारेका घटनाले सिंगो नेपालको शिर निहुराउने गरेको छ । त्यस्ता अपराधीलाई राज्यले पहिचान गरी राज्यद्रोह सरहको कारबाही गर्नुपर्छ । महिलाहरुको वर्षाैदेखि अस्मिता लुटिएको छ । विभिन्न निकाय र नागरिक समाजले पहल गरेर त्यो नरकबाट मुक्त भएपछि पनि अनेक लाञ्छना लगाएर थप पीडा दिइने गरेका छ । त्यसैले भन्ने गरिन्छ त्यो नर्कबाट मुक्त भए पछि उनीहरुमा यौन चाहना हुन्छ । उनीहरुलाई त्यो लागेको बानी झैँ बनिदिन्छ । एक दुई दिन शारीरिक सम्पर्क राख्न नपाउँदा छट्पटि भए जस्तो हुन्छ । त्यतिबेला उनीहरु केटाहरुसंग भेट हुन पाए हुन्थ्यो भन्ने कामना राख्दछन् । होला ! कसै कसैमा त्यस्तो हुँदो हो त्यसैले त्यो नर्ककुण्डमा त्यस्ता कुरा सुनिने गर्थे । तर सबैमा भने त्यस्तो हुँदैन । बरु अपराधीहरुको जालोबाट मुक्त भएको बेला चेलीहरुले बडा आनन्दको अनुभुति गर्ने गर्छन् ।


बम्बईमा ‘खोली’ भन्ने आश्रयस्थल हुँदो रहेछ, जहाँ बच्चाहरुको हेरचाह गरिदो रहेछ । कोठीमा ल्याइएका महिलाका स–साना बच्चाहरुलाई त्यही खोलीमा राखिदो रहेछ । खोलीमा ‘आइ’हरुले ती सबै बच्चाहरुको लालनपालन गर्दा रहेछन् । हप्ताको एक पटक मात्र बच्चालाई आमासँग भेट गराउन कोठीमा ल्याइदो रहेछ । मेरो छोरालाई पनि खोलीमा लगेर राखियो । हुनत, हरेक आमाको मन हुन्छ, बच्चा आफुसँगै होस् । तर मैले अर्को हिसाबले सोच्दा छोरालाई खोलीमा लगेर राखेको ठीकै पनि लाग्यो । किनकि, छोरा यदि कोठामा मैसँग भएको भए उसको भविष्य के हुन्थ्यो ? ऊ खराब संगतमा पनि लाग्नसक्थ्यो ।


तैपनि खोली आफैमा सुरक्षित ठाउँ थिएन । खोलीमा कसैका छोरीलाई राखिएको छ भने क्याल्सियम खुवाएर छिटो छिटो हुर्काउने र खाइलाग्दो ज्यानकी बनाएर कम उमेरमै कोठीमा ल्याएर धन्दामा लगाउने चलन रहेछ । हुर्कीसकेको छोरालाई भने धर्म पुत्रका रुपमा अरु कसैलाई टन्नै रकम लिएर बेचिदिंदा रहेछन् । जसरी हुन्छ पैसा कमाउने । मेरो छोरालाई पनि धर्म पुत्रका रुपमा कसैलाई बेचिदिने हुन् कि भन्ने चिन्ताले मलाई सँधै सताइरहन्थ्यो । हुन पनि मैले कोठीमा बस्दा यस्ता दृश्यहरु देखें, जहाँ पहिला दिदीलाई ल्याएर बेचियो र दिदी धन्दामा अभ्यस्त भएपछि उनकी बहिनीलाई पनि दलालहरुले ल्याएर बेचे । बहिनी भर्खर नौ–दश वर्षकी भएकाले उनलाई खोली (आश्रयस्थल )मा लगेर राखियो । खोलीमा क्याल्सियम खुवाएर उसलाई चिन्नै नसक्ने बनाएछन् । हलक्क बढेकी । दुई महिनापछि कोठीमा ल्याउँदा उनलाई हामी कसैले चिनेनौं । उनको बडी स्ट्रक्चर पुर्ण रुपमा विकसित बनाइएको थियो र कम उमेरमै धन्दाका लागि ‘योग्य’ बनाइएको थियो । त्यसरी दिदी र उनकी कलिली बहिनीलाई एक साथ धन्दामा लाग्न बाध्य पारियो ।


पिलोज्मा ग्राहकले केटी छान्ने हैन, केटीहरुले ग्राहकलाई तानातान गर्थे । केटीहरु मेकअप गरेर रोडमा लहरै बसिरहेका हुन्थे । बाटोमा कुनै केटालाई देख्नासाथ उनीहरु ‘अरे मेरे साहरुख खान आजा ना, सिर्फ बीस रुपय तो है, मेरे जाने मन, जाने जिगर, आजा ना’ भन्दै तान्न जान्थे । बाटोमा हिँडिरहेका केटाहरुलाई उनीहरु तान्न गएको त्यो दृश्य बडा अचम्मको हुन्थ्यो । ग्राहक र केटीहरुवीच बीस रुपैयाँदेखि पचास रुपैयाँसम्म बार्र्गेनिङ हुन्थ्यो । तिनमा माग्नेदेखि रिक्सावालासम्म ग्राहक हुन्थे । कुरा मिलेपछि केटीहरुले ग्राहकलाई माथि आफ्नो पिलोज्मा लैजान्थे ।पिलोज् खासमा निम्न बर्गको यौन अखडा हो । त्यहाँ ग्राहक पनि निम्न बर्गका र केटीहरु पनि त्यस्तै खालका हुन्थे । त्यहाँ जोखिम पनि धेरै हुन्थ्यो । विभिन्न खालका यौन रोगको संक्रमण हुने जोखिम पनि पिलोज्हरुमा बढी हुन्थ्यो । सुरक्षित यौन सम्पर्क हुँदैनथ्यो र केटीहरु सहजै कन्डम नलगाई सम्पर्कका लागि तयार हुन्थे । त्यहाँका केटीहरु त्यही कारण गर्भवती हुन्थे र त्यहीँ बच्चा पनि जन्माउँथे । अवस्था कहाँसम्म दर्दनाक हुन्थ्यो भने पिलोज्को बेडमुनि सानो बच्चा सुतिरहेको हुन्थ्यो । माथि बेडमा आमा यौन धन्दा गर्न बाध्य हुन्थिन् ।


उफ् ! स्वदेश आउनु भन्दा त बरु हामीलाई भारतको त्यही सरकारी आवास ठीक लाग्यो । त्यो सरकारी आवासभन्दा त बरु त्यही कोठी ठीक थियो, जहाँ मानिसहरु हाम्रो शरीरसँग मात्र खेल्थे, कम्तीमा हाम्रो मनमा त उनीहरुले धावा बोलेका थिएनन् । हाम्रो यौन शोषण हुन्थ्यो, तर हामीले मनभित्र लुकाएर राखेको स्वदेशप्रेमको भावनामा त ठेस पुग्न पाएको थिएन । आफ्ना मानिसहरुप्रतिको विश्वास जिवितै थियो, तर स्वदेश आएपछि हाम्रो त्यो विश्वास धरमराउन थाल्यो । चार दिवारभित्रको कोठीमा केही पुरुषहरुले हामीलाई झम्टिन्थे, हाम्रो शरीरलाई झम्टिन्थे, विमानस्थलमा त सयौं आँखाहरुले हामीलाई झम्टिन खोजेको पायौं । पत्रकारहरुका ‘भोका क्यामरा’हरुले झम्टिन खोजेको पायौं । मानिसहरुको उपहासले भरिएका दृष्टिका तिखा काँडाहरुले हाम्रो आत्मसम्मान र स्वाभिमानमा चारैतिरबाट घोंची रहेजस्तो लाग्यो ।


लुकी लुकी क्याबिन रेस्टुराँहरुमा छिर्ने भएर त होला, सिडिओ कार्यालयको एउटा अधिकारीले हामीलाई प्याच्च भनिहाल्यो, ‘तिमीहरु त विछट्टै राम्री पनि रहेछौँ । कलिला केटीहरु रहेछौँ, यसो मसाज पार्लर, डान्स बार या क्याबिन रेस्टुराँतिर लागे पो काम पनि पाइन्थ्यो, टन्न पैसा पनि कमाइन्थ्यो त ! संस्था चलाउन त धेरै गाराे हुन्छ मैयाँ हो । पि.एच.डी. पास गरेकाले मात्र संस्था चलाउने हो । भो, दुःख नगर नानी हो ।’


नागरिकताका लागि अनावश्यक दुःख पाएपछि एक दिन मलाई साह्रै झोँक चल्यो । अनि सोझै जिल्ला विकास समितिका सभापतिलाई गएर भनें–‘यो के चाला हो, कि म नेपाली नागरिक हैन भनेर लेखेर दिनुस् । या श्रीमानको नामबाट नागरिकता बन्दैन भन्ने बुँदा संविधान या कानूनमा कहाँ लेखेको छ त्यो देखाउनुस् ? चार वर्षदेखि म यही नागरिकताकै लागि काठमाडौं धाइरहेकी छु । एक पटक आउँदा मेरो पाँच–छ हजार रुपैयाँ खर्च हुन्छ । मलाई नागरिकता नदिएर किन दुःख दिएको ?’


मेरो एक मात्र लक्ष्य हो, बहुआयामिक रुपमा नेपाली महिलाको सशक्तीकरण । उनीहरुलाई जोखिममा पर्न नदिने, जोखिममा परेका छन् भने उद्धार गर्ने र आश्रय दिने अनि शैक्षिक, आर्थिक र राजनीतिक रुपमा समेत उनीहरुलाई समाजको नेतृत्वदायी स्थानमा पु¥याउने । बस मेरो जीवनको चाहना, लक्ष्य, उद्देश्य जे भने नि यही हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv