जनकपुर, १६ भदौ – जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको भन्दै परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।
डाक्टरहरुले पेटको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर निकालेपछि महोत्तरी भरतपुर-४ की २६ वर्षकी चन्द्रकला पासवानको ज्यान गएको परिवाजनले आरोप लगाएका छन्। शिवजी पासवानका श्रीमती चन्द्रकलालाई सुत्केरी व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो। समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा नजन्मेपछि मंगलबार राति साढे ८ बजे बच्चा निकाल्न अप्रेशन कक्षमा भर्ना गरियो।
आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव सुरु भएको थियो। त्यसपछि डा सिंहले बच्चा पेटबाट निकाल्दा बच्चाको ज्यान गइसकेको थियो। रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाइएको उनका काका अनिल पाशवानले बताउनुभयो।
डा सिंहले पाठेघर झिकेकाले अत्याधिक रक्तश्राव भई बुधबार बिहान चन्द्रकला सिकिस्त भएपछि उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै अस्पतालले सिटी हस्पिटल जनकपुरमा बिहान १० बजे रेफर गरिएको थियो। सिटी हस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको ज्यान गएको परिवारजनले जनाएको छ। चन्द्रकलाको यसअघि दुई छोरी भइसकेको छ।
अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउँदै दोषी डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा गौराग मिश्राले चन्द्रकलाको सामान्य रुपमा बच्चा नजन्मेपछि डा शिला सिंहले शल्यक्रिया गर्न थाल्नुभएको थियो।
उहाँका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो। पाठेघर फाटेको अवस्थामा हटाउनु पर्ने हुँदा अर्का प्रसुति रोग विशेषज्ञ डा विजय सिंहलाई बोलाएर दुबै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो। शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेडिकल सुपरीटेन्डेन्ट मिश्रले बताउनुभयो। यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टीकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने उहाँले बताउनुभयो।
पछिल्लो समय जनकपुर अञ्चल अस्पतालमा लापरबाही बढ्दै गएको छ। जसको कारणले समयमा उपचार नपाउँदा विरामीको ज्यान जाने गरेको छ। उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंङ होममा गएर उपचार गराउने गरेका छन्।
Post a Comment