लिउ झेनफेङको विवाह
२५ वर्षको उमेरमा भयो । उनको परिवार आम परिवार जस्तै थियो – एक छोरी, एउटा घर, फर्निचर र गुडियाहरूले भरिएका । ती छोरी सोङ जोङपेई अहिले २८ वर्षकी भएकी छन् र फरकबाटो हिँड्दै छिन् । सोङ अहिले बेइजिङमा दुईजना साथीहरूसँग एउटा भाडाको अपार्टमेन्टमा बस्छिन् र आफ्नो करिअरमा केन्द्रित छिन् । उनले छिट्टै विवाह गर्ने र आमा बन्ने सोचेकी पनि छैनन् । उनी भन्छिन्, ‘अहिले मेरो निम्ति व्यक्तित्व विकास नै सबैभन्दा प्रमुख हो ।’
अहिले निकै कम चिनियाँ
मात्रै विवाह गरिरहेका छन् र यसले चीनको आर्थिक तथा सामाजिक जीवनमा गम्
भीर परिवर्तन आइरहेको जनाउँछ । घट्दो विवाहको अर्थ सन्तानको संख्या घट्नु, घर कम बन्नु र पारिवारिक जीवनका लागि आवश्यक सामानको कम खपत हुनु हो । जब कि यिनै सामग्रीको खपतले चीनको
आर्थिक वृद्धि सुचारु राख्ने हो ।
हुनत केही व्यवसायीले एकल जीवनलाई ध्यानमा राख्न सुरु गरिसकेका छन् । आभूषण निर्माताहरूले अहिले अविवाहितका लागि सस्तो मूल्यका गहना बनाइरहेका छन् । एउटा घरायसी सामग्री निर्माताले अहिले स-साना राइस कुकर बजारमा ल्याएको छ ।
त्यसो त घट्दो विवाह दर र चीनमा रहेको एक सन्तान नीतिको आफ्नै सकारात्मक पाटो पनि छ ।
यसले शिक्षित महिलाहरूको संख्या बढाइरहेको छ । अर्थशास्त्र, जनसंख्या र समाजशास्त्रका विशेषज्ञहरूका अनुसार, करिअर केन्द्रित आफ्नो खुट्टामा आफैं उभिएका महिलाहरूले विवाहलाई सुरक्षित जीवनको आधार मान्न छोडिसकेका छन् ।
पेकिङ विश्वविद्यालयको ‘नेसनल स्कुल अफ डेभलपमेन्ट’का प्राध्यापक झाङ सियाबोका भन्छन्, ‘उनीहरू (महिलाहरू) शिक्षित छन्, राम्रो आम्दानी हुने जागिर खाएका छन् । त्यसैले उनीहरू आर्थिक रूपमा सुरक्षित हुनकै लागि विवाह गर्दैनन् ।’
चीनले भने आफ्ना आधिकारिक सञ्चारमाध्यमहरूबाट बत्तीसै लक्षणले युक्त पुरुष नखोज्न भन्दै विवाहका लागि प्रोत्साहन गरिरहेछ । तर बदलिँदो समाजले विवाहलाई झनै जटिल बनाएको छ । पछिल्लो वर्ष, १ करोड २० लाख चिनियाँ जोडीहरूले विवाह दर्ता गराए । यो घट्दो विवाहदरको अर्को उदाहरण हो । पछिल्लो वर्ष ३८ लाखवटा सम्बन्ध विच्छेद भए, यो संख्या एक दशकअघिको भन्दा दोब्बर हो ।
विवाह दर घट्नुको एउटा प्रमुख कारण चीनको एक–सन्तान नीति हो । यो नीति गत जनवरीदेखि ३५ वर्षपछि औपचारिक रूपमा हटाइयो । यसले चीनको जन्मदर एकदमै द्रुत गतिमा घटाएको थियो । यसको परिणाम स्वरूप मुख्य विवाह हुने उमेर समूह २० देखि २९ वर्षका युवाहरूको संख्या दुई दशकमा निकै घटेको थियो । परिवारले छोरालाई प्राथमिकता दिँदा चीनमा लोग्नेमान्छेहरूको संख्या निकै बढ्यो जसले विवाहलाई झनै जटिल बनाइदियो ।
यो प्रवृत्तिले परिवारको सांस्कृतिक चिन्तनमाथि विचार गर्न बाध्य गराएको छ । त्यतिबेला मागी विवाह चलनचल्तीमा थियो जहाँ अभिभावकले नै आफ्ना छोराछोरीको विवाहसम्बन्धमा सबै निर्णय गर्थे ।
सोङकी आमा लिउ उनको छोरीले मिल्दो जोडी नभेटाउँदासम्म कुर्नुपर्छ भन्ने स्वीकार गर्छिन् । उनी त्यस्तो जोडी भेटिनेमा विश्वस्त पनि छिन् । ‘म उनको सुखद जीवनको कामना गर्छु’, लिउ भन्छिन्, ‘मेरो विचारमा परिवार हुनु नै बढी सुरक्षित हुन्छ ।’
चीनले आफ्ना आधिकारिक सञ्चारमाध्यमहरुबाट बत्तीसै लक्षणले युक्त पुरुष नखोज्न भन्दै विवाहका लागि प्रोत्साहन गरिरहेको छ । तर बदलिँदो समाजले विवाहलाई झनै जटिल बनाएको छ ।
अर्थतन्त्रमा भने यसको असर दुवै खाले हुनसक्छ । एकल मानिसहरूले विवाहितहरूले भन्दा निकै कम घर खरिद गर्छन् । उनीहरूका सन्तान हुँदैनन् । त्यसैले कम गुडिया खरिद गर्छन् । त्यसले परम्परागत रूपमा कम खर्चिला हुने चिनियाँहरूलाई अमेरिकी जीवनजस्तो खर्चिलो बनाई आन्तरिक खपत बढाउने चीनको प्रयासलाई बाधा पुर्याउन सक्छ ।
चीनमा अझै पनि महिला र पुरुषबीचको रोजगारी र ज्यालादरमा असमानता छ । तर सन् २०१४ मा अन्डरग्रयाजुयट विद्यार्थीमध्ये पचास प्रतिशतभन्दा बढी महिलाहरू थिए जब कि एक दशक पहिला ४६ प्रतिशतमात्र महिलाहरू थिए ।
पूर्वी चीनको ह्वाङजाउमा अर्थशास्त्रमा विद्यावारिधि गरिरहेकी ३० वर्षीया चेङ गुपिङ तीमध्ये एक महिला हुन् । उनले शिक्षा र व्यवसायिकतालाई जोड दिँदा हालैमात्र उनको प्रेमीसँग विछोड भयो । ‘मलाई लाग्छ हामीबीच आवश्यक आकर्षण थिएन’, उनले भनिन्, ‘म आफैंलाई जाँच्न चाहन्छु म एक्लै कति टाढासम्म जान सक्छु ।’
चेङको विचारमा मिल्दा जोडी फेला पार्न सकस नै छ । उनी भन्छिन्, ‘उनको उमेरका केटाहरू ‘गैरजिम्मेवार र अपरिपक्व छन् ।’ आफ्नो पूर्वप्रेमीबारे बताउँदै उनले भनिन्, ‘जब हामी बाहिर घुम्न वा खाना खान जान्थ्यौं, ऊ खाली क्युट बन्न खोज्थ्यो र मुस्काउँदै भन्थ्यो- ‘म तिमीले चाहेजस्तै गर्छु’, यसले मलाई ऊ मेरो छोरा भएजस्तै महसुस गराउँथ्यो ।’
यो विवाह समस्याले व्यवसायीहरू पेसा परिवर्तन गर्ने तयारी गरिरहेछन् । आभूषण उद्योगहरूले विवाह दर घट्दा बिक्री घट्ने अनुमान गरिरहेका छन् । त्यसैले धेरै बिक्री केन्द्रहरूले सस्तो मूल्यमा अनेक प्रकारका आभूषणको अफर गरिरहेका छन् ।
‘तैपनि उनीहरू विवाह गरिरहेका छैनन्’, हङकङमा रहेको ‘त्से सुइ लिउन’ आभूषण बिक्री केन्द्रका शाखा प्रमुख एन्नेइ याउ त्सेले भने, ‘मानिसहरू अझै पनि आफूसँग कोही भए हुन्थ्यो भन्ने चाहन्छन्, उनीहरू प्रेम चाहन्छन् ।’
अनलाइन प्रपर्टी एजेन्ट झियाझिसुनका अनुसार उनीहरूको कम्पनीले निकै कम मूल्यमा अविवाहित क्रेतालाई निकै कम मूल्यमा आवास उपलब्ध गराउने योजना बनाइरहेबो छ । घरेलु सामग्री निर्माता ‘मिडेई’ले एकल व्यक्तिले खाना पकाउन सक्नेगरी स–साना राइस कुकरहरू बनाइरहेछ । ‘मिडेई’का घरेलु सामग्री विभागका चिफ प्रोडक्ट म्यानेजर हुवाङ बिङ भन्छन्, ‘हामी चीनमा बदलिँदो पारिवारिक संरचनाप्रति सचेत छौं ।’
यतिमात्र होइन, यो परिवर्तनले चीनमा पारिवारिक सम्बन्ध र सन्तानको जिम्मेवारीमाथि पनि अनेकन् प्रश्न उठाएको छ । उदाहरणका लागि चीनमा विवाहित जोडीले वृद्धावस्थामा पुग्दै गरेका आमाबुवाको हेरचाह गर्ने परम्परा छ । २९ वर्षीया वु झिङजिङलाई उनको उमेरको पुस्ताका लागि वृद्धहरू झन्झट हुन्छन् भन्ने लाग्छ । वु भन्छिन्, ‘निकै धेरै मानिसहरू छन् जसका लागि सन्तान हुर्काउने र आमाबुवाको स्याहार गर्ने दोहोरो काम निकै झन्झट लाग्छ ।’
उनकी आमालाई भने उनले विवाह नगरे उनको स्याहार कसले गर्ला भन्ने चिन्ता छ । ‘अहिले त हामी उनको ख्याल राख्न सक्छौं’, ५३ वर्षीया लिपिङले भनिन्, ‘हामी उनलाई ख्याल गर्ने मान्छे फेला परोस् भन्ने कामना गर्छौं ।’ अहिलेसम वु अविवाहित नै छिन् र सही मान्छे नभेट्दासम्म विवाह नगर्नेमा ढुक्क छिन् ।
(चीनमा बढ्दो विवाहरले सामाजिक र आर्थिक क्षेत्रमा परिरहेको प्रभावरबारे न्यूयोर्क टाइम्समा सोमबार प्रकाशित एमी साङ । झाङ तियानतियानको लेख । )
Post a Comment