Latest Updates :

भूइँचालोले पशुपतिभित्र के-के गर्‍यो ? कसैलाई थाहा छैन ! मुख्य मन्दिर बनाउने जिम्मेवारी कोषको हो कि पुरातत्वको ?


SHARE THIS POST :


२६ भदौ,। सरकारले पशुपतिनाथ मन्दिरको कोर क्षेत्रको पुनर्निर्माण आफैंले बनाउने र बाहिरी भाग भारतलाई बनाउन दिने बताएको छ । तर, गत वर्षको विनाशकारी भूकम्पले पशुपतिनाथको मूल मन्दिरमा के-कति क्षति पुगेको छ भन्ने अहिलेसम्म अध्ययन नै भएको छैन । पशुपतिनाथको मूल मन्दिर विगतमा हरेक सय/डेढ सय वर्षमा ममर्त सम्भार हुने गरेको इतिहास छ । पछिल्लोपटक १७५४ मा तत्कालीन राजा भूपतिन्द्र मल्लका पालामा ममर्तसम्भार भएको थियो । तर, त्यसयता मर्मत सम्भारका कुनै पनि काम भएका छैनन् । ‘भूकम्पपछि बाहिरबाट हेर्नेबाहेक केही काम भएको छैन,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले अनलाइनखबरसँग भने, ‘भूकम्प गएका बेला मन्दिरभित्र भएकाहरुले धुलो उडेको देखेको भनेका छन् । तर, के कति क्षति भयो थाहा छैन ।’ कतिसम्म भने पशुपतिनाथको मुल मन्दिरको पहिलो दोस्रो तलामा सरसफाइसमेत हुन छाडेको छ । परेवाहरुले काठमा फोहोर गर्ने गरेका छन् । परेवाको विष्टामा एसिड हुने भएकाले काठमा असर गर्छ । तर, ०४६ सालयता मन्दिरको दुबै तलामा सरसफाइ गरिएको छैन ।

 क्षति के-केमा पुगेको छ ?
 गत वर्षको भूकम्पले पशुपतिनाथ मन्दिरको कोर एरियामा पनि ठूलो क्षति भएको देखिएको छ । मूल मन्दिर बाहिरबाट हेर्ने काम मात्र भएकाले भित्र के कति क्षति भयो लेखाजोखा छैन । यसबाहेक बासुकी मन्दिरमा क्षति पुगेको छ । कोटी लिंगेश्वर मन्दिरमा पनि भूकम्पले क्षति पुगेको छ । भान्साघर र महास्नानको भान्साघर पनि भत्किएको छ । भूकम्पपछि भान्साघर पकाउनै नहुने अवस्था भएपछि पशुपति क्षेत्र विकास कोष आफैंले बनाउने प्रक्रिया थालेको छ । यसको नक्सा बनिसक्यो । तर, निर्माण कार्य सुरु भएको छैन । अरु कहिले बन्ने हो टुंगो छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ मन्दिरको कोर एरिया आफैंले बनाउने भने पनि थप केही गरेको छैन । कोर एरिया बाहेकको पुनर्निर्माणको जिम्मा भने भारतलाई दिने तयारी भइरहेको छ । तर, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले प्रस्तावित एमओयूमा सहमति नदिए प्रधानमन्त्री प्रचण्डको आशन्न भ्रमणमा नेपाल-भारतबीच समझदारीमा हस्ताक्षर नहुन सक्छ ।

 जिम्मेवारी कोषकै होः पुरातत्व
 पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार पशुपतिनाथ परिसरको मुख्य जिम्मा कोषकै हो । ‘क्षति भए/नभएको रेकर्ड कोषसँगै हुनुपर्छ, विभाग आफ्नो खुसीले जान पाउँदैन’ उनले भने, हामीले त कोषले ल्याउने प्रस्ताव पुरातत्वको मापदण्ण्ड अनुसार छ भने विभागले निर्माण र पुनर्निर्माणका स्वीकृति दिन्छ ।’ भूकम्पपछिको क्षतिबारे कोषले किन मूल्यांकन नगरेको भन्दै प्रश्नमा सदस्य सचिव टण्डनले भने, हामीले हेर्नलाई त केही बिगि्रने थिएन, तर अनेक खालको हल्लाखल्ला हुन्छ । त्यसैले संस्कृति मन्त्रालय, पुरातत्व विभागको टोली समेत बसेर तत्काल क्षति मूल्यांकन गर्नुपर्छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv