काठमाडौं, साँघुरो र घुमाउरो सडक । भौगोलिक बनावट अनुसार नै बनेका बाटा । भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड । त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा त्रास भैरहन्छ ।
तराईका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना भैरहेको छ । कहिले रात्रि बस खस्छ, कहिले मालवाहक ट्रक, कहिले प्राईभेट जीप । त्रिशुलीमा खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन । पछिल्लो दुर्घटनामा बेपत्ता हुनुभएका पूर्व मन्त्री एवं पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको अवस्था पनि अहिलेसम्म अज्ञात छ ।
किन भेटिँदैनन् त्रिशुलीमा खसेकाहरु ?
अरु धेरै नदी खोला जस्तै त्रिशुली नदी पनि खोंच र पहराको कुना हुँदै बगेको छ । यो नदीको किनार भएर जाने धेरै सडकखण्ड बढी दुर्घटना हुने स्थलको रुपमा चिनिन्छ । दासढुङ्गा वा घोप्टेभिर जहाँ दुर्घटना भएपनि खस्ने त्रिशुलीमा नै हो ।
वर्षायाममा नदीको बहाव बढी हुने भएकोले त्रिशुलीमा बेपत्ता हुनेहरु भेटिने सम्भावना कम हुने उद्धारकर्ता बताउँछन् । त्रिशुली नदी किनारमा रहेको चन्द्रोदय उच्च मावि धादिङका शिक्षक एवं उद्धारकर्ता राममणि थपलियाका अनुसार यो समयमा नदीको पानीले ठूला र गह्रौं बस्तु ल्याउँछ भने मान्छे त बगाएर कता हो कता पु¥याउँछ । त्यसैले उनीहरु बेपत्ता हुन्छन् । गाडी खस्दा गाडीको पाङ्ग्रा झरेको छैन भने त्यसभित्रै रहेकाको खोजी कार्य गर्न निकै कठिन हुने उहाँको अनुभव छ । ‘पाङ्ग्रा सहितको गाडी यति ठूलो पानीको बहावले सजिलै बगाउने हुँदा कताको खोंचमा लगेर अड्काउँछ भन्न सकिन्न’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘यस्तो ठाउँमा खोजीकार्यमा खटिएकाहरु पनि जान सक्दैनन् ।’
तर गाडीबाट उछिट्टिएको अवस्थामा भने भेटिने गरेको उहाँको भनाई छ । यसअघि त्रिशुलीमा गाडी खस्दा केही यात्रुको शव नवलपरासीको त्रिवेणी बाँधमा भेटिने गरेको उहाँले बताउनुभयो ।
पानीभित्र खोज्ने गोताखोर पनि समुद्र जस्तो शान्त भएर बग्ने पानीभित्र मात्र जाने भएकाले यहाँका नदीखोलामा गोताखोरले पनि पत्ता लगाउन गाह्रो हुने उहाँले बताउनुभयो ।
कसरी खोजी गरिन्छ बेपत्ता भएकाको ?
बेपत्तालाई खोज्ने उपाय भनेको दुर्घटनास्थलबाट नदीको बहाव स्थलसम्म हो । गोताखोर एउटा उपाय हो तर नेपालको नदीमा गोताखोर पानी भित्र नै गएर खोज्न सक्ने अवस्था नभएको उद्दारकर्मी थपलियाको भनाई छ । ‘कुना तथा खोंचमा गएर डुबेको छ भने त त्यो खोजी कार्य गर्नै सकिंदैन जहाँ मानिस जानै सक्दैन त्यहाँ कसरी खोजी गर्ने’ उहाँले भन्नुभयो ।
‘र्याफ्टिङ वा डुङ्गाको माध्यमबाट नदीमा डुबेका गाडीलाई खोज्ने हो, गाडी बाहिर हो भने त लाशलाई त बगाएर लगिहाल्छ नि’ उहाँ भन्नुहुन्छ । डुङ्गामा हुक राखे हुकमा चुम्बक लगाएर चुम्बकको माध्यमबाट गाडीलाई पानीबाट बाहिर निकाल्न सकिन्छ, यदि गाडी छ भने ।
त्रिशली नदीको बहाव
त्रिशुली नदीको उद्मग स्थल रसुवाको गोसाईं कुण्ड हो । यो रसुवा, नुवाकोट हुँदै धादिङको बेनिघाटमा पुगेपछि बुढी गण्डकी नदी मिसिन्छ । मुग्लिनमा मस्र्याङदी तथा मुग्लिन र जलबिरे बीचको गाईघाटमा सेती नदी मिसिएको छ भने देवघाटमा काली नदी मिसिएपछि त्रिशुली नदी नारायणी नदीको रुपमा चिनिन्छ । जसको अन्त्य नवलपरासीको त्रिवेणीमा गएर हुन्छ ।
त्यसैले त्रिशुलीमा खसेका मानिसको लाश भेट्ने सम्भावना नवलपरासीको त्रिवेणीमा मात्र छ । जहाँ भारतले बिजुली निकाल्न बाँध बनाएको छ । यसअघि कतिपयको शव यहाँ भेटिएको थियो । तर कतिपय अवस्थामा भने त्रिशुलीको खोंच र अन्तरमै गाडी अड्किने भएकाले बेपत्ता भएकाहरुको अवस्था पत्ता लाग्न गाह्रो हुन्छ ।
-उज्यालो अनलाई
Post a Comment