Latest Updates :

जिल्ला स्वास्थ्य अस्पतालको कर्मचारीले भिडियो एक्स–रे मेसिन बेचेर पैसा खाएपछि !


SHARE THIS POST :


खोटाङ, भदौ । खोटाङ एकता सेवा समाज खोटाङले सहयोगस्वरुप जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन लिलाम बिक्री गर्ने कर्मचारीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ ।

 दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले सन् २००७ मा उपलब्ध गराएको भिडियो एक्स–रे मेसिन अस्पतालका भण्डारण शाखाप्रमुख मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा लिलाम बिक्री गरेको खुलासा भएपछि समाजले बुधबार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

अस्पतालले ‘करोडौँ मूल्य पर्ने उपकरण कवाडी’को भाउमा बिक्री गरेको खुलासा हुँदासमेत जिल्लास्थित राजनीतिक दल, प्रशासन, सम्बन्धित निकाय मौन बसेकाले कारबाहीको माग गरिएको समाजका कार्यवाहक अध्यक्ष सनमान खड्काले बताउनुभयो । विदेशमा पसिना बगाएर कमाएको पैसाले खरिद गरेर अस्पताललाई दिइएको उपकरणसमेत लिलाममा परेपछि समाजले कारबाहीको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो । समाजले लिलाम बिक्रीमा परेका सामान सिलबन्दी गरेर तत्काल लिलाम बिक्री गर्नमा संलग्न कर्मचारीका विषयमा छानबिन गरी कारबाही अघि बढाइनुपर्ने माग गरेको छ ।

 बिग्रिएका उपकरण मर्मत गरेर उपयोगमा ल्याउनुपर्नेमा कमाउने मनसायले कसैलाई पनि जानकारी नदिई न्यून मूल्यमा उपकरण लिलाम बिक्री गरेको आरोप छ । अस्पतालले विदेशबाट प्राप्त भएको उपकरण लिलाम बिक्री गरेको थाहा पाएपछि असन्तुष्ट बनेको समाजले लिलाम बिक्री गर्नमा संलग्न कर्मचारीलाई तत्काल पक्राउ गरेर कारबाहीको प्रक्रिया अघि बढाउन प्रजिअ कार्कीको ध्यानाकर्षण गराएका छन् । अस्पतालबाट लिलाम बिक्री भएका उपकरण तथा प्रक्रियाका बारेमा कागज मगाइसकिएको प्रजिअ कार्कीले बताउनुभयो ।

 दक्षिण कोरियामा रहेको समयमा खोटाङ एकता सेवा समाजका महासचिव निशान राईको संयोजनमा रु ३६ लाखको लागतमा खरिद गरेर एक थान भिडियो एक्स–रे मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको थियो । जिल्ला अस्पतालले गत फागुनमा दक्षिण कोरियाबाट प्राप्त भएका भिडियो एक्स–रे मेसिनसहित ११२ थरीका उपकरण तथा सामान रु २६ हजार ५०० मा लिलाम बिक्री गरेको सात महिनापछि सोको खुलासा भएको हो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv