Latest Updates :

शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य


SHARE THIS POST :

इलाम, १६ भदौ । सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुवै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ ।

“जनताको न्यायका लागि युद्धमा होमियौँ तर आज आफ्नै शरीरमा भएको गोली पनि निकाल्न नसक्ने स्थितिमा छौँ”, रामले भन्नुभयो – “उपचारका लागि धेरैतिर धायौँ तर उपचार हुन सकेन ।”

तेजबहादुरलाई शान्तिपुर गाविसको बदमटारमा र रामलाई दोहोरो भिडन्तका क्रममा चारवटा गोली लागेको थियो ।

“गर्मी र चिसोको समयमा अत्यधिक दुख्छ, खप्नसमेत गाह्रो पर्छ, तेजबहादुरले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “गोली निकाल्न धेरै जटिल र जोखिम व्यहोर्नुपर्छ भनेपछि शरीरमा बोक्न बाध्य छौँ ।”

तेजबहादुरको खुट्टामा एलएमजीको गोली लागेको बताइएको छ । दुवैले गोली झिक्नका लागि धेरैतिर प्रयास गरे पनि अहिलेसम्म झिक्न सकेका छैनन् ।

अनि त्यसमाथि पनि झिकेपछि पनि स्वस्थ भइन्छ भन्ने कुनै निश्चित रहेनछ । डाक्टरले नै प्यारालाइसिस र क्यान्सरको सम्भावना हुन्छ भनेपछि गोली निकाल्न नमानेको रामले बताउनुभयो । माओवादी केन्द्रका जिल्ला नेता उहाँहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपनि पनि आफूहरूको उपचारमा सहयोग नभएको गुनासो गर्नुहुन्छ ।

शान्ति स्थापना भएको एक दशक बितिसक्दासमेत सरकारबाट राहत र क्षतिपूर्ति केही नपाएको उहाँहरूको दुःखेसो छ । आफूहरूले अब केही गर्न नसके पनि सरकारले द्वन्द्वपीडित र घाइतेहरूका बालबच्चाको उचित शिक्षादीक्षा, रोजगारीको अवस्था सिर्जना गर्न सकेमा द्वन्द्वमा लागेको घाउमा मलमपट्टी हुने रामले बताउनुभयो ।

सशस्त्र द्वन्द्वका क्रममा इलाममा १९७ जनाको मृत्यु, २९ जना अङ्गभङ्ग भएका, ५८१ जना विस्थापित, ४० वटा गाविस भवनसहित ७८ वटा भौतिक संरचना क्षति, ४३४ जना बालबालिका प्रभावित भएको मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग नेपालले जनाएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv