इनरुवा, कात्तिक १५ ।
सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङ्गको मधुमल्ला–३ तोरी बारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटा सुमो चलाएर काठमाडौँदेखि दमकसम्मको यातायात सेवा दिन थालेकी छन् ।
पछिल्लो समय दमक–१३ मा बस्दै आएकी पाण्डेले १२ जना अट्ने सवारी साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गरेकी छन् । दुईवर्ष अगाडि साना तथा मध्यम सवारी साधन चालक अनुमति पत्र लिई छोटो दूरीको साधन चलाएर सेवा दिँदै आउनुभएका उहाँले दशैंदेखि लामो दूरीको सवारीमा हात हालेकी हुन् ।
करिव तीन हप्तायतादेखि पाण्डेले मे १ ज २०६३ नम्वरको गाडीबाट दमकदेखि काठमाडौँ र काठमाडौँदेखि दमकसम्म यात्रु ओसार्न थालेकी हुन् । पाण्डेले चलाउँदै आएकी गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला पुरुष दुबैले अहिले निर्धक्कसँग उनको गाडी चढ्न थालेका छन् ।
महिला भएर लामो दूरीमा सवारी साधन चलाउन पाएकामा खुसी देखिएका पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताछिन ।
राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाएकामा उनी सन्तेष मान्छिन् ।
लामो दूरीको यात्रामा एक्लैले ७–८ घण्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घण्टामा २ पटकसम्म दमक–काठमाडौँबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उनले बताइन ।
Post a Comment