Latest Updates :

सात कक्षाकै प्रेम उमेर नहेरी अदालतले यसरी गराइदियो बिहे


SHARE THIS POST :

११ कात्तिक, सप्तरी । प्रेम विवाह गरेको एक जोडी तथा केटाका आफन्तले प्रहरी तथा केही व्यक्तिले आफूहरूलाई दुःख दिएको भन्दै बुधबार राजविराजमा पत्रकार सम्मेलन गरे । यो जोडीले अन्तरधार्मिक विवाह गरेको थियो, केटा मुस्लिम र केटी हिन्दु परिवारकी ।
 विवाहपछि प्रहरीले आफूहरुलाई बिना कारण थुनामा राखेर यातना दिएको, केही व्यक्तिले गरगहना लुटेकाले न्याय दिलाइदिन उनीहरुले सबैसँग आग्रह गरे । ‘दमन गर्नेलाई कारबाही हुनुपर्‍यो’ विवाह गर्ने सप्तरी इनर्वा फुलबडिया गाविस ९ निवासी इर्सादका पिता जियाउलले भने, ‘लुटिएका गहना र प्रहरीलाई बुझाइएको रकम फिर्ता हुनुपर्‍यो ।’ यी कुरा हुँदै गर्दा भर्खरका देखिनेे नवदम्पतीमाथि नजर परेपछि पत्रकारले सोधे, ‘केटा र केटीको उमेर कति होला ?’ केटाका आफन्तले केटाको २१ वर्ष र केटीको २० वर्ष भनेर जवाफ दिए । पत्रकारले पुनः प्रश्न गरे, ‘कति कक्षामा पढ्दा रै’छन् ?’ यसको जवाफ केटाकेटी आफैंले दिए, ‘हामी दुबै कक्षा १० मा पढ्दै छौं ।’ कक्षा ७ मा पढ्दादेखि नै उनीहरूबीच प्रेम सम्बन्ध रहेछ ।
 उनीहरुले अगाडि बताए, ‘दुवैको परिवारले नमान्दा भागेर अदालतबाट नाता कायम गराई विवाह गरेका छौं ।’ ‘तपाईंहरुको नागरिकता छ ?’ भनेर पत्रकारले सोध्दा उनीहरुले नभएको बताए । ‘अनि जन्ममिति त थाहा होला नि ?’ केटाको बुवाले भने, ‘त्यो पनि थाहा छैन । तर, केटाको उमेर २१ र केटीको २० वर्ष पुगेको छ ।’ तीन वर्षे प्रेम, उमेर नपुगी विवाह सिरहाको लहानस्थित इन्टरनेशनल एकेडेमी स्कूलमा कक्षा १० मा अध्ययन गरिरहेकै समयमा उनीहरू भागेर विवाह गरेका हुन् । इर्साद सप्तरीका हुन् भने उनले विवाह गरेको सिम्रन मण्डल सिरहाको फुर्कयाही गाविसकी हुन् ।
 इर्साद स्कूलकै होस्टलमा बसी पढ्दै आएका थिए भने सिम्रनको लहान नजिकै आफ्नै घर छ । तीन वर्षदेखि प्रेम गर्दै आएको बताउने दुबैले परिवारले अनुमति नदिएपछि भागेर विवाह गरेको बताए । ‘सुरुमा मैले पनि छोरालाई यो विवाह गर्न रोक लगाएको थिएँ’ इर्सादका बुवा जियाउलले भने, ‘दुवैले नमानेपछि बाध्य भएर स्विकारेका छौं ।’ उनीहरुले आफ्नो कुरा बताउँदा जाँदा १० कक्षामा पढ्ने विद्यार्थीको उमेर २० र त्योभन्दा माथि नहुनुपर्ने भन्दै पत्रकारले आशंका व्यक्त गरे । अनुहार हेर्दा पनि दुवैको उमेर १६ देखि १७ को बीचमा देखिन्थ्यो । ‘दुवैको उमेर पुगेको देखिँदैन, कसरी भयो त विवाह ?’ भन्ने जिज्ञासामा केटा पक्षका आफन्तले भने, ‘अदालतले नै नाता कायम गरिदिएको छ ।
’ अदालत भन्छ- उमेर हेर्देनौं कक्षा १० मा अध्ययन गर्नेहरुको उमेर सामान्यतया कति होला ? सहजै अनुमान गर्न सक्छौं, १४, १५ या १६ । तर, बढी उमेर देखाउँदै अदालतमा नाता प्रमाणित गरिएको आशंकापछि पत्रकार सम्मेलनबाट सम्पूर्ण पत्रकार जिल्ला अदालत पुगे ।श्रेष्ठको उत्तर थियो, ‘नागरिकता, विवाह गरिएको अन्य प्रमाण ।’ तर, पत्रकारले घटनाबारे बेलिविस्तार सुनाएपछि श्रेष्ठले सुरुमा केटी पक्षले मुद्दा हाल्ने भएकाले त्यति कुरा नहेरिने गरेको बताए । ‘नागरिकता नभए पनि पीडित भन्दै आएपछि न्याय दिनुपर्‍यो नि,’ उनको भनाइ थियो ।
 फिराद दर्ता गर्न आउने जोसुकैको फिराद अदालतले दर्ता गर्ने गरेको बताउँदै श्रेष्ठले भने, ‘न्यायाधीश समक्ष फायल जाँदा शंका लागेमा उमेरको आधार या अन्य प्रमाण खोजिने गरिन्छ ।’ ‘तर यो नाता कायम त कानुनले बन्देज लगाएको उमेरका बालबालिकाको भएको छ नि ?’ पत्रकारले यसो भनेपछि उनले भने, ‘सबैको उमेर सोधिँदैन । शंका लागेपछि मात्रै सोध्ने हो ।’ उनले उमेर खुलाउने कुनै आधार नभए पनि अदालतले नाता कायम गरिदिँदै आएको बताए । ‘प्रायः केटीहरु करणी गरेको भन्दै नाता कायम गराइदिन भन्दै फिराद दिन आउँछन्’ उनले भने, ‘त्यस्तो अवस्थामा फिराद दर्ता नगरी हुन्न ।’
 श्रेष्तेदार श्रेष्ठका अनुसार, १३ वर्षकै उमेरका कतिपय बालिकाहरु यस्तो फिराद लिएर आउने गरेको र पीडक भनिएका केटा पनि नाता कायम गर्न तयारै भएकाले नाता कायम गर्ने गरिन्छ । यसरी हेर्दा कानुनको मुख्य धरोहर अदालतले नै कानुन विपरीत बाल विवाह गराइरहेको देखिन्छ ।
यसबारे प्रश्न गर्दा श्रेष्तेदार श्रेष्ठले ‘अब के गर्ने त’ भन्दै लाचारी प्रकट गरे । १६ वर्ष ११ महिनामै बिहे नेपालको कानुनले विवाह गर्न केटाको उमेर २० वर्ष र केटीको उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने भनेको छ । उमेर नपुग्दै विवाह गरेको भनी कसैले उजुरी दिएमा विवाह गराउने अभिभावकमाथि कारबाही हुनुका साथै त्यस्तो विवाह रद्द हुन सक्ने कानुनी प्रावधान छ । यस्तो मुद्दाको कार्यान्वयन गराउने अदालतले भने सिम्रनको नाता कायम गराउने बेला ख्याल गरेको देखिँदैन । सिम्रनले ०७३ भदौ २७ गते नाता कायम गराउँदा उनको उमेर १६ वर्ष ११ महिना २ दिन पुगेको थियो । सिरहाको फुर्कयाही गाविसबाट बनेको उनको जन्मदर्ता हेर्ने हो भने उनी ०५६ असोज २५ मा जन्मेकी रहिछन् ।
 इर्सादको जन्म दर्ता प्रमाण पत्र फेला नपरे पनि उनको समेत यस्तै उमेर देखिन्छ । प्रहरीलाई नसिहत यो विवाह प्रकरणमा प्रहरी पनि मुछिएका छन् । केटाका बुवा जियाउलले आफ्नी बुहारीलाई अलग पार्न प्रहरीले रकम लिएको बताए । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायव निरीक्षक जयप्रकाश साहले केटी पक्षलाई दिनुपर्ने भन्दै दुई लाख पाँच हजार रुपैयाँ लिएको बताए । यद्यपि त्यो रकम केटीको परिवारलाई समेत नगएको जियाउलको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले सिम्रन घरबाट बेपत्ता भएपछि खोजी गर्दै जाँदा इर्सादको घरमा फेला परेको बताउँदै यो मितिसम्म दुबैबीच कुनै विवाह नभएको बताए ।
 सिम्रनलाई फेला परी प्रहरीले घरमा जिम्मा लगाएको बताउने कार्कीले यसपछि केटा र केटी पक्षबीच इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा छलफल भएको र त्यही क्रममा भएको निर्णय बमोजिम केटा पक्षले केटी पक्षलाई सो रकम दिएको बताए । त्यसबेला सोे रकम सई साहको हातबाट दिएको र पैसाको वाहक बनेकोले उनलाई नसिहत दिइएको प्रवक्ता कार्कीले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv