Latest Updates :

अनुहारमा चमक ल्याउन


SHARE THIS POST :

कसै–कसैको अनुहार छुँदा पनि दाग लाग्लाजस्तो सफा एवं मुलायम देखिन्छ । त्यस्तो अनुहार हेर्दा कविता फुर्छ, सायरी जन्मिन्छ, मीठो संगीत सिर्जना हुन्छ । सबैमा आफ्नो अनुहार यस्तै सुकोमल होस् भन्ने चाहना हुन्छ तर त्यस्तो चम्किलो र सफा छाला कसरी प्राप्त हुन्छ भन्ने जानकारी धेरैलाई नहुनसक्छ । अनुहार चम्किलो एवं आकर्षक बनाउन निम्न उपाय अपनाउन सकिन्छ ।
चम्किलो छालाका लागि

दहीमा काँक्राको रस मिसाएर अनुहारमा लगाउँदा छाला चम्किलो देखिन्छ ।
गाजर र सुन्तलाको रस समान मात्रामा मिसाई कपासको सहायताले अनुहार र गर्दनमा बिस्तारै लगाएर २० मिनेटपछि सफा पानीले धुँदा फरक अनुुभव हुन्छ ।
एक चिया चम्चा दूधमा एक चम्चा काँक्राको रस तथा तीन चिया चम्चा जौको पिठो मिसाएर लेप बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा पानीले धुँदा छाला कसिलो एवं मुलायम हुन्छ ।
दुई चिया चम्चा काँचो दूध, एक चिया चम्चा बदामको पेस्ट तथा एक चिया चम्चा अंगुरको रस मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि मनतातो पानीले धुँदा छाला सुन्दर देखिन्छ ।
ताजा फल तथा तरकारी (जस्तै–अंगुर, स्ट्रबेरी, स्याउ, टमाटर, बन्दा) मिसाएर ग्रयान्डरमा पिसी पेस्ट बनाउने । त्यसमा दुई चिया चम्चा दही र तीन थोपा लेमन एसेन्सियल आयल मिसाई अनुहारमा लगाएको १५ मिनेटपछि धुँदा छालामा निखार आउँछ ।
एउटा अण्डाको सेतो भागलाई फिटेर त्यसमा एक चिया चम्चा मह मिसाई अनुहार एवं गर्दनमा लगाएर १० मिनेटपछि चिसोपानीले पखाल्दा छालामा चमक आउँछ ।
दुई चिया चम्चा जौको पिठोमा एउटा अण्डा, एक चिया चम्चा मह तथा एक चिया चम्चा आलुको रस मिसाउने । काँचो दूधले अनुहार धुने र उक्त लेप लगाउने । १० मिनेटपछि चिसोपानीले अनुहार पखाली कपासले पुछ्ने । यसले छालालाई कान्तिमय बनाउँछ ।


कसिलो छालाका लागि
मेनुका बानियाँ (ब्युटिसियन, आरजु ब्युटिपार्लर, इटहरी, सुनसरी)

दुई चिया चम्चा बेसनमा एउटा अण्डाको सेतो भाग तथा राम्रोसँग पाकेको एउटा केरा मिसाउने । अनुहारमा लगाएर १५ मिनेटपछि मनतातो पानीले पखाल्ने ।
एउटा आरुको बियाँ निकालेर गुदीको पेस्ट बनाउने । त्यसमा अण्डाको सेतो भाग र ओलिभ आयल मिसाएर अनुहारमा लगाउने र २० मिनेटजति त्यसै छोड्ने । सुकेपछि मनतातो पानीले धुने ।
एक चिया चम्चा ब्रान्डीमा दुई चिया चम्चा दूध अथवा कागतीको रस मिसाउने । कपासको सहायताले अनुहार र गर्दनमा लगाई १५ मिनेटपछि चिसो पानीले पखाल्ने ।
काँक्राको रसमा दुई चम्चा ओटमिल मिसाउने । यसको पेस्टलाई आँखा वरिपरि नपारी अनुहारमा लगाउने । दस मिनेटपछि चिसो पानीले अनुहार धुने ।


सुख्खा छालाका लागि
रीमा शाक्य (ग्ल्यामर ब्युटिपार्लर, ज्याठा, ठमेल)

केराको बोक्रा ताछी भित्री भागलाई मज्जाले फिटेर त्यसमा आधा चम्चा फ्रेस क्रिम, एक चिम्टी बेसार तथा आधा चम्चा महको पेस्ट अनुहारमा लगाउने । सुकेपछि मनतातो पानीले अनुहार धुने ।
एक चिया चम्चा पुदिनाको रस, एउटा अण्डाको सेतो भाग, तीन चम्चा जौको पिठो, एउटा पाकेको केरा मिसाएर पेस्ट बनाउने । उक्त लेपलाई अनुहारमा लगाएर आधा घन्टा सुक्न दिने । त्यसपछि चिसो पानीले पखाल्ने ।



तैलीय छालाका लागि
पूजा जोशी (ब्युटिसियन, स्टार हर्बल ब्युटिपार्लर, वसुन्धरा)  


अनुहारमा टमाटरको रस लगाएर केही बेरपछि पखाल्ने । त्यसपछि आधा चम्चा मुल्तानी माटोमा आधा चम्चा सुन्तलाको रससँग गुलाबजल एवं कागतीको केही थोपा मिसाई फ्रिजमा राखिदिने । केही बेरपछि झिकेर अनुहारमा लगाउने । प्याक सुकेपछि अनुहार धुने ।
तरबुजाको बोक्रा फालेर फ्रिजमा राखी चिसो बनाउने । त्यसले बिस्तारै फेस मसाज गर्ने ।
महमा चन्दन मिसाएर अनुहारमा लगाउने ।


सामान्य छालाका लागि

एक टुक्रा केरा, आधा चम्चा अनारको रस, आधा चिया चम्चा चन्दन पाउडर, मौसमको रस, एक चिम्टी बेसार एकैठाउँमा मिसाउने । यसरी बनेको पेस्ट अनुहारमा लगाएर १५ मिनेटपछि पखाल्ने ।
अम्बकको रसमा थोरै बेसार मिसाएर बनाइएको पेस्ट अनुहारमा लगाउने । सुकेपछि मनतातो पानीले धुने ।
दुई चिया चम्चा बदामको पेस्ट, एक चिम्टी बेसार, एक चिया चम्चा मेवाको पेस्ट मिसाएर अनुहारमा लगाउने ।


एन्टी रिंकल प्याक

एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने ।
काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।
चार चिया चम्चा मजिस्ठा पाउडर, आधा चिया चम्चा मेवाको गुदी, आधा चिया चम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको तेल, आवश्यकतानुसार एलोबेरा जेल मिसाई पेस्ट बनाउने र अनुहारमा लगाउने ।
एक चिया चम्चा महमा एक चिया चम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार पार्ने । यसलाई नियमित रूपमा अनुहारमा लगाउने ।
दुई टेबल स्पुन मायोनाइसमा आधा चिया चम्चा ग्रयान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानीले पखाल्ने ।
कागती, भेजिटेबल आयल तथा महको मिश्रण अनुहारमा लगाउने ।
स्याउलाई लेदो बनाई अनुहारमा लगाउने । सुकेपछि चिसोपानीले धुने ।
आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाबजल मिसाई अनुहारमा लगाउने ।
एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने । त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बोतलमा भर्ने । यसलाई थोरै–थोरै मात्रामा नियमित रूपमा अनुहारमा लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने ।


पिम्पल प्याक

१ चिया चम्चा मुल्तानी माटो, एक चिम्टी कपूर पाउडर, थोरै गुलाबजल, १ चिया चम्चा ओलिभ आयल मिसाउने । उक्त मिश्रणलाई अनुहारमा लगाएर सुकिसकेपछि मनतातो पानीले पखाल्ने ।
आधा चिया चम्चा फिटकिरी पाउडरमा आधा चिया चम्चा कागतीको रस तथा १ चिया चम्चा पानी मिसाएर डन्डिफोरमा लगाउने । सुकेपछि अनुहार धुने ।
१ चिया चम्चा मुल्तानी माटोमा २ चिया चम्चा एस्ट्रिजेन्ट मिसाएर लगाउँदा डन्डिफोर बिस्तारै हराउँछ।
नियमित रूपमा राति सत्नुअघि मनतातो पानीमा १ चिया चम्चा मह तथा १ चिया चम्चा त्रिफला चूर्ण मिसाएर पिउने । यसले अनुहारमा चमक ल्याउँछ ।
दाग–धब्बा हटाउन

आधा चिया चम्चा ग्लिसरिनमा कागती, काँक्रा वा आलुको रस तथा थोरै मात्रामा गुलाबजल मिसाएर अनुहारमा लगाउने । नियमित रूपमा अनुहारमा यो प्याक लगाउँदा दाग–धब्बा क्रमश: हराउँदै जान्छ ।
दुईवटा गोलभेंडालाई लेदो बनाई त्यसमा १२ थोपाजति कागतीको रस मिसाउने र अनुहारमा लगाउने ।
कागतीको रसमा आलुको रस मिसाएर अनुहारमा लगाउने ।
हलेदोमा कागतीको रस मिसाएर लगाउने ।
कागतीको बोक्रा पिस्ने, त्यसमा थोरै सख्खर मिसाएर कालो भएको दागमा लगाउने ।
सुख्खा छालामा दाग–धब्बा छ भने काँचो दूधमा चन्दन मिसाएर लगाउने ।


छाला डढेको छ भने

दुई चिया चम्चा दहीमा गोलभेंडाको रस तथा ओटमिल मिसाउने । यो पेस्टलाई अनुहारमा लगाएर २० मिनेटजति रहन दिने । सुकेपछि चिसो पानीले पखाल्ने ।
पिसेको सुन्तलाको बोक्रा दहीमा मिसाएर अनुहारमा लगाई २० मिनेटपछि चिसो पानीले धुने ।
ताजा पुदिनाको पात पिस्ने । त्यसलाई अनुहारमा लगाएर सुकेपछि सफा पानीले अनुहार धुने ।
आधा चिया चम्चा सुन्तलाको रसमा आधा चिया चम्चा चन्दन पाउडर तथा आधा चिया चम्चा मेवाको गुदी मिसाएर अनुहारमा लगाउने ।
एक चिया चम्चा बेसनमा आधा चिया चम्चा कागतीको रस र दुई चिया चम्चा काँचो दूध मिसाएर अनुहारमा लगाउने । यो उपाय नियमित रूपमा अवलम्वन गर्दा सनबर्न हट्छ र अनुहारको प्राकृतिक चमक फर्कन्छ ।


आकस्मिक मेकअप

हतारमा पार्टी एटेन्ड गर्नु छ र आफूसँग पर्याप्त मात्रामा सौन्दर्य प्रसाधन छैन भने तत्कालको समस्या टार्ने केही उपाय छन् ।
फाउन्डेसन सकिएको अवस्था छ भने लुज पाउडर वा कम्प्याक्ट प्रयोग गर्ने । त्यो पनि छैन भने कन्सिलरमा मोइस्चराइजर मिसाएर फाउन्डेसनजस्तै बनाउने ।
कन्सिलर सकिएको छ भने फाउन्डेसनको बिर्को वा मुखमा जमेको बाक्लो फाउन्डेसनलाई कन्सिलरजस्तै गरी प्रयोगमा ल्याउन सकिन्छ । यसलाई रिंग फिंगरको सहायताले हल्का रूपमा लगाउनु उत्तम हुन्छ ।
मस्करा छैन भने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ । हातको सहाराले आइल्यासेसमा हल्का पेट्रोलियम जेली लगाउँदा पर्फेक्ट लुक्स आउँछ ।
आइलाइनरको साटो आइस्याडो प्रयोग गर्न सकिन्छ । आइलाइनर ब्रसलाई पानीमा भिजाएर डार्क कलरको आइस्याडोमा चोब्ने र डिप गरेर आइलाइनर जसरी नै आँखामा लगाउने ।
आइस्याडो सकिएको छ भने ब्रन्ज वा ब्राउन ब्लसलाई स्याडो बनाएर लगाउन सकिन्छ । यद्यपि यसलाई लगाउँदा निकै सचेत हुनुपर्छ । धेरै मात्रामा नलिई थोरै ब्लसलाई हातमा लिई अप्लाइ गर्नुपर्छ ।
–हेयर सिरम नभएको अवस्थामा हेन्ड, बडी लोसन वा फेस मोइस्चराइजरलाई सिरम जसरी नै केशमा लगाउन सकिन्छ । चिपचिप हुनबाट जोगिन हातमा मोइस्चराइजरको केही थोपा राखेर रब गर्दै हल्का रूपमा लगाउने ।
–आइलाइनर सुख्खा भएको छ भने त्यसको प्रयोग गर्नुअघि केहीबेर वल्बको नजिक राखिदिने ।
अफिसबाट सीधै पार्टीमा जानु छ र ब्लस घरमै बिर्सिएको भए लिपिस्टिकलाई हातमा हल्का लिने र ब्लसजस्तै गरी चिकबोनमा अप्लाई गर्ने ।
आँखाको तल्लो भागमा डार्क सर्कल देखापरेको छ भने लाइट सेडको फाउन्डेसन लगाउने । यसले डार्क सर्कल छोपिदिन्छ ।
स्मोकी लुक्सका लागि इयर कटन बडद्वारा गाजललाई आइडिलमा रब गर्ने । ओठमा लगाइने लिप पेन्सिलको माध्यमले गाजल लगाइएको स्थानमा हल्का कोर्ने र कटन बडले स्पञ्ज गर्ने ।
अनुहार थकित देखिएको छ भने क्रिमद्वारा हल्का मसाज गर्ने जसले छालामा इन्स्टेन्ट ग्लो ल्याउँछ ।
–अनुहार निन्याउरो देखिएको अवस्थामा एउटा मुलायम कपडालाई मनतातो पानीमा भिजाएर अनुहारमा राखी बिस्तारै दबाउने ।  यसले ब्लड सर्कुलेसन बढाएर छालालाई कसिलो बनाउँछ । त्यसपछि अनुहारमा चिसो पानी छम्कने ।
थाकेको आँखाका लागि चिसो गुलाबजलमा कपास भिजाएर १० मिनेटसम्म आँखामाथि राख्ने ।
मोइस्चराइजर नभएको अवस्थामा केश तथा छालालाई मोस्चर दिन कन्डिसनर लगाउन सकिन्छ । कन्डिसनर बडीमा लगाएर नुहाउने ।
केश चिपचिप भैरहेको छ तर केश नुहाउने फुर्सद छैन भने हेयर ब्रसमा परफ्युम स्प्रे गरी केश ब्रस गर्ने ।
केश सुख्खा भएर फुङ्ग उडिरहेको छ भने हात पानीले भिजाएर अलिकति मोइस्चराइजर हातमा लिने र टाउकोभरि हात घुमाउने । त्यसपछि केशलाई फ्रेन्च ट्विस्ट गर्ने । १० मिनेटपछि खोल्दा केश मुलायम देखिन्छ ।
आइस्याडोमा धेरै पैसा खर्च गर्ने चाहना छैन भने कम्प्याक्ट किन्ने । यो तुलनात्मक रूपमा सस्तो हुन्छ । यसको सहायताले विभिन्न सेड बनाउन सकिन्छ ।
हतारका बेला आइस्याडो स्टिक उपयुक्त हुन्छ । लगाउन सजिलो र किन्दा सस्तो पनि पर्ने आइस्याडो स्टिकले सुन्दरता बढाउन प्रशस्त मद्दत गर्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv