ठमेलस्थित होटल मस्र्याङ्दीअगाडिको (पहिलाको निश्चल हल) सिएनआई क्लब (डिस्को) मा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुइँकियो । तर, प्रहरी पुग्दा आफू लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे । उनीसँग नेपाल प्रहरीकै अर्का एकजना डिएसपी पनि साथमा थिए । त्यस रातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पातालमा भर्ना भई भोलिपल्टै डिस्चार्ज भए । भाग्दै दरबारमार्गतिर हुइँकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घटनामा पर्यो । गाडी कच्याककुचुक छ । तर, मान्छेलाई केही भएको छैन । घटना भएको ९ दिन बितिसकेको छ । तर, अख्तियारको आम्दानीमा बाँधिएको बा.१२च ९५५९ नम्बरको गाडी कहाँ छ ? कसैलाई पत्तो छैन । भोलिपल्ट अख्तियारमा उक्त गाडीको खोजी भयो । दानबहादुरले एक जना इन्जिनियरलाई सुनाए, ‘राति हल्का ठोकिएर बनाउन दिएको छु ।’
ठमेलभित्र, अख्तियारमा लोकमानको सुरक्षा र सुराकी दुवै प्रयोजनमा खटिएका डिएसपीका कारण बबाल भएको खबर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकहाँ पनि पुग्यो । हल्लिखल्ली भएपछि उपेन्द्रले छानबिन गर्न निर्देशन त दिए । रमाइलो कस्तो छ भने, अहिले हेडक्वार्टरभित्रको एउटा निरीह युनिट दानबहादुरको यो काण्डबारे छानबिन गरिरहेको छ । तर, त्यहीँभित्रको सबभन्दा बलियो मानिने युनिट भने घटनालाई सामसुम पार्न सक्रिय छ । अर्थात्, देखाउनका लागि छानबिन गर्ने तर कारबाही नगर्ने योजना ! घटनालगत्तै केही प्रहरी उच्च अधिकारीले सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरसँग यसबारे सोधे । तर, उनको टोली पुग्दा दानबहादुर नभेटिएको तर उनी घटनाको सूत्रधार भएको पत्ता लगायो ।
उता, अख्तियारभित्र दानबहादुरको अर्को आतंक छ । लोकमान क्यानाडा हिँडेपछि मैँमत्त भएर ठमेलमा घटना गराएका उनले अख्तियारभित्रै नेपाल टेलिकमको सिस्टम जडान गराएका छन्, जसबाट मानिसको कल डिटेल्स छिनछिनमै हेर्ने गर्छन् । नेपाल टेलिकमले यस्तो सुविधा देशका कुनै पनि सरकारी वा गैरसरकारी निकायलाई दिएको छैन, अख्तियारबाहेक । संवेदनशीलताका दृष्टिले त्यस्तो प्रविधि दुरुपयोग गर्न पाइँदैन । त्यसरी टेलिकमको सिस्टम अख्तियारभित्रै जडान गर्नुको कारण हो, राजनारायण पाठकबाहेक सबै आयुक्तका कल डिटेल्स लिने, एसएमएस उतार्ने र लोकमानलाई जाहेर गर्ने † यस्तो सुराकी मुद्दा फाँटका कर्मचारीसहित त्यहीँ कार्यरत प्रहरी उच्च अधिकारीको पनि हुने गरेको छ ।
सर्वोच्च अदालतले लोकमान नियुक्तिको वैधानिकताबारे पहिल्यै परेको मुद्दामा निस्सा दिने निर्णय गरेका दिन लोकमानलाई केटाकेटी कामका लागि उकास्ने व्यक्ति पनि उनै दानबहादुर भएको स्रोत बताउँछ । अदालतले अनपेक्षित रूपमा पुरानो मुद्दामा निस्सा दिएपछि लोकमानले परामर्श गर्न त्यहाँका निजामती कर्मचारी र प्रहरीलाई । दानबहादुरले प्रमुख दलका सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्ने र त्यसबाट अत्तालिएर उनीहरूले नै अदालतलाई निस्साको निर्णयबाट पछाडि हटाउने भूमिका खेल्ने उपाय सुझाएका थिए । तर, निजामती तर्फका कर्मचारीले नमानेपछि प्रचण्डलाई मात्रै तर्साउने गरी माओवादी लडाकुको अस्थायी शिविरमा भएको भ्रष्टाचारको उजुरीमाथि छानबिन सुरु गर्ने घोषणा गरिएको हो ।
अख्तियारभित्र आजकल धन्दा पनि अचम्मको छ । नेपाल प्रहरीका सरुवा र बढुवा लोकमानबाट सदर गराउने खेलो त छँदै थियो, अब प्रहरी महानिरीक्षक बनाउने खेलोमा पनि अनेक भूमिका खेल्ने योजना बनेको छ । सुनको सुराकी भत्तामा भ्रष्टाचारको कसुर लागेका डिआइजी प्रकाश अर्याललाई उक्त कसुरउपर छानबिन गर्नु त कहाँ हो कहाँ, उल्टै महानिरीक्षक बनाउने जुक्ति खोजिन थालिएको छ । यसका लागि प्रहरी प्रमुख उपेन्द्रकान्तको निर्देशनमा दानबहादुर खटिएका छन् ।
-जनआस्था साप्ताहिकबाट
Post a Comment