Latest Updates :

घरमै बसीबसी पिएचडी उपाधि


SHARE THIS POST :
मङ्गलबार, १८ असोज २०७३, ०७ : ०४ |  रुबी रौनियार

काठमाडौं–त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षतानिम्ति राय दिन पठाएका विभिन्न तहका उपाधिलाई मानविकी संकाय डिन कार्यालयले फिर्ता पठाएको छ । मानविकी सहायक डिन नीलमकुमार शर्माले केन्द्रले पठाएका १८ जनाको शैक्षिक उपाधिमा मापदण्डअनुसारका कागपत्र नपुगेकाले फिर्ता पठाएको बताए ।

फिर्ता पठाइएकामध्ये स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थी छन् । जसमा अधिकांश विद्यार्थी भारतको सिंघानिया, द ग्लोबल ओपन युनिभर्सिटी नागाल्यान्ड, बेंग्लोरको क्रिस्ट विश्वविद्यालय, कुमाउ विश्वविद्यालय, मेरठ विश्वविद्यालयका छन् । विदेशका जुनसुकै विश्वविद्यालयमा पढेर आएका नेपाली विद्यार्थीले त्रिविबाट आफूले हासिल गरेको जुनसुकै डिग्रीको पनि समकक्षता लिनुपर्ने व्यवस्था छ ।

तर, पछिल्लो समय केही विद्यार्थीले आफू पढेका विश्वविद्यालय वा कलेजमा भर्ना भएको, शुल्क तिरेको, निर्देशकस“ग भेट गरेको, रजिस्ट्रेसन रसिदलगायत कागजपत्र पेसै नगरी समकक्षताका लागि केन्द्रमा निवेदन दिइरहेका छन् । मानविकी संकायका विद्यार्थीमा यो समस्या बढी देखिएको छ ।
‘मलाई त्यतिखेर अचम्म लाग्यो, जतिखेर मेरो हातमा सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि गरेको एक विद्यार्थीको शोधपत्रको निर्देशक हाम्रो प्राध्यापक डा. गणेशमान गुरुङ निर्देशक भएको प¥यो,’ सहायक डिन शर्माले भने, ‘त्यो विद्यार्थीको शोधपत्र पूरा गरिएको कागजात नै अपुग छन् । प्रक्रिया पनि मिलेको छैन । विद्यार्थीले विश्वविद्यालयको मुखै नदेखी विद्यावारिधि गरेको देख्दा अचम्ममा परेँ ।’

उनले सिंघानियामा शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीले पेस गरेको प्रमाणमा प्राक्टिकल विषयलाई पनि दूर शिक्षाबाट पूरा गरेको देखाएको बताए । ‘प्राक्टिकल विषय अनलाइनबाट गर्न सकिने कुरै हुँदैन । त्यसैले मैले समकक्षता दिन नमिल्ने लेखेरै पाठ्यक्रमलाई फर्काइदिएँ,’ उनले भने, ‘नेपालमा भारतीय विश्वविद्यालयमा गैरकानुनी रूपमा भर्ना गराउने र उपाधि दिलाउने शैक्षिक दलालले उच्च शिक्षालाई धमिल्याइरहेको पाइयो । टन्डन, दिल्ली, गुजरात, इन्दिरा गान्धी खुला विश्वविद्यालयहरूले गलत प्रवृत्तिबाट विद्यार्थीलाई उपाधि दिलाउने देखियो ।’

बाबाहरूका नाममा समेत विश्वविद्यालय खोलेर नेपालमा शैक्षिक दलाली गर्ने कार्य खुलेआम हुँदा पनि शिक्षा मन्त्रालय मौन रहेकामा उनले चिन्ता व्यक्त गरे । सहायक डिन शर्माका अनुसार सिंघानिया विश्वविद्यालयबाट समकक्षताका लागि पेस गरिएका विद्यावारिधि शोधपत्र त्रिविका (समाजशास्त्र) डा. गणेशमान गुरुङ, डा. विष्णुहरि नेपाल (राजनीतिशास्त्र), प्राडा. दीपकप्रसाद रिजाल (अर्थशास्त्र), प्राडा. रुद्र गौतम र प्रा.डा. गोविन्द नेपालले हस्ताक्षर गरी सदर गरेका थिए ।

केन्द्रका कार्यकारी निर्देशक गोपिन्द्र पौडेलले उपत्यकाको बानेश्वर, बबरमहल, अनामनगरमा विदेशी विश्वविद्यालयका दलाल पसलै थापेर उपाधि दिलाउन सक्रिय छन् । बहालवाला र अवकाश प्राप्त त्रिविका प्राध्यापक नै पदोन्नति र आर्थिक लाभमा जथाभाबी विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीको शोधपत्र निर्देशक बन्दा समस्या थपिएको उनको भनाइ छ ।

‘विद्यार्थीले कलेजको मुखै देख्नु नपर्ने, एजेन्टहरूले घरमै उपाधि दिलाइदिने क्रमले प्राज्ञिक मूल्य हराउँदै जान्छ यसले पछिसम्म उच्च शिक्षा क्षेत्रमा नकारात्मक असर पार्नेछ,’ पौडेलले भने । मन्त्रालयले समयमै नियमन गरी यस्ता विकृत कार्य रोक्नुपर्ने उनले औंल्याए । पौडेलका अनुसार डिन कार्यालयबाट फिर्ता पठाइएका सबै विद्यार्थीको कागजातमाथि केन्द्रले पुनः छानबिन गर्ने जनाएको छ । कागजात नपुगेकाबाट थप कागजात मगाइने पनि उनले जानकारी दिए ।

केन्द्रले ०७२ असार १ गतेदेखि नै लागू हुने गरी उच्च शिक्षाको विकृति अन्त्य गर्न विदेशी विश्वविद्यायबाट अध्ययन गरेका विद्यार्थीलाई समकक्षता दिने हकमा केही मापदण्ड निर्धारण गरेको थियो । सिंघानिया विश्वविद्यालयमा खुला कार्यक्रम धेरै भएको र यसको प्रमाणपत्र गैरकानुनी रूपमा विद्यार्थीले प्राप्त गरिरहेको निर्देशक पौडेलले बताए ।

‘यसलाई निरुत्साहित गर्न केन्द्रले विद्यार्थीसँग कम्तीमा तीनपटक विश्वविद्यालयमा आतेजाते टिकट, भर्नाको शुल्क तिरेको रसिद, सम्बन्धित विश्वविद्यालयमा गएर गाइडलाई बुझाएको प्रगति–विवरण र भाइवामा प्रत्यक्ष उपस्थित भएको प्रमाणित प्रमाणपत्र बुझाउनुपर्ने नियम बनाइएको छ,’ पौडेलले भने, ‘नेपाली प्राध्यापक गाइड तोकेको भए कम्तीमा प्रोफेसर वा डाक्टरी उपाधि हासिल गरेको हुनैपर्ने व्यवस्था पाठ्यक्रमले गरेको छ । जथाभाबी गाइड बस्ने,  सुविधा खाने तर विद्यार्थीलाई थेसिस गराइएको पाइएन । त्यसैले नेपाली गाइडले समेत डिन कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था केन्द्रले गरेको छ ।’

सिंघानिया विश्वविद्यालयका विद्यार्थीले समकक्षताका लागि पेस गरेका शोधपत्रमा यस्तो प्रक्रिया पूरा गरेको नपाइएको पौडेलले बताए । उनले भने, ‘हाम्रो विश्वविद्यालयका वरिष्ठ प्राध्यापकसमेत विद्यार्थीलाई घरमै बसाएर शोधकार्य पूरा भएको प्रमाणपत्रमा हस्ताक्षर गरिरहेका छन्, यस्तो देख्दा दुःख लाग्छ ।’

सिंघानिया विश्वविद्यालयमा अध्ययन गरेका दुई नेपाली विद्यार्थीको निर्देशक आफू बनेको प्राडा. गणेशमान गुरुङले स्विकारे ।
‘पहिले सिंघानिया विश्वविद्यालय भारतमै रहेको विश्वविद्यालय अनुदान आयोगको मान्यता प्राप्त थिएन । पछि फेरि यसबीच कुराकानी मिलेछ र वेबसाइट हेर्दा भारतको विश्वविद्यालयले मान्यता दिएको देखेँ,’ डा. गुरुङले भने, ‘विद्यार्थीले गुरु बन्न गरेको अनुरोध नकार्न नसकेर निर्देशक बनँे । उनीहरूको भाइवामा पनि म सिंघानिया विश्वविद्यालय पुगेकै थिएँ । विद्यार्थीहरू कसरी भर्ना भए, कलेज गए÷गएनन् त्यो पक्ष मैले बुझिनँ ।’
काठमाडौंको बानेश्वरमा रहेका सिंघानियाका एजेन्टले नै विद्यार्थी भर्नादेखि अध्ययन पूरा गराउने कार्य गर्ने गरेको आफूले पाएको समेत उनले खुलाए ।
प्राडा. गोविन्द नेपालले आफूले हाल भारतको एक विश्वविद्यालयको विद्यार्थीको विद्यावारिधिको निर्देशक बन्न डिन कार्यालयबाट स्वीकृति लिएको बताए । ‘साथीहरूले भारतका एक विश्वविद्यालयको सम्बन्धनमा नेपालमै सञ्चालित शैक्षिक संस्थाबाट विद्यावारिधि गर्ने नेपाली विद्यार्थीको निर्देशन गर्दैै हुुनुहुन्छ,’ प्राध्यापक पौडेलले भने, ‘मैले सहयोग मात्र गरेको छु ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv