दसैं मान्न घर जाने यात्रुहरूको चहल पहल सुरु भइसके पनि मुलुकका धेरैजसो सडक सवारीसाधन गुडाउन सहज छैनन् । असोजको तेस्रो सातासम्म पनि साउनको जस्तै मुसलधरे वर्षा तथा बाढीका कारण धेरैजसो कच्ची सडक भत्केका छन् ।विगतका वर्षमा भदौ १५ पछि मनसुन सकिने र मनसुन सकिनासाथ दसैंमा घर जाने यात्रुका लागि सहज बनाउन कच्ची सडकको मर्मत गरिने प्रचलन थियो । तर यसपटक भने वर्षा जारी रहेका कारण कच्ची सडकको मर्मत हुन नसक्दा सवारीसाधन खासै चलेका छैनन् ।
मर्मत नभएका सडकहरूमा सवारीसाधन चलाइएका कारण दिनहुँजसो दुर्घटना भइरहेका छन् । दुर्घटना बढेका कारण केही कच्ची सडकमा सवारीसाधन चलाउन सरकारले रोक लगाएको छ । जसका कारण दसैंका लागि सामान किनबेच गर्न नजिकको बजारमा जानुपर्ने सर्वसाधारण झन् मर्कामा परेका छन् ।मुलुकको बाँकी भूभागलाई राजधानी काठमाडौंसँग जोड्ने एक मात्र भरपर्दो सडक पृथ्वी राजमार्ग पनि विगत वर्षहरूको जस्तो सहज हुन सकेको छैन । मर्मत जारी रहेका कारण बेलाबेलामा आवागमनमा अवरोध उत्पन्न हुने गरेको छ । मुग्लिन–नारायण सडकखण्डमा पहिरोको जोखिम यथावत् छ । काठमाडौंबाट त्रिशूली जोड्ने सडकमा पनि सानातिना पहिरो गइरहेका छन् ।
दक्षिणकाली हुँदै हेटौंडा जोडिएको साँघुरो सडकको पनि हालत राम्रो छैन । बीपी राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्वी नेपाल जाने यात्रुका लागि विकल्प तयार भएको छ । तर सडक साँघुरो भएका कारण दसैंको मुखमा दुर्घटना हुने जोखिम पनि त्यति नै छ ।त्यसैगरी, पहाड र तराई जोड्ने अन्य राजमार्गको अवस्था पनि राम्रो छैन । झपाको चारआली हुँदै इलाम, पाँचथर, ताप्लेजुङसम्मको सडक, धरान, धनकुटा हुँदै भोजपुर, संखुवासभा, खोटाङ जोडिने सडक, उदयपुरको कटारी हुँदै ओखलढुंगा, सोलुखुम्बु जोड्ने सडकको हालत पनि राम्रो छैन ।
यसैगरी, पृथ्वी राजमार्गको डुम्रे हुँदै लमजुङ र मनाङ जोड्ने सडक, पोखराबाट बेनी हुँदै मुस्ताङ जोड्ने सडक, पोखरा, बुटवल जोड्ने सिद्धार्थ राजमार्ग, कपिल्वस्तुको गोरुसिंगेबाट अर्घाखाँची जोड्ने सडक, बुटवल, पाल्पा हुँदै गुल्मीको तम्घास जोडेने सडक, सुर्खेत, जाजरकोट हुँदै जुम्ला जोड्ने सडक, धनगढी, डडेलधुरा हुँदै बझाङ, बैतडी जोड्ने सडकका विभिन्न खण्ड वर्षका कारण बिग्रेका छन् । यी सडकहरूको यात्रा जोखिमपूर्ण बनेको छ ।दसैंका लागि निम्नमध्यम वर्गले प्रयोग गर्ने लुगाफाटो आउने गरेको तिब्बतको खासा नाका बन्द भएका कारण पनि समस्या देखिएको छ । अरनिको राजमार्गको विकल्पका रूपमा रसुवागढी नाकालाई प्रयोग गरिए पनि सडकलाई वर्षाले बिगारेका कारण आवागमन सहज हुन सकेको छैन । जसका कारण दसैंका लागि पर्याप्त लत्ताकपडा राजधानी नभित्रिँदा महँगी बढेको छ । व्यापारीहरूले हवाईजहाजबाट चिनियाँ लत्ताकपडा ल्याउने योजना बनाएका छन् । हवाई मार्गबाट आउने सामान स्वतः महँगो पर्न जान्छ ।
Post a Comment