नेपालीभाषी बाहुल्य क्षेत्र, भारतको उत्तरपूर्वी राज्य सिक्किममा पहिलोपटक नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न भएको छ। बुधबार गान्तोकको मनोरन्जन केन्द्र हलमा आयोजित ‘इनास अवार्ड’लाई सिक्किमका गभर्नर श्रीनिवास पाटिल र मुख्यमन्त्री पवन चाम्लिङलगायतले उद्घाटन गरेका थिए।
अन्तर्राष्ट्रिय कलाकार समाजद्वारा आयोजित समारोहमा यसै भूमिमा जन्मे÷हुर्केका अभिनेता तथा गायक डेनी डेन्जोङ्पालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। अस्वस्थताका कारण डेनी उपस्थित हुन नसक्दा उनका भान्जा अर्थात् फिल्म निर्देशक उगेन छोपेलले अवार्ड ग्रहण गरे। उगेनलाईसमेत ‘सफल निर्देशक’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको थियो।
प्रतिष्पर्धातर्फ १८, जुरी र पपुलर अवार्ड गरी कुल २० विधामा प्रदान गरिएको अवार्डमा ‘क्लासिक’ फिल्मले कुल ६ अवार्ड हात पार्दै सबैभन्दा धेरै अवार्डको विजेता बन्यो। फिल्मका तर्फबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता÷अभिनेत्री ठहरिए भने जुरीका तर्फबाट निर्देशक दिनेश राउत, गायकमा ‘हारेँ हारेँ’ बोलको गीतका लागि युवराज चौलागाईं, सम्पादनमा सुरेन्द्र पौडेल, ‘प्रकृतिको सुन्दर सृष्टि’ गीतका लागि गीतकार कृष्णहरी बरालले उत्कृष्टको अवार्ड चुमे। इनासले यसअघि सार्वजनिक गरेको मनोनयन सूचीमा जुरीतर्फबाट अवार्ड हात पारेका निर्देशक राउतको नाम समावेश गरिएको थिएन।
क्लासिकपछि पशुपतिप्रसादले सबैभन्दा धेरै विधामा अवार्ड उचाल्यो। फिल्मले उत्कृष्ट फिल्मको अवार्डका साथै निर्देशक दीपेन्द्र के. खनाल, पटकथाका लागि खगेन्द्र लामिछाने, खलचरित्रका लागि विपिन कार्कीले उत्कृष्टको अवार्ड उचाले। फिल्मका तर्फबाट निर्देशक खनाल मात्र उपस्थित भएकाले सबै अवार्ड उनैले सम्हाले।
कार्यक्रममा गत वर्षको चर्चित फिल्म ‘वडा नम्बर ६’ ले ‘सुर्केथैली’ बोलको गीतबाट मात्र तीनवटा अवार्डमा चित्त बुझाउनुप¥यो। सुर्केथैलीका तर्फबाट कोरियोग्राफर शंकर बिसी, गायिका अन्जु पन्त उत्कृष्ट ठहरिँदा गायक तथा संगीतकार राजनराज शिवाकोटीलाई पपुलर च्वाइस अवार्ड दिइयो। शिवाकोटीको नाम पनि सूचीमा समावेश थिएन।
सिक्किम भूमिको प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुमध्ये अभिनेता उत्तम प्रधानलाई ‘इतिहास रच्न सफल’, निरुता सिंहलाई ‘दर्शककी प्रिय’, संगीतकार रन्जित गजमेरलाई ‘संगीतका महारथी’, विनोद प्रधानलाई ‘क्यामराका उस्ताद’ शीर्षकमा विशेष सम्मान गरिएको थियो।
नेपालका तर्फबाट भने राजेश हमाल, मनिषा कोइराला र करिष्मा मानन्धरलाई क्रमशः ‘सबैभन्दा अग्लो नायक’, ‘हिम्मती अभिनेत्री’ र ‘सदावहार नायिका’ शीर्षकमा विशेष सम्मान गरिएको थियो।
समारोहमा गर्भनर पाटिलले नेपाली भाषामा लिखित मन्तव्यमार्फत् नेपालीभाषीको प्रशंसा गरेका थिए भने मुख्यमन्त्री पवन चाम्लिङले संसारका जुनसुकै कुनाका भए पनि नेपालीभाषीबीच आत्मियता हराउन नहुने भन्दै समाजलाई सकारात्मक विकासका लागि प्रेरित गर्ने फिल्म बनाउन नेपालीभाषी फिल्मकर्मीलाई अनुरोध गरेका थिए।
कार्यक्रममा नेपाली तथा सिक्किमका दर्जन भन्दा बढी कलाकारले नृत्य तथा गायनको प्रस्तुति दिएका थिए।
Post a Comment