Latest Updates :

नेपालमा चिनियाँ इन्टरनेट मंसिरभित्र व्यावसायिक सम्झौता हुने


SHARE THIS POST :

नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउन चाइना टेलिकम्युनिकेसनसँग सैद्धान्तिक सम्झौता गरेको ६ महिना बितिसक्दा पनि व्यावसायिक सम्झौता हुन सकेको छैन।

गएको साउनमै ब्यान्डवीथ खरिद गरेर नेपालमा चिनियाँ इन्टरनेट ल्याई भारतीय एकाधिकार अन्त्य गर्ने योजना टेलिकमले बनाएको थियो। तर दुई सेवा प्रदायकबीच अझैसम्म व्यावसायिक सम्झौता नहुँदा चिनियाँ इन्टरनेट आउनेबारे अन्यौलता भने कायमै छ। पूर्वाधारका सबै काम सम्पन भई परीक्षण पनि पुरा भएको छ। मंसिरभित्र चिनियाँ टेलिकम्युनिकेसनसँग व्यावसायिक सम्झौता सम्पन्न हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले जानकारी दिइन्। सम्झौताको लागि टेलिकमले सबै काम समयमै सम्पन्न गरे पनि यसबीचमा टेलिकम प्रमुख परिवर्तन हुँदा र त्यसले प्रक्रियागत रुपमा ढिलाई भएको अधिकारीहरुको भनाई छ।

चीनबाट ब्यान्डवीथ ल्याउनका लागि नेपाल टेलिकमले पूर्वाधारका सबै काम सम्पन्न गरिसकेको छ। टावर, अप्टिकल फाइबर राख्ने काम भइसकेको र अब व्यावसायिक सम्झौता सम्पन्न हुनेवित्तिकै ब्यान्डवीथ आयात हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। व्यावसायिक सम्झौताको लागि चाइना टेलिकमसँग लामो छलफल भएको र यही मंरिभित्र सम्झौता हुने उनले बताइन्। यद्यपी सम्झौता हुने मिति भने तय भइसकेको छैन। ‘व्यावसायिक सम्झौताको लागि हुनुपर्ने सबै तयारीहरु भइसकेका छन् र प्रयोगको लागि पनि सबै काम सकिएको छ’ उनले सेतोपाटीसँग भनिन्, ‘मिति निर्धारण नभए पनि यही महिनाभित्र सम्झौता हुन्छ।’

टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याई सकेको छ। वि.सं. २०५४ सालदेखि इन्टरनेट व्यान्डवीथमा भारतीय एकाधिर रहँदै आएको छ। यदि इन्टरनेटमा चीनसँग पनि जोडिन सकेमा गुणात्मक वृद्धि समेत हुने अपेक्षा छ। अहिले नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर इन्टरनेट जोडिएको छ। अब चिनियाँ सरकारी स्वामित्वको ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’सँग टेलिकम जोडिएपछि रसुवाको केरुङबाट इन्टरनेट आउने छ। यसअघि नेपालले चीनको तातोपानी नाकाबाट इन्टरनेट ल्याउने प्रस्ताव गरेको थियो। अहिले भारतका बिएसएनएल, भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ।

चीनसँगको सहकार्यमा चाइना टेलिकमसँग सहकार्य भएपछि अन्य सेवाप्रदायकबाट पनि इन्टरनेट व्यान्डवीथ ल्याउने बाटो खुल्ला हुने बताइएको छ। प्रतिस्पर्धी मूल्य हुने ब्यान्डवीथको मूल्य प्रविधिको गुणस्तरमा भर पर्ने भएकोले एकीन मूल्य भन्न नसकिने अधिकारीहरुले बताएका छन्। यद्यपी चीनबाट व्यान्डवीथ ल्याउँदा अहिले भारतबाट ल्याइरहेको भन्दा महँगो मूल्य नपर्ने बताउँछन् टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारी। ‘मूल्यमा प्रतिस्पर्धा हाम्रो अन्तिम लक्ष्य हो’ उनले भने, ‘तर त्यसमा प्रविधिले पनि भूमिका खेल्ने भएकोले ठिक यति नै हुन्छ भन्ने छैन।’

चीनबाट इन्टरनेट ल्याउँदा व्यान्डवीथमा एउटै मात्र बाटोमा भर पर्नुपर्ने बाध्यता अन्त्य हुने र अर्को बजारमा प्रतिस्पर्धा बढेर मूल्य पनि घट्न सक्ने टेलिकमको अपेक्षा छ। ‘बजारमा प्रतिस्पर्धा हुनेबित्तिकै मूल्य पनि फेरबदल हुन्छ’ अधिकारीले सेतोपाटीसँग भने। नेपाल टेलिकमले चीनबाट खरिद गरेर ल्याउने इन्टरनेट अन्य थप सेवाहरुका लागि प्रयोग हुने साहयक प्रवक्ता अधिकारीले बताए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv