Latest Updates :

छोरो विदेशमा बित्यो, ऋण तिर्दा गोठ रित्तियो !


SHARE THIS POST :

रामेछाप – लेखिरहनुपर्ला र ? पढाईअनुसार नेपालमा रोजगारिको अवसर छैन । यहाँ सत्ता र शक्तिको पहुँच हुनेहरुले मात्र अवसर पाएका छन् । सत्ता र शक्तिसँग साईनो नभएका लाखौं युवाहरु खाडीमा पसिना बगाउन बाध्य छन् ।

वैदेशिक रोजगारीको बाध्यता, रामेछापको मन्थली नगरपालिका–८ का खड्कबहादुर श्रेष्ठको लागि पनि अपवाद बन्न सकेन । डिग्री पास गरेका युवाहरु बेरोजगार बनिरहेको नेपालमा एसएलसी मात्र पास भएका उनले नेपालमा जागिर पाउने कुरै थिएन । उनले नेपाली सेना र नेपाल प्रहरीमा ३/४ पटकसम्म जागिर खान प्रयास नगरेको पनि होइन तर उनी सेना र पुलिस दुवैमा जागिरे बन्न सकेनन् ।

त्यसपछी उनी रोजगारीको ढोक ढकढक्याउन साउदी अरब हान्निए । विदेशमा टन्न पैसा कमाएर नेपाल फर्केपछि बुबाआलाई सुखमा राख्ने र आफू पनि सुखको जिन्दगी बिताउने सपना बोकेर २०७१ साल फागुनमा साउदी उडेका खड्कबहादुरले घरबाट लिएको विदा नै सदाको लागि विदाको दिन बन्न पुग्यो । उनी स्वदेश त फर्किर तर बाकसमा ।


मन्थली नगरपालिका–८ का हरिबहादुर श्रेष्ठका तिनभाई छोरामध्ये माइलो खड्कबहादुरले विदेश जानुअघि आमालाई भनेका थिए, ‘आमा, विदेशबाट फर्केपछि नयाँ घर बनाएर सुखले बसौला अब तीन बर्षमात्र दुःख काट्नुस ।’


खड्कका आमा चनमाया श्रेष्ठ छोरालाई घरबाट विदाई गरेको दिनलाई सम्झिँदै भकानिन्छिन् । ‘घरमा सम्झाई बुझाई गर्ने र सहयोग गर्ने त्यही माइलो थियो, उसैले हामीलाई सदाको लागि छोडेर गयो’ चनमायाले गहभरी आँशु पारेर भनिन्, ‘भगवानले पनि राम्रो मान्छेलाई छिट्टै लाँदोरहेछ ।’

साउदी पुगेको पाँच महिना नबित्दै सुतेकै ठाउँमा खड्कको मृत्यु भयो । साउनको मध्य दिनमा कोदो रोप्दै गर्दा छोराको मृत्युको खबर पाएकी चनमाया त्यो दिन सम्झँदै भन्छिन्, ‘सपनाजस्तो भएको छ, छोराको मृत्यु भएको अझै विश्वास लाग्दैन्, तर विश्वास नगरेर पनि के गर्नु, अब मेरो छोरो फर्केर आउँदैन् ।’
जुन दिन खड्कको मृत्युको खबर आयो, त्यही दिनदेखि हरिबहादुरको नयाँ घर बनाउने र सुखको जिन्दगी बिताउने सपना पनि चक्नाचुर भयो । ‘खेतबारीको उब्जनिले करिब आठ महिना खान पुग्छ, छोरो विदेशबाट आएपछि घर बनाउने सोचेको थिएँ’ हरिबहादुरले भने, ‘त्यो सपना पुरा हुने त कुरै भएन्, उता छोराले हामीलाई सँधैका लागि छाड्यो ।’
एसोएस मेनपावरलाई १ लाख ८ हजार बुझाएर साउदी उडेका खड्कले पाँच महिनाको बिचमा ५० हजार रुपैयाँ पठाए । उनले पठाएको पचास हजारले ऋण तिर्न समेत पुगेन् । ‘घरमा भएको भैसी र खसी बेचेर छोरा विदेश जाँदा गरेको ऋण तिरेँ’ श्रेष्ठले भने, ‘अहिले छोरो पनि छैन, ऋण तिर्दा यता गोठ पनि रित्तियो ।’ उनले आँशु झारे ।

छोराको शोकमा डुबेका हरिबहादुरको परिवारलाई सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र मन्थलीकी मनोसामाजिक परामर्शकर्ता प्रमिला घिमिरेले परामर्श दिइरहेकी छन् । ‘सूचना केन्द्रका मान्छेहरु आएर सम्झाईबुझाई गर्दा अलि सितल भएजस्तो लाग्छ, उनीहरु गएपछि फेरि त्यही छोराको याद आउँछ अनि मन एकोहोरो हुन्छ’ चनयमाले आँशु पुछ्दै भनिन्, ‘छोरा त अरु पनि छन् तर साथमा भएकाको भन्दा नभएकाको बढि सम्झना आउँदोरहेछ ।’

खड्कको मृत्युले विछिप्त भएको हरिबहादुरको परिवारलाई कमजोर आर्थिक अवस्थाका कारण अहिले घर धान्न समेत धौ–धौ भएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv