Latest Updates :

तुलसीको पातलाई के गर्नुहुँदैन ? जान्नुहोस् – धार्मिक तथा वैज्ञानिक कारण


SHARE THIS POST :

हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।
‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ।

नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ। किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि।

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ। आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ। विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ। त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिन्छ।

तर, सावधान! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन्। जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन- धार्मिक र वैज्ञानिक कारणः

१. कहिल्यै नचपाउनुहोस्

सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ।’

अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ।

वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ। त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ।

त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन।

२. कहिल्यै पनि शिवलिङ्गमा नचढाउनुहोस्

हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’को वास्तविक रूप तुलसी हो। अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ।

एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन्। त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन्।
त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ।

३. यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्

आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।!

किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो। त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ।

४. गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्

जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखिन्। गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन्।

आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भइन्। क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिइन्!

उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग। त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए।

गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागिन्। वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिए- ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्। तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस्।’

त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ।

५. कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्

विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए। अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन्। तर विष्णुले अस्वीकार गरे र भने- “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ”

त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ।

तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ। घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन। जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv