१८ मंसिर, काभ्रे । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले प्राधिकरण संचालकहरुमाथि पनि कारबाही शुरु भएको बताए ।
अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई उर्जामन्त्रालयले लिखित स्पष्टीकरण सोधेको छ र चित्तबुझ्दो जवाफ नभए कारबाही गर्ने तयारी छ । विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै उनले त्यस्तो छटपटी अझ बढाईदिने बताए ।
उनले भने, बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोडसेडिङ हटाउन सकियो ।’ अर्को एक प्रसंगमा मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता विरोधी आन्दोलन गरिरहेको आरोप लगाए । संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको भन्दै उनले त्यसको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको बताए ।
‘एमाले संविधान कार्यान्वयन नदिने र संघीयता असफल पार्ने खेलमा लागेको छ, उनले भने । उर्जामन्त्री शर्माले एमाले र मधेसवादी दलहरु मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुने बताए । माओवादी जनयुद्धको क्रममा २०५९ जेठ २२ गते काभ्रे र सिन्धुलीको सिमानामा पर्ने नेपालथोकमा सेनाको गोलीबाट मारिएका कृष्ण बहादुर विष्ट रसकमलको नाममा स्थापित सहकारी संस्थामा ५ सय २९ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी १८ लाख ९९ हजार २ सय रहेको छ ।
संस्थाको बचत रकम ३५ लाख ७२ हजार ३ सय १३ रहेको छ भने ८५ लाख ४५ हजार २ सय १८ ऋण प्रवाह गरेको अध्यक्ष निरञ्जन विष्टले जानकारी दिए ।
Post a Comment