Latest Updates :

फेसबुककाे बहानामा पति र छाेराले खुँडाले हान्दै सलले घाँटी कसेपछि…


SHARE THIS POST :

पाेखरा । लेखनाथको तालचोककी एक महिलामाथि पति र छोराले निर्घात कुटपिट गरेका छन् । पति बाबुराम अधिकारी र सौतेला छोरा सुवास अधिकारीले कुटेर घाइते भएपछि ३६ वर्षीया सरस्वती अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएकी छन् । डेढ दुई महिनादैखि नै मानसिक यातना खेपेकी सरस्वती शुक्रबार राति कुटिएकी थिइन् । खुँडाले हान्दै सलले घाँटीमा बेरी लछारपछार गरेपछि सरस्वतीले हार गुहार गरेकी थिइन् । उनको गुहार सुनेर छिमेकी र प्रहरी पुग्दा पनि बाबुराम र सुवासले कोठा बन्द गरी कुटिरहेको प्रहरी अधिकारीले बताएका छन् । ‘म मरें भन्ठानेकी थिएँ,’ सरस्वतीले अस्पतालको बेडबाटै समाधानसँग भनिन्, ‘बेलैमा प्रहरी आइपुगेर बाँचें ।’
यसअघि पनि कुटपिट भइरहे पनि परिवारको इज्जतका लागि भन्दै बाहिर मुख नफोरेको पनि उनले सुनाइन् । कुटपिटबाट सरस्वतीको मेरुदण्डमा असर पुगेको छ । उनको शरीरमा थुप्रै घाउ लागेको स्वास्थ्यकर्मीले बताएका छन् । शुक्रबार राति २ बजेतिर प्रहरीले आकस्मिक कक्षमा सरस्वतीलाई भर्ना गरेको अस्पतालकी एक नर्सले बताइन् । ‘कति दिन भर्ना गरेरै राख्नुपर्छ भन्ने यकिन छैन,’ ती नर्सले भनिन् ।

उनका पति बाबुराम र छोरा सुवासलाई प्रहरीले पक्रिसकेको छ । उनीहरुले हिरासतभित्रैबाट समेत फोन मार्फतसरस्वतीलाई धम्क्याउने गरेका छन् । त्यसरी प्रहरी हिरासतभित्रैबाट समेत बाबुरामले धम्क्याएको भन्दै अधिकारकर्मीले पीडकलाई कडा कारबाही गर्न माग गरेका छन् ।

सरस्वतीले समेत आफूमाथि आक्रमण गर्नेलाई कारबाही गरी न्याय दिन माग गरेकी छिन् । उनले समाधानसँग भनिन्, ‘मलाई यो हालतमा पुर्‍याउनेलाई कारबाही हुनुपर्छ, मलाई न्याय दिनैपर्छ ।’ उनले मेलमिलापको नाममा घटनाका दोषीलाई त्यसै नछाड्ने समेत बताएकी छिन् ।

फेसबुक बहाना
सरस्वतीमाथिको अमानवीय आक्रमणको बहाना पीडकले फेसबुकलाई बनाएका छन् । उनले फेसबुक मार्फत परपुरुषसँग कुराकानी गरेको आरोप पीडक पक्षको छ । तर सरस्वतीले भने आफ्नो फेसबुक बुहारीहरुले खोलिदिएको बताएकी छिन् ।

आफूले फेसबुक खोल्न नजानेको र च्याटमा पनि साथीहरुसँग मात्र हेलो हाई मात्र गर्ने गरेको बताइन् । उनले भनिन्,‘मेरो फेसबुक कान्छी बुहारी पूजा अधिकारी र जेठी बुहारी साधना केसीले चलाएका थिए ।’ पछि त्यही फेसबुक कुराकानीलाई लिएर छोरा बुहारीको उक्साहटमा पति बाबुरामले कुटपिट गरेको सरस्वतीले सुनाइन् ।

‘कुनै पनि बहानामा कोही कसैमाथि आक्रमण गर्न पाइँदैन,’ घटनाको निरीक्षणमा पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का पश्चिमाञ्चल प्रमुख शिव खकुरेलले भने, ‘हिंसात्मक यातना दिन कसैलाई पनि पाइँदैन ।’ उनले सरस्वतीले गल्ती गरेका अवस्थामा पनि कानुनी कारबाही गर्न सकिने भन्दै अमानवीय आक्रमणको भत्र्सना गरे ।

उक्त घटनाका पीडकविरुद्ध कारबाहीका लागि पीडित सरस्वतीलाई महिला मानव अधिकार रक्षक सञ्जालले साथ दिएको छ । ‘गाउँघरमा मात्र होइन, सहर बजारमा पनि दानवीय हिंसा छ,’ सञ्जालकी जानकारी घिमिरेले भनिन्, ‘सरस्वतीलाई न्याय दिलाउन हामी साथ दिन्छौं ।’ उनले फेसबुकलाई बहाना बनाएर कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने बताइन् ।

‘सर्पलाई दूध पिलाएजस्तो’
गोरखा घर भएपनि पोखरामा एक कम्पनीमा काम गर्थे बाबुराम अधिकारी । उनले १९ वर्षअघि फकाईफुलाई सरस्वतीसँग दोस्रो बिहे गरेका थिए । पहिली श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका बाबुरामका ३ छोरा थिए । सरस्वतीले विवाह गरेर घर पुगेपछि पहिल्यै अर्की श्रीमती र छोराहरु रहेको थाहा पाएको बताइन् ।

१६ वर्षको कलिलो उमेरमै आफूभन्दा दोब्बर बढी उमेरका बाबुरामको घर भित्रिएपछि सरस्वतीले आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गरिन् । बाबुरामकी जेठी पत्नीले छाडेर गएका नाबालक ३ छोरालाई हुर्काउने र पढाउने काम मात्र गरिनन्, एउटा आमाको माया र ममता पनि दिइन् ।

सरस्वतीले घर हेर्न थालेपछि बाबुरामले प्रगति गर्र्दै गए । निजी कम्पनीको एक मजदुरबाट व्यवसायी बन्न सके । अहिले उनका दुईवटा आफ्नै व्यासायिक फर्म छन् । पोखरामा डेरा गरेर बस्ने बाबुरामको अहिले तालचोकमा आफ्नै घरसहित र सम्पत्ति छ ।

‘सानोमा धेरै दुख गरेर सहयोग गरें, साथ दिएँ, अहिले ठूलो भएपछि छोराहरुले पनि यस्तो व्यवहार गरे,’ सरस्वती भक्कानिँदै थिइन् । सरस्वतीले छोराहरु हुर्काएको देखेका छिमेकीले उक्त घटनालाई लिएर दूध खुवाएर पालेको सर्पले टोकेजस्तो भएको संज्ञा दिए ।

समाधान दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv