गुल्मी – काभ्रेकी लक्ष्मी परियारको हत्याले सिङ्गो समाज लज्जित भएका बेला गुल्मीमा अर्को अमानवीय घटना भएको छ । यो घटनाले सिङ्गो समाजलाई लज्जित बनाएको छ । ब्राह्मण महिलासँग प्रेम सम्बन्ध राखेको आरोपमा एक दलित वृद्धलाई गाउँ निकाला गरिएको छ । उनीहरु दुवैलाई निर्घात कुटपिट गरी वनवास पठाइएको छ । गाउँ निकालाको कागज पत्रमा जबरजस्ती औँठा छाप गर्न लगाई गाउँ निकला गरिएको थियो । चार दिनपछि घटना बाहिर आएको छ । रातोपाटी संवादाता सदरमुकामबाट दुर्गम स्थान पुगेर घटनाको विषयवस्तु बाहिर ल्याएका छन् ।
घटना हो गुल्मीको अर्बेनी गाविस ५ को । जहाँ ८१ वर्षीय वृद्ध लालबहादुर सुनारलाई स्थानीय ४२ वर्षीया महिलाससँग सम्बन्ध राखेको आरोप लागेको छ । यही आरोपमा उनीमाथि तालिवानी शैलीमा कारवाही गरिएको छ । घटना पुस १ गतेको हो । पुस १ गते राति रङ्गेहात पक्राउ गरिएको दाबी गरिएका छ । अर्बेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र ती महिलाका भतिजा चिन्तामणि न्यौपानेको अगुवाइमा सय डेढ सय जनाले उनीहरु दुवैलाई कारवाही गरेका हुन् । त्यस दिन बिहान करिब ५ बजेको समयमा आफू महिलाको घरमा पुगेको र केहीबेरमै भतिजा चिन्तामणि सहितका मानिसहरु पुगेको लालबहादुरले बताएका छन् । लालबहादुरले आफूहरुलाई हात पछाडि पार्दै बाँधेर पारि गाउँमा लगेर गोरु चुटेझैँ चुटेको बताए । ती वृद्ध कुटाइ खाएको आज पाँचौँ दिनसम्म पनि हिँड्न सकेका छैनन् । विशेषतः उनको खुट्टामा बढी मात्रमा लाठी प्रहार भएका डाम छन् । चिन्तामणि न्यौपानेले पनि उक्त कार्य गरेको स्वीकार गरेका छन् । उनीहरु दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएका र गाविसमा पुर्याएर गाउँ निकला गर्ने कागजी निर्णय गराएको चिन्तमणि न्यौपानेले भने– ‘मैले मात्रै गरेको होइन, यहाँका सय ढेढ सय जनाले गाउँ निकाला गर्ने निर्णय गरेपछि त्यो निर्णयलाई कार्यन्वयन गर्न उनका छोरा अनुराम सुनारलाई लगेर घर भत्काउन लगाएको हुँ, त्यसमा म मात्रै थिइन् ।
’ घर नभत्काइदिए वनवास पठाइएका जोडी राति आएर बस्ने भएकाले आफूहरु नै जलाई दिन बाध्य हुनुपर्ने भएकाले त्यसो गरिएको न्यौपानेको भनाइ थियो । ती वृद्धका छोरा अनुराम सुनारले चिन्तामणिसहित ठूलो समूहले आफूलाई एक्लो पारी ‘घर भत्काउँछस् कि जालाई दिऊँ’ भनेर धम्की दिएको बताएपछि आफू उनीहरुकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उनले बताए । ‘बाबुको गल्ती नै भए पनि घर नजलाई दिनुस् भनेँ । मानेनन् । कमसेकम छानाको खर, डाँडाभाटा र काठहरु त बचाउन सकिन्छ कि भनेर आफै भत्काउँन बाध्य भए ।’
लालबहादुरका छोराले भने, ‘बाबु र ती महिलालाई थाङनाबोटा बोकाएर वन पठाएपछि ठूलो जत्थाका सामु चुँ गरेर बोल्न सक्ने अवस्था मेरो थिएन । कतैबाट गुहार पाइएन ।’ आरोपित ८१ वर्षीय वृद्ध लालबहादुर सुनारकी श्रीमतीको २२ वर्षअघि नै मृत्यु भएको थियो । छोराबुहारी छुट्टिएर भिन्न भएर अर्कै गाउँमा बस्दै आएका थिए । बीच जङ्गलको एकान्त स्थानमा रहेको घरमा उनका बाबु एक्लै बस्दै आएका थिए । उक्त घर अहिले भत्केको ठाँटी जस्तै बनेको छ ।
वन पसेका ती दुवैलाई उनका छोरा र आफन्तजनले अर्को दिनदेखि खोज्न थाले । दुई दिनपछि घरदेखि धेरै टाढा बीच जङ्गल र अनकन्टार भीरमा ती दुवैलाई भेटेका थिए । दुई दिन दुई रातसम्म जङ्गलमा बसेका उनीहरुलाई त्यहाँका दलितहरुले गाउँ फर्काए पनि बस्ने बास र खाने गाँस नहुँदा ती दुवै विचल्लीमा परेका छन् । बाँधेर गाउँ डुलाइएका उनीहरुलाई अर्बेनी काङ्ग्रेसका सभापति रामप्रसाद न्यौपानेले ‘यसरी नबाँध, फुकाई देऊ’ भनेपछि गाविस कार्यालय माथिको पिपलको चौतारीमा ल्याएर फुकाई दिएको बताए ।
कानुन हातमा लिएर गाउँ निकाला गर्ने निर्णय नगरभन्दा पनि ठूलो जत्थाले अटेरी गरेको र त्यसपछि आफू त्यो छलफलमा सहभागी हुन नचाहेको सभापति न्यौपानेले बताए । नेकपा एमालेका देवीप्रसाद न्यौपानेलाई पनि थाहै नदिई गरिएको त्यो निर्णय मान्य नहुने र पछि मात्र थाह पाएकाले दुखद् घटनाका रुपमा आफूहरुले लिएको बताए । नेकपा माओवादी केन्द्र अर्बेनीका प्रतिनिधि कमल न्यौपानेले उक्त घटनाको पार्टीले बैठक राखेर निन्दा गर्ने बताए । ‘हामी यहाँका युवाहरुलाई बोलाइएको भए त्यस्तो हुन दिने नै थिएनौं’ भन्दै न्यौपानेले त्यहाँ सबै जना रुढीवादी सोच भएकाहरुले कानुन हातमा लिएर मानव अधिकार हनन् भएकोप्रति दुःख लागेको बताए ।
अर्बेनीस्थित भगवती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक थानेश्वर न्यौपानेले विद्यालय प्राङ्गणमै जुटेर गरिएको त्यस्तो अमानवीय कार्यबारे आफूलाई थाहै नदिईएको र ती विस्थापितहरुलाई पुनस्र्थापित गरिनुपर्ने बताए । उनीसहित पार्टीका जिम्मेवार नेता, पीडित वृद्धका आफन्तजन र त्यहाँका दलित अगुवालाई समेत नबोलाएर सिङ्गो ब्राह्मण समुदायले गाउँ निकलाको एकलौटी निर्णय गरेर मानव अधिकारको धज्जी उडाएको त्यहाँका दलितहरुले गुनासो गरेका छन् । गाविस कार्यालय सहायक न्यौपानेले सदरमुकाममा रहेका गाविस सचिव भोजबहादुर रानालाई समेत फोन मार्फत नसोधेर त्यस्तो कार्य गरिएको त्यहाँका दलितहरुले आरोप लगाएका छन् । गाविस सचिव रानासँग घटनाको पाँच दिनपछि आज बिहान सोध्दा आफूलाई केही थाह नभएको भन्दै आश्चर्य प्रकट गरे ।
‘सदरमुकामा भएका रानाले भने– ‘खै मलाई त्यसबारे केही थाह भएन, मलाई गाविस कार्यालय सहायक न्यौपानेले जानकारी गराउनुभएन क्यारे, गाउँबासीले जे भन्नुभयो त्यही गर्नुभयो होला, के रहेछ म अब बुझ्ने छु ।’ गाविस सहायक न्यौपानेले सुरुमा उक्त कागज नगराएको बताए । पछि प्रत्यक्षदर्शी र हस्ताक्षरकर्ता विकलगायतले त्यसरी ढाँट्न पाइन्छ भनेर सवाल उठाउँदै उक्त कागज मागेपछि ‘हुन त हो तर च्यातेर फालियो, अहिले छैन्’ भनेर जवाफ दिए । आफ्नो बचाउका लागि आफू मात्रै बोलिरहेका न्यौपानेले यस समाचारदातालाई समेत प्रश्न राख्दा बीचबीचमा कड्किरहे । उनले दलित समुदायलाई सुझाव दिँदै भने– ‘हेर्नुस् तपाईंहरुको घर सरसफाइ हुनुप¥यो । जाँड रक्सी खाएर हिँड्नु पनि भएन । बाहुनहरुको सभ्यताअनुसार चलियो भने कसैले विभेद गर्दैनन् र गरिएको पनि छैन ।’
उनले राज्यले छुट्याउँदै आएको लक्षित वर्गको रकम पनि आफैले छुट्याइदिए जस्तो गर्दै त्यहाँका दलितहरुलाई भने– ‘तपाईंहरुलाई कहिले विभेद गरिएको छ ? बर्सेनि दलित, जनजाति, अपाङ्गहरुका लागि रकम छुट्याइएकै छ, अरु कुरामा पनि विभेद गरिएकै छैन् ।’ स्थानीयवासी समेत भएकाले न्यौपानेसँग दोहरो सवालजवाफसमेत गर्न नसक्ने त्यहाँका दलितहरु दबिएर बस्नुपरेको गुनासो गर्दछन् । उनले केही दाजुभाइ आवेशमा आएर ती ८१ वर्षीय वृद्ध र ४२ वर्षीया महिलालाई श्रीमान् श्रीमतीको नाता स्थापित गर्न र पूर्व पतिबाट विच्छेद गराई गाउँ निकालाको कागज पत्र गराएर मानव अधिकार हनन गरिएको दलित अधिकारकर्मी विष्णु सुनारले बताए । सुनारले सरकारी तलब खाएका अर्बेनी गाविस कार्यालय सहायक उति बेलाको मुखिया जिम्वाल जस्तो बनेर प्रस्तुत भएकाले उनीमाथि कार्वाही हुनुपर्ने माग गरे ।
दलित प्रतिनिधिका रुपमा उक्त कागजमा हस्ताक्षर गर्न लगाइएका अर्बेनी ९ का बेलबहादुर विकले आफूलाई ढिलो बोलाएर हस्ताक्षर गराएको बताए । ‘आफूहरुले सबै निर्णय गर्दै र कागजपत्र समेत लेखिसकेपछि म आएको हुँ, पढेर गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन्’– विकले भने– ‘त्यत्रो गाउँ घोप्टिएपछि म बोल्न सक्ने कुरै भएन र हस्ताक्षर गर्न बाध्य भएको हुँ ।’ तर गाविस सहायक न्यौपानेले दलित वर्ग उत्थान समन्वय समितिका अध्यक्ष टीकाराम सुनार र ती वृद्धका मावलीहरुलाई भने नबोलाएर त्यहाँ भन्दा धेरै टढा र अर्को वडाका बेलबहादुर विकलाई बोलाएर हस्ताक्षर गर्न लगाएका थिए । ‘उर्दी जारीले राणाशासनको झल्को आयो’ स्थानीय दलित अगुवाहरु भन्छन्– ‘हामी यहाँ थोरै घरधुरी भएकाले दमन र चरम विभेदमा पहिल्यैदेखि बाँच्नुपरेको छ । त्यसमाथि ती दलितको घर भत्काउन र गाउँ निकालेर वनवासको उर्दी जारी गर्दा राणाशासनमा सुन्ने गरेको हुकुमी शासनको झल्को अएको छ ।’

त्यहाँका दलित समुदायका युवा नेता सूर्य सोनीले ‘यसपालि अत्यचारको पराकाष्टा नाघेकाले कानुन हातमा लिनेलाई कारवाही हुनुपर्ने’ माग गरे । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पीडित पक्षले जाहेरी दिए, घटनाको सत्य तथ्य बुझेर दोषी ठहरिए कारवाही हुने बताए । उनले भने– ‘कस्तो खालको मुद्दा दिने हो, सार्वाजानिक अपराधको दिने भए सात दिनभित्र जाहेरी दिन लगाउनु होस् ।’ उनले प्रहरी प्रमुखसँग समन्वय गर्न सुझाएपछि हामीले जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावललाई पनि घटना विवरण बारे जानकारी गराएका थियौं । गाविस सहायक न्यौपानेले त्यहाँका दलका शीर्ष नेताहरुलाई त बोलाएनन् नै त्यहाँबाट नजिकै रहेको पूर्तिघाट प्रहरी चौकीलाई समेत घटनाको जानकारी गराउने प्रयास गरेनन् । प्रहरी प्रमुख रावलले तत्काल उक्त प्रहरी चौकीलाई बुझ्न पठाउने बताएका छन् । तस्बिर : दुई आरोपितहरु, भत्काइएका घर, जोगाइएको खर र दारपात देखाउँदै उनै वृद्धका छोरा ।
Post a Comment