लाइट नेपाल
नयाँदिल्ली, १२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न भारतलाई आग्रह गरेकी छन् । दुई देशको सम्बन्ध सुदृढिकरणका लागि दिल्लीस्थित नेपाली दूताबासमा आयोजित नेपाल र भारतका विभिन्न राजनीतिक दलका युवा नेताहरुबीचको छलफलमा नविनाले नेपालको आन्तरिक राजनीतिमा भारतले अनावश्यक रुपमा चासो लिएको भन्दै यसरी सम्बन्ध सुदृढ हुननसक्ने बताइन् । ‘सम्बन्ध सुधार गर्न खोजेको हो भने नेपालमा भारतीय हस्तक्षेप बन्द गर्नुपर्छ,’ उनले भनिन्( ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारले नेपाललाई हेर्ने दृष्टिकोण र नीतिमा परिवर्तन गर्नुपर्छ ।’ नविनाले भारतीय युवा नेताहरुसमक्ष हस्तक्षेप नेपालमाथिको भारतको हेपाहा व्यवहार सच्याउनपर्नेमा ध्यानाकर्षण गराएकी थिइन् । नेपाल र भारतका युवा नेताहरुको छलफलमा नविनाले संविधान जारी भएपछि भारतले नेपालमाथि किन नाकाबन्दी लगायो भन्ने प्रश्नको जवाफ नेपाली युवाहरुले खोजिरहेको कुरा भारतीय नेताहरुलाई जानकारी गराउँदै जवाफ समेत मागिन् । उनले भनिन्– ‘गत वर्ष नेपालले संविधान जारी गरेपछि भारतले किन नाकाबन्दी लगायो, हामी त्यसको उत्तर चाहन्छौं ।’ नेपाललाई भारतले विगत ७० वर्षको बीचमा निकै नै सहयोग गरेकोमा धन्यवाद दिँदै सम्बन्ध सुधारका लागि व्यवहारमा परिवर्तन आवश्यक भएको बताइन् । -
Post a Comment