बोक्सी आरोपमा कुटपिटपछि हत्या गरिएको भनिएकी सानो बाङथली ७ की लक्ष्मी परियारको मृत्यु घटनाले फरक मोड लिएको छ । प्रत्यक्षदर्शीको बयान, प्रहरी र अधिकारकर्मीको स्थलगत अनुगमन, अनुसन्धान र संकलित प्रमाणका आधारमा उनको मृत्यु कुटपिटकै कारण भएको भए पनि बोक्सी आरोपमा नभएको देखिएको हो ।
‘झैझगडाका क्रममा बोक्सी भन्ने शब्द उच्चारण भएको भए पनि प्रताडित गराउने हिसाबले भनेको देखिँदैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘रिसको झोकमा त्यो शब्द प्रयोग भएको भए पनि त्यही आरोपमा कुटपिट भएको देखिएन ।’
घटनाप्रति चासो देखाउँदै राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, दलित आयोग, एसियन मानव अधिकार आयोग र इन्सेक लगायतका संघसंस्था र निकायले स्थलगत अनुगमन गरे पनि प्रतिवेदन सार्वजनिक भएको छैन ।
मृतक लक्ष्मी र आरोपी काइँली तामाङबीच झगडा हुने क्रममा एकले अर्कालाई बोक्सी भनी आरोप लगाएको निष्कर्षमा अधिकारकर्मी पुगेका छन् । मंसिर २० गते लक्ष्मी र काइँलीबीच गालीगलौज भएपछि स्थानीय सूर्योदय माविका शिक्षक हीरा लामा र उनकी आमा काइँलीले पोलमा बाँधेर बोक्सी भन्दै अनुहारमा मलमूत्र दलेका थिए । कुटपिट भएको थियो ।
तर, स्थानीय प्रत्यक्षदर्शीका अनुसार कुटपिट भएको भोलिपल्ट लक्ष्मी लसुनको बिउ लिन गाउँ गएकी थिइन् । २२ गते पनि चामलको बोरा बोकेर गाउँमा देखिएकी थिइन् । ‘पिटेको र दिसा दलेको कुरा सत्य हो तर मरणासन्न हुने गरी कुटेको होइन,’ एक प्रत्यक्षदर्शीले भने, ‘पतिसँग झगडा भएका कारण मृत्युको कारण अरू पनि हुन सक्छ ।’
२३ गते गाउँमै मिलापत्र गर्दा उनको शरीरमा बाह्य चोट नदेखिएको प्रहरी दाबी छ । २४ गते बिहान झुन्डिएको अवस्थामा फेला परेको भनेर श्रीमान् मिलनले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीसँगको बयानका क्रममा उनले पनि पत्नी लक्ष्मीलाई एक लाठी हिर्काएको स्वीकारेका थिए । ‘उनको मृत्यु कुटपिटकै कारण भएको हो तर कुन चोटका कारण मृत्यु भयो भन्ने कुरा पोस्टमार्टमपछि मात्रै खुल्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले भने, ‘पीडक नउम्किऊन् भनेर सबै कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले कुटपिट गर्ने शिक्षक हीरा, उनकी आमा काइँली, स्थानीय निरमाया तामाङ र मृतक लक्ष्मीका पति मिलनलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।
प्रहरी इन्चार्ज तानिए
चौवास प्रहरी चौकीका इन्चार्ज प्रेमपुकार चौधरीको कार्यशैलीका कारण मुद्दामा थप जटिलता आएको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला बोलाएको छ ।
पीडित पक्षले मलमूत्र खुवाएको विषय उठाउँदा उनले ‘महिलाका मुद्दा आफूले नहेर्ने’ भन्दै जिल्ला जान सुझाएपछि दुई पक्षबीच मिलापत्र भएको थियो । उनले भैंसी काटेको उजुरीका आधारमा मिलापत्र गरेको दाबी गरिरहेका छन् ।
यस्तै उक्त घटनाका दोषीलाई कारबाही माग गर्दै दलित शक्ति नेपाल काठमाडौंले जिल्ला प्रहरी कार्यालय धुलिखेलअगाडि प्रदर्शन गरेको छ । बोक्सी आरोपमा मलमूत्र खुवाएको घटनामा मिलापत्र गर्ने प्रहरीलाई समेत कारबाहीको माग गरिएको छ ।
भएन पोस्टमार्टम ६ दिनसम्म पनि मृतक लक्ष्मीको पोस्टमार्टम हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शव अधिकारकर्मीको आग्रहमा पोस्टमार्टमका लागि केही ढिला गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी थापाले बिहीबार पोस्टमार्टम हुने जानकारी आएको बताए ।
Post a Comment