गुजरात – भारत विकासको गतिमा अघि बढेपनि समाज भने अझै रुढीवादी नै रहेको छ । त्यही भएर विवाहमा दुलहा पक्षलाई खुसी बनाउन दुलही पक्षले विवाहमा ठूलो भोज र समारोहको आयोजना गर्नुपर्छ । तर, यदी घरको मुख्य व्यक्ति (दुलहीको पिता) को निधन भएको खण्डमा, विशेष गरेर गरिब परिवारका लागि, विवाह कल्पनाभन्दा बाहिर हुने गर्छ । यहाँ आउँछन्, जग्गा व्यापारी महेश सभानी ।
सन् २००८ यता सभानीले पिता नभएका ७ सयभन्दा दुलहीको विवाह गराएका छन् । उनले विवाहको लागि खर्च मात्र गर्दैनन्, आफ्ना ‘नयाँ छोरी’ हरुको लागि दाइजोको पनि व्यवस्था गरिदिन्छन् । हरेक विवाहमा उनी ४ लाख भारुभन्दा बढी खर्च गर्ने गरेका छन् ।
उनी बाबु बनेर छोरीको कन्यादान समेत गरिदिन्छन् ।
आठ वर्ष अघि छोरीको विवाहको केही दिनअघि उनको एक नजिकको आफन्तको निधन हुन्छ । महेश सभानीले उक्त विवाहको सबै खर्च बहोरिदिन्छन् र छोरीको कन्यादान पनि गरिदिन्छन् ।
‘ त्यही दिन मलाई लाग्यो, यसरी पिता नभएका कयौँ छोरीहरुको पनि यस्तै समस्या होलान् । विधवा आमाहरुलाई छोरीको विवाह गर्न कति अप्ठ्यारो होला । त्यही दिनदेखि मैले सहयोग गर्ने निर्णय लिएँ,’ सभानीले भने ।
कसैले उनको गलत फाइदा नउठाओस् भनेर सहयोग माग्ने दुलहीहरुले आफ्नो पिताको मृत्यु भएको प्रमाण पेश गर्नुपर्ने हुन्छ । उनका लागि धर्म वा जातले कुनै फरक पदैन ।
शुरुमा उनले एक पटकमा एक जनाको विवाह गर्दै आएकोमा पछि उनको सहयोगको बारेमा खबर गुजरातमा फैलिएपछि उनसँग सहयोग माग्नेको संख्यामा पनि थप भयो । एक–एक जनाको विवाह गर्दा उनलाई धेरै अप्ठ्यारो हुन थाल्यो । सन् २०१२ देखि भने उनले हरेक डिसेम्बर महिनामा आफूले सञ्चालन गर्ने गरेको पिपि सभानी स्कूलको मैदानमा सामूहिक विवाह समारोह आयोजना गर्ने गरेका छन् ।
गत सालसम्म उनले ४७२ जना पिता नभएका विभिन्न धर्मका दुलहीहरुको विवाह गराएका थिए । गत वर्षको सामूहिक विवाहमा उनले १ लाख जना मानिसलाई भोज खुवाएका थिए । त्यसमा पनि उनले ‘नयाँ छोरी’ हरुलाई दिएको दाइजो त छँदैछ ।
सन् २०१६ को समारोह झन् विशेष रह्यो । उनले एकैपटक २३६ जना छोरीको विवाह गराए ।
‘अब म ७ सय जना छोरीहरुको पिता भएको छु,’ एएफपीसँग कुरा गदै सभानीले भने, ‘सो समारोहमा मेरा दुई जना छोराको पनि विवाह भएको थियो । त्यही भएर एकै पटक २३८ जनाको विवाह भयो ।’
सभानीले विवाहमा लाग्ने खर्चको खुलासा नगरे पनि विवाह समारोह हेर्दा लाखौँ रुपैयाँ लाग्ने सजिलै अनुमान गर्न सकिन्छ । सभानीले हिरा पोलिसिङ व्यवसाय र रियल स्टेटबाट धेरै रकम कमाएका छन् । तर, उनको कमाईभन्दा उनको सहयोगको भावना ठूलो रहेको छ ।
विवाह पछि पनि उनले आफ्ना नयाँ छोरीहरुसँगको सम्बन्ध कायम राख्छन् । ‘विवाह पछि पनि हामी वहाँको जीवनभर छोरी नै रहन्छौँ । वहाँ कुनै पर्व परे भ्याएसम्म उपहार लिएर हाम्रो घरमा आउनुहुन्छ,’ उनले विवाह गराइदिएका छोरीमध्ये एक विश्वा वम्जाले भनिन्, ‘विवाहपछि पनि वहाँले पिताले जस्तै आफ्नो जिम्मेवारी निभाइरहेका छन् ।’
सभानी पनि यसलाई भगवानको आर्शिवाद मान्दै आफूले सकुन्जेल यसरी सहयोग गर्ने बताउँछन् ।

Post a Comment