विराटनगर, १८ पुस । भारतको जोगबनी नाकाबाट हुने निकासी-पैठारी शनिबार पूणरूपमा ठप्प भएको छ। यो नाका हुँदै कुनै पनि मालबहाक सवारीसाधन सञ्चालन हुन नसक्दा आयातनिर्यात ठप्प भएको हो।
जोगबनीका २६ वर्षीय अजय यादवको हत्याको विरोधमा आफन्त र स्थानीय बासिन्दाले जोगबनीमा बजार, पसल र यातायात ठप्प पार्दा त्यसको असर विराटनगर भन्सार कार्यालयमा परेको हो। भारतको फारवेशगन्जको सिर्माहामा काटेर बोरामा पोको पारेर फ्यालेको अवस्थामा यादवको टाउको शुक्रबार साँझ फेला परेको थियो।
काटेर फ्यालेको अवस्थामा टाउको मात्र भेटिए पनि शरीर अझैसम्म फेला पार्न नसकिएको जानकारी भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको छ।
भारतीय प्रहरीका अनुसार हत्याको कारण र हत्यामा संलग्नका बारेमा पत्ता लाग्न सकेको छैन। त्यसको विरोधमा यादवका आफन्त र जोगवनीका स्थानीय बासिन्दाले आन्दोलन थालेपछि नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने आयात निर्यात ठप्प बनेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएकाले जोगबनीका ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्।
आन्दोलन र प्रदर्शनका कारण औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, उपभोग्य वस्तुलगायतका मालसामान लोड गरेर नेपालतर्फ आउने तयारी गरिरहेका तीन सयभन्दा बढी मालबहाक सवारीसाधन भारतीय भूमिमै रोकिएको विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुंगानाले बताए। उनका अनुसार जोगबनी नाका हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सवारी आवतजावतनै ठप्प छ।
नेपालतर्फ सामान ल्याएर भारत फर्कनु पर्ने खाली गाडी एवं नेपालबाट सामान लोड गरेर भारत जानुपर्ने गाडी पनि जान नसक्दा भन्सार कार्यालयको यार्डमै थन्किएर रहेको जानकारी ढुंगानाले दिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
Post a Comment