Latest Updates :

मिरा राईको यात्रा:अयोग्य‘फिस्टे छापामार’बाट‘एड्भन्चर अफ दी इयर’सम्म


SHARE THIS POST :
पूर्वमाओवादी छापामार मीरा राई नेपाली सेनामा ‘अयोग्य’ ठानिएकी उनको जीवन कथा :

मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’

मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन् । सेना र प्रहरीसँग माओवादीको बारम्बार बम र बन्दुकको साक्षात्कार भइरहेको बेला गाउँबाट एक्लै छापामार बनेकी उनले भनिन्, ‘भाइबहिनी धेरै पढ्थे तर उनीहरूको फी तिर्ने पैसा थिएन । घरको स्थिति नाजुक थियो । घर बसेर केही हुनेवाला थिएन । त्यसैले बरु पछि पढौंला भनेर माओवादीमा गएँ ।’

समाजमा महिलालाई घाँस–दाउरामै सीमित राख्ने भएकाले केही गर्ने सपना बुन्दै उनी अवसरको खोजीमा माओवादीमा पुगेकी थिइन् ।माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। त्यसबेला आफ्नै घरमा पनि फायर भएको उनी सम्झन्छिन् । नजिकै भेडेटार, भोजपुर रिपिटर टावरमा सुरक्षाकर्मी र माओवादीको भिडन्त भयो । उनी बच्चै भए पनि भोजपुर आक्रमणमा सहयोगी छापामार थिइन् । ‘म फिस्टे नै थिएँ । त्यसैले युद्धमा अगाडि थिइनँ,’ उनी भन्छिन्, ‘घाइतेलाई बोकेर सहयोग गरें ।’ युद्धबाट जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सकिन्छ भन्ने सिकेको उनले बताइन् ।

‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो । समाजमा पनि त्यस्तै समानता ल्याउन माओवादीमा गएकी थिएँ,’ उनी भन्छिन्, ‘युद्धमा थुप्रै महिलाले योगदान दिए । तर, अहिले समान अधिकार नदिएकोमा चाहिँ दु:ख लाग्छ ।’


बाआमाकी पाँच सन्तानमध्येकी दोस्रो मीरा २०६३–६३ को जनआन्दोलनको सफलतापछि माओवादीको सिन्धुली शिविरमा पुगिन् । माओवादी छापामार नेपाली सेनामा समायोजननजिक पुगेको थियो । सेनाको जागिरे भएर भाइबहिनीको पढाइ र घर खर्चमा सहयोग गर्ने उनले सपना बुनिन् । तर, संयुक्त राष्ट्रसंघीय मिसनले ‘अयोग्य’ को सूचीमा राखेपछि उनको सपना शिविरमै टुट्यो ।
शिविर उठेपछि उनी घर गइनन् । सिन्धुलीमै बसेर एसएलसी पास गरिन् । १८ महिने कृषि पनि पढिन् । अहिले १२ कक्षामा पुगेकी उनी पढाइलाई निरन्तरता दिने बताउँछिन् ।


पीएलए स्पोर्टस क्लबले माओवादी शिविरमा खेल प्रशिक्षण थालेको थियो । त्यसमा उनी जुन खेलको प्रशिक्षण हुन्थ्यो, त्यतै लाग्थिन् । कराते, फुटबल, भलिबल, कपर्दी सबै खेलिन् । एथलेटिक्समा दौडिइन्, उफ्रिइन्, थ्रो गरिन् । ‘फेरि मौका पाउँदैन भनेर केही पनि छोड्न मन लाग्दैनथ्यो,’ उनले भनिन् । पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा पीएलएबाट ५ हजार र १० हजार मिटरमा दौडिइन् । तर, पदक जितिनन् ।

उनका दाइ झापामा बिजुलीको काम गर्छन् । बहिनी धनकुटामा कृषि पढ्दैछिन् । उनी आफ्नो करिअर सुरक्षित गर्न चाहन्छिन् । ‘न ढुक्कसँग खेल्ने अवस्था छ न त खेल छाडेर घर फर्कने नै,’ २५ वर्षीया उनी गम्भीर हुन्छिन्, ‘अहिलेसम्म गुरुको तर्फबाट बाँचेको छु ।’ उनले नाम कमाएकोमा परिवार खुसी छन् ।

थप ६–७ वर्ष अल्ट्रा रेसमा दौडेपछि भाइबहिनीहरूलाई स्वदेशमै रेस पनि आयोजना गर्दै अवसर दिएर आफूजस्तै बनाउनतिर लाग्ने उनले सोच छ । ‘अल्ट्रा रेसका लागि नेपालको भूगोल र यहीं हुर्केका नेपालीको सम्भावना एकदमै राम्रो छ । यसको आयोजनामा उत्कृष्ट खेलाडी र धेरै पर्यटक ल्याउन सक्छौं । सहभागितासँगै जितेर देशको नाम राख्न सक्छौं,’ उनले भनिन् ।


अल्ट्रा रेसमा इन्ट्री मारेको दिन
यो मीरा राईले अल्ट्रा रेसमा इन्ट्री मारेको दिन हो यो । उनी हिमालयन आउटडोर फेस्टिबलमा दौडिएकी थिइन् । फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको ५० किमि दौडमा प्रथम भएकी थिइन् । त्यसमा सहभागी अरूले पानी, खानेकुरासहितका झोला बोकेका थिए । मीरासँग भने लगाएको एकसरो टिसर्ट र ट्राउजरबाहेक केही थिएन ।

‘चार घन्टामै दौड सकाएर फर्कन्छु भन्ने सोचेको थिएँ,’ उनी सम्झन्छिन्, ‘तर असिना–पानी पर्‍यो । दौड जिते पनि टिस्टुङमै रोकिएँ । भोक लागेर रिंगटा चल्यो । मसँग एक पैसा पनि थिएन । राज प्रधान (अर्का धावक) दाइले दिनुभएको ५० रुपैयाँले चाउचाउ र जुस लिए । त्यो खाएपछि बल्ल इनर्जी आयो र उभिन सक्ने भएँ ।’

खाली पेटमा उकाली–ओराली दौड्दा रिंगटा लागे पनि स्वर्णपदक र प्रमाणपत्र लिएर बेलुका साढे आठ बजे बालाजुको कोठामा आइपुग्दा माहोल बेग्लै भइसकेको थियो । मीरासँगै बस्ने कराते खेलाडी अनुपमा मगर र मीराको काठमाडौं बसाइ तथा खेलको व्यवस्थापन गर्दै आएका बालाजु कराते एकेडेमीका सञ्चालक ध्रुवविक्रम मल्ल आत्तिएका थिए । उनीहरूलाई मीरा कहाँ गइन् भन्ने थाहा थिएन ।
मल्ल सुनाउँछन्, सधैं गोर्खा भर्ती (बेलायती सेना) को तयारी गर्नेसँग दौड्ने गर्थिन् । त्यस दिन पनि सधैंझैं बिहान पीटीआई गुरुजीसँगै निस्केकी थिइन् । उनले कहाँ जाँदैछु भन्ने कसैलाई बताएकी थिइनन् । दिउँसोसम्म नआउँदा त हामी आत्तियौं । बालाजु प्रहरी चौकीमा मीरा हराएको निवेदन दियौं ।’ साँझ साढे ८ बजे मीरा गोल्ड मेडल र प्रमाणपत्र बोकेर फर्किएपछि बल्ल उनी दौडमा सहभागी भएको थाहा भयो ।

मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन् ।
खासमा मीरा आफैंलाई पनि त्यस दिन दौड्नुपर्छ भन्ने थाहा थिएन । त्यसैले उनी कसैलाई नभनी हिमालयन आउटडोरमा पुगेकी थिइन् ।

वैदेशिक रोजगारीमा झण्डै मलेसिया पुगिन् !

पूर्वमाओवादी छापामार मीरा वैदेशिक रोजगारीमा मलेसिया जानका लागि मंसिर २०७० मा काठमाडौं आएकी थिइन् । उनको भिसा पनि लागिसकेको थियो । कम्तीमा एक वर्ष त खेल भन्दै मल्लले सम्झाएपछि उनी यहीं बस्न राजी भएकी थिइन् । म्यानपावरलाई १२ हजार रुपैयाँ बुझाएर पासपोर्ट फिर्ता लिएपछि उनी दौडको अभ्यासमा लागेकी थिइन् । माओवादीको सिन्धुली शिविरमा तीन वर्ष कराते खेलेर मीरा ब्राउन बेल्टसम्म पुगेकी थिइन् । शिविरमा मल्लका चेलाले कराते सिकाउँथे । त्यही मीरा र अनुपमाको खेल उनले देखेका थिए ।



उनी अहिले सोच्छिन्, मलेसिया गएको भए– केही न केही । न पैसा कमाउँथें न नाम ।

विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण

हिमालयन आउटडोरको सफलतापछि भने उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेस सुरु गर्ने सुरुमा मीरा पुिगन् । हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा मात्र होइन, इटाली र हङकङसहित लगातार ६ रेस जितिन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जितेकी छन् ।

माघ, २०७१ मा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता हो ।

उनको खान्की सामान्य मानिसको भन्दा प्राय: दोब्बर हुन्छ । ‘जत्रो भए पनि एउटा कुखुरा त म सिलिक्कै पार्छु,’ उनले भनिन्, ‘भोजपुर घर जाँदा कुखुरा र बलेख्रो टन्नै सिध्याएर आउँछु ।’ मासु उनको प्रिय खान्की हो । सन्तुलित खानाको रुटिन छैन तर उनी अण्डा, चना, स्याउ, केरा, काजु मिलाएर खान्छिन् ।

अल्ड्रा रेसको आयेजना र प्रवद्र्धनमा लागेको संस्था ‘ड्रेल रन नेपाल’ ले दिने मासिक ८ हजार उनको डाइट र पकेट खर्च हो । युरोपमा उनलाई स्पोर्टस वेयर कम्पनी ‘सलोमन’ ले प्रायोजन गर्छ ।
दैनिक २ देखि ६ घन्टासम्मको ट्रेनिङमा महिनामा उनको एउटा स्पोर्टस सुज फाट्छ । ‘गरिब नेपाली हुँ भनेपछि मलाई मौका दिएको छ । त्यसैले देशको नाम राख्ने अवसर पाएको छु,’ उनी भन्छिन् । उकाली ओरालीमा घन्टौ दौड्दा पनि उनी कहिल्यै थकान मान्दिनन् । भन्छिन्, ‘जति दौडियो झन् दौडिइरहन मन लाग्छ ।’

भोजपुरको सानेदुम्माकी उनी पँधेरी निमाविमा पढ्थिन् । ओरालो ४५ मिनेट हिँडेर स्कुल पुग्थिन् र फर्किंदा त्यही उकालो चढ्थिन् । खानेपानी लिन घरबाट ३० मिनेट ओरालो धाउनुपथ्र्यो ।



विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) भएकी हुन्। नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ।

छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने थियो। सर्वाधिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन्। भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्। मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन। विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्।
उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्। त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्।



यो पनि हेर्नुहोस् :http://नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ मीरा राईले जितिन्

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv