Latest Updates :

शिक्षण अस्पतालभित्र ४१ वर्षदेखि शव गाडिदैं, स्वास्थ्यमन्त्री भन्छन्– ‘पहिलोपटक सुनेँ’


SHARE THIS POST :

काठमाडौं, माघ ५ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ ।
फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ ।

सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए । तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ । पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले बताए । तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ ।

आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए । ‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन । एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन । राज्य बेखबर छ । हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ ।’

अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ। वरपरको बस्तीमा दुर्गन्ध थोरै ठाउँमा निरन्तर शव गाड्दा नकुहिएर वरपर दुर्गन्ध फैलिएको छ । ‘ठाउँ अभावका कारण आठ आना जग्गामा वर्षौँदेखि शव गाड्दा वरपरका बासिन्दालाई पनि समस्या छ,’ वस्तीले भने । शव गाड्ने जग्गासँगै अस्पतालको फोहोर थुपारिएको छ । शव राम्रोसँग नपुरिएकाले दुर्घन्धका साथै कंकालहरू जमिनमै यत्रतत्र छरिएको देखिन्छ । कुकुरले समेत खोतलेर शव बाहिर देखिने गरेको स्थानीय बताउँछन् ।

‘शवको दुर्गन्ध आउँछ कि फोहोरको भन्ने यकिन नै हुँदैन,’ स्थानीय सुवास लामाले भने, ‘कहिलेकाहीन् कुकुर पसेर शव खोतल्यो भने पूरै दुर्गन्धित हुन्छ । आसपासमा बसोबास गर्नेलाई निकै समस्या छ ।’

फरेन्सिक विभागबाट सय मिटरपर रहेको सहारा केयर अस्पतालका सञ्चालक डा. हरि लम्साल पनि दुर्गन्धले आसपासमा असर गरेको बताए । ‘बस्तीको बीचमा शव गाड्नु अमानवीय कार्य हो,’ उनले भने, ‘राज्यले शव गाड्ने स्थानको उचित व्यवस्था गर्नुपर्छ । नजिकै शव गाडिँदा छेउछाउ बस्ने मानिसलाई यसले गम्भीर असर गर्न सक्छ ।’ कान्ति बाल अस्पतालनजिक घर भएकी सुनिता श्रेष्ठले वर्षौँदेखि त्यहाँ शव गाड्ने गरिएको बताइन् । ‘आफ्नो जग्गा होइन, केही भन्न पनि मिलेन । पहिला–पहिला त राति दुर्गन्धले गर्दा बाहिर निस्किन पनि सकिँदैनथ्यो,’ श्रेष्ठले भनिन्, ‘दाउराको भारी घोप्ट्याएजस्तो हरेक महिना खातका खात शव खाल्डामा पुरेको देखिन्छ ।’

फरेन्सिक विभागले बाहिरबाट नदेखिने बनाउन अस्पताल हातापट्टिको जग्गामा दाताको सहयोगमा जस्तापाताले बार लगाएको छ ।

‘पहिलोपटक सुन्दैछु, बुझेर निर्णय लिन्छु : स्वास्थ्यमन्त्री

शिक्षण अस्पताल परिसरमै चिहान बनाइएको र अव्यवस्थित रूपमा कंकाल छरिएको विषयमा स्वास्थ्यमन्त्री गगन थापाले आफू बेखर रहेको बताए । उनले भने, ‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु । यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछ ।’

कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ । कैयौँ शवको सनाखत हुन सक्दैन । त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ । तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन । विभागअगाडि खाली ठाउँ भएका कारण सोही स्थानमा शव गाडिँदै आएको छ । त्यो जग्गा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को हो ।

कुनै समय आइओएमले भवन बनाउने भएमा शव गाड्ने विकल्प विभागसँग छैन । –नयाँ पत्रिका दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv