को हुन् ९५ वर्षीय कैदी ? सप्तरी जिल्लाको मलेठ गाविस ३ ठेगाना भएका उनको नाम सूर्यनारायण मण्डल हो । विगतमा लेनदेन किर्ते, सरकारी छाप किर्ते र जालसाज मुद्दामा जेल परेका हुन् । पछिल्लो १६ वर्षयता उनी विरुद्व लगातार यी मुद्दा दायर हुँदै फैसला हुँदै आएको छ । लेखनदासको काम गर्ने सिलसिलामा उनी विरुद्व यत्तिका मुद्दा दायर भएका हुन् । चार छोरा, तीन छोरीका पिता उनका १३ नाति-नातिनी छन् । एक छोरा अपांगता भएका छन् भने एक छोरा विदेशमा, एक छोरा पान पसल र एक छोरा राज मिस्त्रीको काम गर्दै आएका छन् ।
मुद्दाको चाङ उनी विरुद्व ०५७ सालमा उनकै गाउँकी महासुनैरदेवीले किर्ते जालसाज मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा ०५७ साल चैत ६ गते फैसला हुँदा अदालतले रु ३७ हजार ५ सय जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसको एक वर्ष नबित्दै ०५८ सालमा उनी विरुद्व लेनदेन किर्ते र लेनदेन जालसाज सम्बन्धी चार वटा मुद्दा दायर भयो । ती मुद्दाहरुमा अदालतले १८ हजार ७ सय ५० जरिवाना रुपैयाँ र दुई वर्ष कैद, चार हजार ५ सय रुपैयाँ जरिवाना र ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक वर्ष एक महिना कैद तथा ११ हजार ३ सय ७५ रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद फैसला अदालतले सुनाएको थियो । सूर्यनारायणमाथि मुद्दा र कैद-जरिवानाको भारी यतिमै सीमित रहेन । ०६० सालमा दायर लेनदेन किर्तेको दुई वटा मुद्दामा उनलाई एउटामा १५ सय ७२ रुपैयाँ ५० पैसा जरिवाना र दुई महिना कैद सजाय सुनाइयो भने अर्कोमा तीन हजार ७ सय ५० रुपैयाँ जरिवाना र पाँच महिना कैद तोकियो । उनी विरुद्व यस्ता मुद्दा दायर हुने क्रम ०७१ सालसम्म चलेको देखिन्छ । सरकारी छाप दस्तखत किर्ते मुद्दामा मण्डललाई २ लाख ६० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको सजाय सुनाइयो ।
पुरानो फाइल खोल्दा समातिए सूर्यनारायण विरुद्ध १६ वर्षअघिदेखि लगातार मुद्दा दायर हुँदै फैसला हुँदै आए पनि उनी यत्तिका समयसम्म पक्राउ परेका थिएनन् । उनी गाउँमा लुकेर बस्दै आएका थिए । पछिल्लो समय सप्तरी प्रहरीले अदालतको कैद र जरिवाना भुक्तान नगरेका व्यक्तिहरुको फायल खोलेपछि उनी पक्राउ परेका हुन् । ०७३ साउन १४ गते प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेपछि उनी राजविराज कारागारमा कैदी जीवन बिताइरहेका छन् । कारागारका अनुसार, अदालतले जरिवाना तोकेको तीन लाख ५० हजार रुपैयाँ बुझाए उनी आउँदो फागुन ७ गते रिहा हुन सक्नेछन् ।
Post a Comment