Latest Updates :

इन्काउण्टरमा मारिएका घैंटेको पैसामा अनुराग कुँवरको मस्ती


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं, माघ १६ । करिब डेढ वर्षअगाडि प्रहरी इन्काउन्टरमा चर्चित गुण्डानाइके ‘घैंटे’ भन्ने कुमार श्रेष्ठ मारिएपछि उनको पैसामा दर्जनौं व्यक्तिहरुले मस्ती गर्दै आइरहेका छन् । उपत्यकामा वर्षौंदेखि गुण्डागर्दी गरेरै झण्डै आधा अर्बको सम्पत्ति जोड्न सफल भएका घैंटेले विभिन्न व्यक्तिहरुमार्फत बजारमा करोडौं रकम लगानी गरेका थिए । आफ्नो नाममा राख्दा सम्पत्तिको स्रोत खुलाउन गाह्रो हुने देखेपछि आफू निकटका केही व्यक्तिहरुमार्फत विभिन्न क्षेत्रमा घैंटेले गरेको करोडौं लगानी उनको मृत्युपछि लथालिंग भएको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीसँग भएको मुठभेडमा घैंटे मारिएपछि उनको करोडौं रकम प्रयोग गरेका केही व्यक्तिहरु मालामाल भएका छन् । यसरी मालामाल हुने मध्येका एक पात्र हुन् अनुराग कुँवर । उनले कुमार घैंटेसँग तीन करोड रुपैयाँ लिएर विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी गरेका थिए । तर घैंटेको मृत्युपछि सोही तीन करोड रुपैयाँ र त्यसबाट उठेको ब्याजसमेत गर्दा करिब ७ करोडको सम्पत्ति जोड्न सफल भएको उनी निकट व्यक्तिहरु बताउँछन् । काठमाडौं सांग्ले खोला स्थायी घर भएका कुँवर एक सामान्य परिवारका व्यक्ति हुन् । घैंटे इन्काउन्टरमा मारिनुभन्दा पहिले सोही समूहमा आबद्ध भएका अनुराग पछिल्लो समय सामाखुसी क्षेत्रमा हुने गुण्डागर्दी र असुलीका धन्दामा पर्दा पछाडि बसेर कारोबार चलाउँदै आएका छन् ।

केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका अनुरागले पछिल्लो समय केही व्यापारी र केही फिल्मकर्मीहरुलाई मिटर ब्याजमा पैसा लगानी गर्दै आएका छन् । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणालाई मासिक ३० लाख रुपैयाँ ब्याज तिर्ने कागज गराएर १ करोड रुपैयाँ लगानी गरेका थिए । पछि प्रभु शमशेरले उक्त रकम तिर्न नसकेपछि बानेश्वरस्थित पहिले शिवदर्शन चलचित्र मन्दिर रहेको ठाउँमा निर्माणाधीन करोडौंको भवन अनुरागले कब्जा गरेका छन् ।

हाल देखावटी रुपमा बग्गी भाडामा लगाउने व्यवसाय र चलचित्रमा लगानी गर्दै आएका अनुरागले आफ्नो जन्मदिनमा नेपाली चलचित्र उद्योगका हस्तीहरुलाई बोलाएर भोज गरेका थिए । करिब १० लाख रुपैयाँ खर्च गरिएको उक्त भोजमा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, निर शाह, नेपाल प्रहरीका पूर्वएआईजी तथा नायक अर्जुनजंग शाही, हास्य कलाकारहरु किरण केसी, शिवहरि पौड्याल, विल्सन विक्रम राई र संगीतकार चेतन सापकोटालगायत कलाकारसहित थुप्रै गन्यमान्य व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

ललितपुरको झम्सिखेलस्थित एक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त भोजको अन्तिम समयसम्म बसेकी नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिकामाथि मदिराले मात्तिएका अनुरागले यौन दुव्र्यवहार गरेको विषयले चलचित्र क्षेत्रमा हंगामा भएको थियो । मदिराले मात्तिएका उनले नायिकामाथि हातपातको प्रयास गरेपछि ती नायिका मध्यरातमा झगडा गर्दै बाहिरिएको भोजमा सम्मिलित एक चलचित्रकर्मीले नाम उल्लेख नगर्ने शर्तमा सम्वाददातालाई जानकारी दिएका छन् ।

कुनै समय बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने उनले उक्त दिन जन्मदिनको अवसर भन्दै असहाय वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका थिए । कुमार घैंटेको अवैध सम्पत्ति हत्याएपछि उनले ललितपुरको हात्तीवनमा एउटा अपार्टमेन्ट खरिद गरेका छन् । त्यस्तै, हास्यकलाकार निर्मल शर्मा ‘गैंडा’सँग मिलेर नारायणहिटीको उत्तरढोका नजिकै एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । आफूलाई अनुरागमान सिंह कुँवर ‘राजा’ भन्न रुचाउने उनी काठमाडौं सांग्लेखोलाका हुन् ।

करिब १५ वर्ष अगाडि चाबहिलस्थित गोपीकृष्ण चलचित्र नजिकै अनुरागले चलाएको मोटरसाइकलले ठक्कर दिँदा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहका भाइ वरुणबहादुर सिंहको मृत्यु भएको थियो । सो घटनापछि उनी केही वर्ष सिंगापुर पलायन भएका थिए । पछि नेपाल फर्केर घैंटे समूहमा आबद्ध भएका उनी घैंटे इन्काउन्टरपछि चर्चित गुण्डानाइके चक्रे मिलन र प्रविण बलामीको संरक्षणमा अवैध धन्दा सञ्चालन गर्दै आएका छन् ।

सुशासन न्युजको ‘मिटर ब्याजमा पैसा लगानी गर्नुहुन्छ हो ?’ भन्ने प्रश्न स्वीकार गर्दै कुँवरले भने, ‘हो, म ब्याजमा पैसा लगानी गर्छु, केही आफ्ना साथीभाइहरुको पैसालाई ब्याजमा लगाउँदै आएको छु ।’ तर, उनले आफ्नो घैंटेसँग परिचय मात्र रहेको तर पैसा नलिएको दाबी गरे । त्यस्तै, प्रभु शमशेरसँग भने आफ्नो लफडा रहेको उनले स्वीकार गरे ।

२०७२ साल भदौ ३ गते बिहीबारका दिन काठमाडौंको कपुरधारामा महानगरीय अपराध महाशाखाको टोलीसँगको दोहोरो भीडन्तमा मारिएका घैंटेको साथबाट प्रहरीले एक थान भारतीय पिस्तोल बरामद गर्न सफल भए पनि घैंटेले आफ्नो फेसबुकमा सार्वजनिक गरेको गलिल प्रकृतिको अत्याधुनिक हतियार प्रहरीले हालसम्म भेटाउन सकेको छैन । विश्वस्त स्रोतका अनुसार उक्त अत्याधुनिक हतियार घैंटेले इन्काउन्टरमा मारिनुभन्दा पहिले नै अनुरागलाई राख्न दिएका थिए । जब घैंटे प्रहरी कारबाहीमा मारिए, त्यसपछि अनुरागले उक्त हतियार गायब बनाएको सुराक महाशाखाका अधिकारीहरुलाई पनि पुगेको थियो । तर प्रमाण अभावका कारण अनुरागमाथि कारबाही हुन सकेको छैन । यता, कँुवर भने आफूलाई हतियारबारे केही थाहा नभएको बताउँछन् । महाशाखा सम्बद्ध विश्वस्त स्रोतका अनुसार घैंटेसँग रहेको सो हतियारको खोजीमा अहिले पनि अपराध महाशाखाको टोली अनुसन्धानमा सक्रिय छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv