Latest Updates :

एटिएम कार्ड तपाइँकै गोजीमा, पैसा अपराधिको हातमा!


SHARE THIS POST :
-सविन ढकाल/बिजमाण्डू
 
काठमाडौँ । तपाईँलाई तत्काल रकम चाहियो? प्रविधिको प्रयोगले अहिले सजिलो भएको छ। चेक लिएर बैँकमा कुदिरहनु पर्दैन, एटिएम कार्ड बोक्नुस्, नजिकैको कुनै एटिएम बुथमा जानुस्।
त्यहाँ गएर तपाईँ के गर्नुहुन्छ? आफ्नो एटिएम कार्ड बुथभित्रको मेसिनमा छिराउनु हुन्छ। पिनकोड थिच्नुहुन्छ र आवश्यक रकम टाइप गरेपछि झरेको नोट लिएर त्यहाँबाट बाहिरिनु हुन्छ।

एटिएमबाट रकम निकाल्ने यो सामान्य प्रक्रियामा तपाईँ अभ्यस्त भइ सक्नु भएको छ। तर सावधान! तपाईँ अपराधीले थापेको पासोमा पर्नुभएको पनि हुनसक्छ। त्यसो भयो भने तपाईँको खाताबाट धमाधम कसैले रकम निकाल्दै जानेछ।

कसरी?

तपाइँको एटिएम कार्ड र पिन नम्बर तपाईँलाई मात्रै थाहा छ। तर पनि तपाईँको खाताबाट कार्डै प्रयोग गरेर रकम झिकिरहन सम्भव छ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी नै रकम झिक्ने तीन जना विदेशी पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ-  ५२ वर्षीय रोमानियाका नागरिक गीता हुजुम, ४८ वर्षीय लोसिफ मोरारु र ४५ वर्षीय एलेक्स क्रिस्टियान। उनीहरु एटिएमबाट ठगी गर्न कै लागि विदेशबाट टुरिस्ट भिसामा नेपाल आउँथे।

ब्युरो प्रमुख तथा डिआजी नवराज सिलवालका अनुसार पक्राउ परेका तीन जनामात्र भए पनि उनीहरुले ठूलै समूह बनाएर यो धन्दा गरिरहेका छन्।

त्यसो त नेपालमा यसअघि पनि एटिएमबाट ठगी गर्ने विदेशीहरु पक्राउ नपरेका हैनन्। दुई वर्षअघि एक टर्किस र एक बुल्गेरियाली प्रहरी फन्दामा परेका थिए। यो वर्ष भने यस्ता विदेशी पक्राउ परेको यो तेस्रो घटना हो।

अझै डरलाग्दो त अहिले पक्राउ पर्नेहरुले अपनाउने शैलि छ। डिआइजी सिलवाल भन्छन्- ‘उनीहरुको ठगी गर्ने तरिका पहिलेको भन्दा झनै डरलाग्दो देखिएको छ।‘
यसपटक उनीहरुको टार्गेट नेपाली बैँकका नेपाली नै एटिएम प्रयोगकर्ता बनेका छन्। पहिले विदेशी कार्ड टार्गेटमा हुन्थे।


 काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका पर्यटकहरुको भिडभाड हुने एवं सुरक्षा गार्ड तैनाथ नभएका एटिएमबाट कसैले रकम निकालेको र उनीहरुले थापेको पासोमा परेको भए तपाईँको एटिएमको डाटा पनि उनीहरुसम्म पुगेको हुनसक्छ।

कसरी थाप्छन् त उनीहरु पासो?
सुरक्षाकर्मी नभएको एटिएम बुथमा पस्छन् र तपाईँले पिनकोड थिचेको दृश्य रेकर्ड हुने गरी गोप्य पिनहोल क्यामेरा टाँस्छन्। एटिएम बुथको कार्ड छिराउने स्लटमा इलेक्ट्रोनिक कार्ड रिडिङ डिभाइस जडान गर्छन् र बाहिर बसेर 'मुर्गा'को शिकारमा ढुक्छन्।

अब कोही त्यो एटिएम बुथमा आयो भने पक्कै पनि उसले कार्ड स्लटमा छिराउँछ र पिनकोड थिच्छ। यसरी थिचेको पिनकोड गोप्य क्यामेराले खिचिरहेको हुन्छ। तपाईँको कार्डको म्याग्नेटिक स्ट्राइपमा भएको डाटा उसले मेसिनमा छिराएको नक्कली कार्ड स्लटले कपी गरिसकेको हुन्छ।

पासोमा परिसके पनि पत्तै नभएको ग्राहक एटिएम बुथबाट बाहिरिन्छ। त्यसपछि भित्र छिर्छन् पासो थाप्नेहरु। उनीहरुले गोप्य क्यामेरा र कार्ड रिडिङ डिभाइस निकालेर लान्छन्। त्यसपछि कार्डको म्याग्नेटिक स्ट्राइपमा स्क्यान गरी रेकर्ड गरिएका ग्राहकको गोप्य बैंक विवरणलाई कार्ड स्किमरको सहायताले खाली कार्ड (ब्ल्याङ्क कार्ड) मा ट्रान्सफर गर्छन्।
त्यसपछि त्यो खाली कार्ड दुरुस्तै तपाईँको गोजीमा रहेको एटिएम कार्डसरह हुन्छ। कार्ड त तयार भयो तर रकम निकाल्न आवश्यक हुन्छ पिन नम्बर। त्यो पनि गोप्य क्यामेराले खिचेको भइहाल्छ। त्यसो भएपछि अब तपाईँको एटिएम कार्ड तपाईँको गोजीमा रहे पनि र तपाईँको पिन नम्बर तपाईँलाई मात्र थाहा भएको जस्तो लागे पनि तपाईँको खाताबाट रकम निकाल्न सम्भव हुन्छ।

यसरी निकालिएको रकम (एटिएमबाट नेपाली रुपैयाँमात्र निस्कन्छ) डलर र युरोमा सटही गरी हुन्डी गरेर वा लगेजमै राखेर विदेश पठाउने एवं त्यो सम्भव नभएमा नेपालमा नै महँगो सामान किन्ने गरेको डिआइजी सिलवाल बताउँछन्।
तपाईँको एटिएम कार्ड कति जोखिममा?

सिलवाल सबै प्रयोगकर्तालाई बेलाबेलामा एटिएम कार्डको पिनकोड परिर्वतन गर्ने सल्लाह दिन्छन्। के तपाईँको पिनकोड पनि यस्तो गिरोहको हातमा पुगेको हुनसक्छ त?


नेपाल राष्ट्र बैँकको साउन मसान्तसम्मको तथ्याङ्क अनुसार डेबिट कार्ड प्रयोग गर्नेहरुको संख्या साढे ४६ लाख छ। तर देशभर एटिएम बुथको संख्या भने १ हजार ९ सय ८ मात्रै छ। तीमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै छन्।

 प्रहरीले दिएको जानकारी अनुसार यी विदेशीहरुले बैँकको सर्भर ह्याक गरेर एटिएम कार्डको विवरण लिएको नभई एटिएम बुथबाट लिएको हुनाले साढे ४६ लाख कार्डधनीहरु सबै आतंकित हुन जरुरी छैन। सावधानीका लागि पिनकोड बेलाबेलामा परिवर्तन गर्नु भने ठीकै हुन्छ।

सिलवालका अनुसार काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका पर्यटकहरुको भिडभाड हुने र सुरक्षा गार्ड तैनाथ नभएका एटिएमहरुमा उनीहरुले पासो थापेका थिए। ती स्थानमा रहेका एटिएमबाट उनीहरुले पासो थापेका बेला  रकम निकाल्नुभएको भए तपाईँको कार्डको विवरण चोरी भएको हुनसक्छ।

तपाईँले एटिएम बुथबाट कारोबार गर्ने क्रममा सही पिन कोड राख्नुभएको छ र खातामा पर्याप्त ब्यालेन्स पनि छ तर पनि मेसिनबाट रकम निस्केको थिएन भने तपाईले नक्कली कार्ड स्लटमा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुनसक्छ। त्यस्तो भएको भए आफ्नो खाताको व्यालेन्स चेक गरि हाल्नुहोस्।

एटिएमको सुरक्षामा प्रश्न
नेपाल राष्ट्र बैँकले सम्पूर्ण बैँकलाई आफ्ना एटिएम बुथहरुमा प्रवेश गर्नेको पिन नम्बर इन्टर गर्ने बाहेक सबै क्रियाकलाप स्पष्ट रुपमा देखिने गरी खिच्ने सिसिटिभी राख्ने चार वर्षअघि नै निर्देशन दिएको थियो।

अहिलेको घटनाले त्यस्ता सिसिटिभीको काम के हो भन्ने प्रश्न उठेको छ। कसैले एटिएम बुथभित्र प्रवेश गरी लामो समय बिताई गोप्य क्यामेरा फिट गर्नेदेखि कार्ड स्लटमा कार्ड रिडिङ डिभाइस जडान गर्ने र झिक्ने काम गर्दासम्म पनि बैँकलाई कसरी पत्तै भएन? बारम्बार कसरी उनीहरुले काठमाडौँको व्यस्त र चहलपहल हुने स्थानका एटिएमहरुमा जालो थाप्न भ्याए?
डिआइजी सिलवाल एटिएम बुथमा प्रवेश गरेपछि गोप्य क्यामेरा जडान भए/नभएको, कार्ड स्लटमा डेटा चोर्ने डिभाइस भए/नभएकोमा सचेत हुन सल्लाह दिन्छन्। एटिएमबाट रकम झिक्ने बित्तिकै मोबाइलमा एसएमएस अलर्ट आउने बनाउन र त्यसमा ध्यान दिनुपर्ने पनि सुझाव उनको छ।

राष्ट्र बैँकको निर्देशनमा ग्राहकहरुलाई यस्ता फ्रडहरुबाट बच्ने उपाय र पहिचान गर्ने उपायका बारेमा सचेत गराउनु पर्ने निर्देशन पनि दिएको छ। तर यसरी विदेशीले गरिरहेका आक्रमणबारे बैँकहरुले ग्राहकलाई पर्याप्त सूचना दिएका छैनन्। तपाईँको कार्ड सुरक्षित छ कि छैन, सुरक्षित कसरी बनाउने भनी जानकारी दिनुपर्ने दायित्व पनि बैँककै हो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv