Latest Updates :

शिशु चोरिएकी सुत्केरीको अवस्था नाजुक


SHARE THIS POST :

वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु फेला पर्न नसक्दा आमा आशादेवी पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। वीरगन्ज १ छपकैयाकी आशादेवीले अस्पतालमा शुक्रबार बिहान पौने ११ बजे जन्माएको नवजात शिशु (छोरा) एक अपरिचित महिलाले शुक्रबार दिउँसो डेढ बजे अस्पतालको बेडबाटै चोरकी थिइन्।

जन्मिएको दुई घन्टा पनि नबित्दै शिशु चोरी भएपछि सुत्केरी आशा अस्पतालको बेडमा रुँदै बसेकी छन्। काखको शिशु हराएपछि आशादेवीले शुक्रबारदेखि केही खाएकी छैनन्। ‘छोरा हराएपछि उसले केही पनि खाएकी छैनन्’, आशादेवीका श्रीमान् मुकेश पासवानले भने, ‘उनको अवस्था देख्दा अस्पतालकै बेडमा मर्ने हुन् कि भन्ने चिन्ता छ।’
केही कुरा खान दिए मिल्काइदिने र लगातार ‘मेरो छोरा ल्याइदेऊ’मात्र भन्ने गरेको उनले बताए। ‘पुलिसले बालक खोजी भइरहेको छ भन्छ’, उनले भने, ‘फेला पर्छ भन्ने आशा छ।’ अस्पतालको बेडबाटै बालक चोरी भएपछि अस्पतालमा शिशुका आफन्त र गाउँलेले शनिबार बिहानदेखि प्रदर्शन गरेका थिए। प्रहरी र अस्पताल प्रशासनले बालक खोजी गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शन स्थगित भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा शनिबार भएको वार्तामा अस्पताल प्रशासन र पीडित पक्षबीच पाँचबुदे सहमति भएपछि दिउँसो तीन बजेदेखि प्रदर्शन स्थगित भएको हो।

चोरी भएको शिशुको खोजीका लागि प्रहरी र अस्पताल प्रशासन गम्भीर भएर लाग्ने, तीन दिनपछि प्रहरीले अनुसन्धानमा भएको प्रगतिबारे पीडित पक्षलाई जानकारी दिने, अनुसन्धानका क्रममा प्रहरीले अस्पतालका कर्मचारी नियन्त्रणमा लिन जाँदा कुनै पनि पक्षबाट अवरोध र दबाब नदिने, अस्पतालका कर्मचारी दोषी पाइए तिनलाई तत्काल निलम्बन गर्ने, अस्पतालको सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने, अस्पतालमा जडित सीसीटीभी क्यामेरा मर्मत गरी सोमबारदेखि सुचारु गर्ने सहमति भएको वार्तामा सहभागी पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

शिशु चोरीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शुक्रबार साँझ नै अस्पताल परिसरबाट दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार बेलुकी पनि प्रहरीले अस्पतालका आठजना स्वास्थ्यकर्मी र कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर मध्यरातसम्म सोधपुछ गरेको थियो।

सुत्केरी व्यथा लागेपछि शुक्रबार बिहान सात बजे नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति कक्षमा भर्ना भएकी आशादेवीले बिहान १० बजेर ४० मिनेट जाँदा छोरालाई जन्माएकी थिइन् । बिहान साढे ११ बजे नर्सले प्रसूति कक्षबाट आशादेवीलाई नवजात शिशुसहित अस्पतालको गाइनो विभागमा लगेर ६५ नं बेडमा राखेका थिए।

आशादेवी र शिशुको हेरचाहका लागि सासु रमावती देवी पासवान कुरुवा बसेकी थिइन्। त्यसबेला आएकी एक अपरिचित महिलाले शिशुकी हजुरआमा रमावतीदेवीसँगै गफ गर्दै बेडमा रहेको शिशुलाइ खेलाउन थालिन्। सुत्केरी आशादेवी र बच्चालाई पाउरोटी र दूध खुवाउनुपर्छ भन्दै ती अपरिचित महिलाले ५० रुपैयाँ दिएर दूध र पाउरोटी किनेर ल्याउन बच्चाकी हजुरआमा रमावती देवीलाई अस्पताल बाहिर पठाइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ। दुध र पाउरोटी किन्न बच्चाकी हजुरआमा रमावती देवी अस्पतालबाहिर निस्किएका बेला ती महिला बच्चालाई लिएर फरार भएकी थिइन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv