Latest Updates :

पहिलो विश्वयुद्धमै गोर्खाली वीरता देखेपछि जर्मन सम्राट कैजर विलियम (द्वितीय)ले ‘म मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर डर मान्दिनँ तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ’ भनेको कहावत छ ।


SHARE THIS POST :

- सीताराम बराल
चैत ०३८ अर्थात् अप्रिल १९८२ । दक्षिण अमेरिकाको फकल्यान्ड टापुलाई नियन्त्रणमा लिन बेलायत र अर्जेन्टिनाबीच निर्णायक संघर्ष सुरु भयो । मुख्य बेलायती भूमिबाट आठ हजार माइल टाढा रहेको यो द्वीप कब्जामा लिन बेलायतले आफ्नो जल तथा वायु सेनाका दुईवटा बटालियन पठायो । तर, टापु कब्जा गरी बसेको अर्जेन्टिनी सेनाको क्याम्प पोर्ट स्ट्यान्लीमाथि गोरा सैनिकले कब्जा जमाउन सकेनन् । ज्यान गुमाउने ब्रिटिस सैनिकको संख्या बढ्दो थियो । कठिन स्थिति आकलन गर्दै बेलायतले एक बटालियन गोर्खा सैनिकलाई त्यहाँ पठाउने निर्णय गर्‍यो । जब गोर्खा सैनिक फकल्यान्ड पुगे, युद्धको नतिजा फरक आयो ।

‘आयो गोर्खाली !’ अन्यत्रका युद्धमा झैँ फकल्यान्डमा पनि ठ्याक्कै यसै भन्दै जब अर्जेन्टिनीमाथि गोर्खाहरूले धावा बोले, सुरुङभित्रबाट लडिरहेका अर्जेन्टिनी सैनिक बाहिर निस्केर धमाधम आत्मसमर्पण गर्न थाले । यसको कारण थियो, गोर्खाली फौज फकल्यान्ड पठाउनुअघि बेलायतले बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत गोर्खा सैनिकबारे गरेको प्रचार । युद्धमा गोर्खा सैनिकलाई पठाउने निर्णय गर्नासाथ ब्रिटिस सरकारले यस्तो प्रचार गरेको थियो, ‘खुकुरीका भरमा पनि एक्लै सयौँसँग लड्न सक्छन् गोर्खाली । तिनले हार्न जानेका छैनन् । तिनीसँग लड्नु भनेको व्यर्थमा ज्यान गुमाउनु मात्र हो ।’
दुईवटा विश्वयुद्धमा युरोपदेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि बर्मासम्म र त्यसपछिका मलाया, ब्रुनाईलगायतका युद्धमा गोर्खाली (नेपाली)ले जस्तो वीरता प्रदर्शन गरे, त्यसबारे सुनेका कारण पनि गोर्खा फौज पुगेपछि अर्जेन्टिनी पछि हटेका थिए सायद । पहिलो विश्वयुद्धमै गोर्खाली वीरता देखेपछि जर्मन सम्राट कैजर विलियम (द्वितीय)ले ‘म मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर डर मान्दिनँ तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ’ भनेको कहावत छ । पहिलो र दोस्रो विश्वयुद्धमा १३ जना गोर्खा सैनिकले सर्वाेच्च ब्रिटिस युद्धपदक भिक्टोरिया क्रस पाएको कुरा यहाँनिर स्मरणीय छ ।
दुई सय वर्षअघि आफ्नो देशको रक्षाका लागि ब्रिटिसविरुद्ध लडिएका नालापानीदेखि काँगडा–जैथकसम्मका लडाइँ होस् वा पहिलो र दोस्रो विश्वयुद्धमा होस् वा मलाया युद्ध होस् या बु्रनाईका सुल्तानविरुद्धको विद्रोह दबाउन गरिएको युद्ध नै किन नहोस्, आफ्नो ज्यानभन्दा वीरता र विजयलाई प्राथमिकता दिँदै लडेका कारण विश्वव्यापी रूपमा वीरता र सुरक्षाका लागि गोर्खाली ब्रान्ड स्थापित हुन पुगेको बताउँछन्, पूर्वसांसदसमेत रहेका पूर्वब्रिटिस गोर्खा मेजर दीपकबहादुर गुरुङ । भन्छन्, “वीरताका कारण स्थापित यो ब्रान्डलाई आर्थिक समृद्धिका लागि उपयोग गर्न सकिन्छ ।”
युद्धमा वीरता र पछिल्लो समय केही मुलुकको सुरक्षामा गोर्खालीले आर्जन गरेको विश्वास एवं इमानदारीका कारण नेपालीको प्रयोग अब व्यक्तिगत र संस्थागत सुरक्षाका लागि गर्न सकिने स्थिति बनेको छ । भरपर्दाे सुरक्षाका लागि दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाई र सिंगापुरले दशकौँदेखि गोर्खालीको प्रयोग गर्दै आएका छन् । जस्तो : ब्रुनाईमा ब्रिटिस गोर्खा रेजिमेन्ट अन्तर्गत एक हजारको संख्यामा रहेका ब्रिटिस–गोर्खा सैनिकले सुल्तान र महत्त्वपूर्ण स्थानलाई सुरक्षा दिन्छन् । गोर्खा रिजर्भ युनिट नामक दुई हजार संख्यामा रहेको अर्काे फोर्सले प्रहरीको काम गर्छ ।
सिंगापुरमा चाहिँ गोर्खा कन्टिनजेन्ट नामक सुरक्षा बलले उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, जेल र सरकारी कार्यालयमा पनि सुरक्षा दिँदै आएको छ । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि सिंगापुरका संस्थापक नेता ली क्वान युको व्यक्तिगत सुरक्षाका लागि पनि गोर्खालीलाई खटाइएको थियो । यस अलावा हङकङका अर्बपति ली का सिङले आफ्नो अंगरक्षक र परिवारको सुरक्षाका लागि ४० जना गोर्खाली राखेका छन् । यसै गरी मकाओका धेरैजसो धनाढ्यले पनि गोर्खालीलाई नै अंगरक्षक राखेका छन् । यसबाट के देखिन्छ भने उच्च पदस्थ व्यक्तिहरूको व्यक्तिगत र पारिवारिक सुरक्षाका लागि गोर्खा ब्रान्डलाई मज्जासँग प्रयोग गर्न सकिने रहेछ ।
परम्परागत रूपमा विदेशी सेनामा भर्ती हुने कुरा अहिले क्रमिक रूपमा असान्दर्भिक हुँदै गइरहेको छ र भाडाका सैनिक बनिरहने विश्व परिस्थिति पनि छैन । त्यसमाथि अहिलेको विश्वमा सुरक्षाको परिभाषा सैन्य गतिविधिसँग मात्रै सीमित छैन र यसका अनेकौँ आयाम छन् । संसारभर सुरक्षाका निजी संरचना निर्माण भएका छन्, जुन पूर्ण व्यावसायिकसमेत मानिन्छन् । उदाहरणका लागि गएको चैत महिनाको अन्तिम साता भएको इन्डियन प्रिमियर लिग (आईपीएल)मा केही भारतीय खेलाडीको सुरक्षाको जिम्मा पूर्वसैनिक पृष्ठभूमिका नेपालीले पाएका थिए । तिनमा पाँच जना सेनाका पूर्वअधिकृत र दुई जना गैरसैनिक पृष्ठभूमिका थिए । निजी सुरक्षाको जिम्मा लिने बहुराष्ट्रिय कम्पनी ग्रुप फोर सेक्युरिटिज (नेपाल)का प्रबन्ध निर्देशक पूर्वमहासेनानी सुन्दरप्रताप राना भन्छन्, “सुरक्षाका लागि नेपाली सुपरिचित छन् र माग पनि बढ्दो छ । यो सम्भावनालाई नेपालले पक्रन सक्नुपर्छ । यसबाट व्यक्तिगत रूपमा नेपाली र मुलुकलाई पनि आर्थिक लाभ हुन सक्छ ।”
गुर्खा वा गोर्खा ब्रान्ड अन्तर्राष्ट्रिय रूपमा आफैँ स्थापित छ, परिचित छ । यसलाई थप चिनाइरहनुपर्ने जरुरत छैन । तर, सुरक्षा क्षेत्रमा विश्वास आर्जन गरे पनि यो विश्वास र ख्यातिलाई पुँजीकृत गर्न भने सकिएको छैन । बरू उल्टै नेपालको निजी क्षेत्रको सुरक्षाका लागि बहुराष्ट्रिय कम्पनीहरू आएका छन्, जसले यताबाट आम्दानीको हिस्सा लगिरहेका छन् ।
जबकि, शदीऔँदेखि स्थापित र सुरक्षाको पर्याय बनिसकेको हाम्रो पहिचानलाई आर्जनको प्रमुख स्रोत बनाउन सकिने प्रचूर सम्भाव्यता छ । यसका लागि स्वयं नेपाल सरकार, नेपाली व्यवसायी तथा उद्यमीहरू अग्रसर हुन सक्छन् । यही पहिचानका आधारमा अन्तर्राष्ट्रिय तहमा व्यापार उद्यम हुन सक्छन् । परिणाम, अदक्ष जनशक्ति विदेश पठाएर गरिरहेको थोरै आम्दानीको साटो यसले नेपाल र नेपालीको समृद्धिको नयाँ ढोका उघार्न सक्छ । कुवेतका लागि पूर्वराजदूत मधुवन पौडेल भन्छन्, “गोर्खा नाम ब्रान्डका रूपमा स्थापित भइसकेको छ, अब यसबाट साँच्चिकै लाभ लिने योजना राज्यस्तरबाटै बनाइनुपर्छ ।”
प्रकाशित: कार्तिक २६, २०७३



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv