Latest Updates :

अरबमा आफुलाई बेच्ने दलाललाईनै जिल खुवाउदै यसरी फर्किन् नवलपरासीकी युवती(उनै संगका मन रुवाउने कुरा )


SHARE THIS POST :
 नवलपरासी, माघ- १९ ,  नवलपरासीको रामनगरकी २५ वर्षे दीपा परियार (नाम परिवर्तन) र उनकी बहिनीलाई बुटवलको मजुवाकी सुकमाया परियारले दुवई लैजान भारतको बाटो हुँदै श्रीलंका पुर्‍याइन् । तर बहिनीको उमेर नपुगेको भन्दै श्रीलंकाको अध्यागमनले दिदी बहिनीलाई नै नेपाल फर्काइदियो । एक महिना पासपोर्ट अध्यागमनमै रोकियो । रोकिएको पासपोर्ट हात परेपछि सुकमायाले कि श्रीलंकासम्म पुग्दा र फर्कदाको पैसा तिर कि विदेश जाउ भनेर अप्ठयारोमा पारेपछि दीपा दुवई जान तयार भइन् । दुवई जाने बेलामा नवलपरासीको रामनगरकी दीपालाई त्यहाँ मन्छे बेचिन्छन् भन्ने कल्पना पनि थिएन । तर उनी आफैं बेचिइन् । त्यो पनि वैदेशिक रोजगारीका नाममा । उनलाई नेपाली दलालले १२ हजार ५ सय दिनारमा दुवईको एजेन्टलाई बेचे । दीपालाई सुकमायाले नवलपरासीको महेशपुर नाका हुँदै भारत पुर्‍याइएकी थिइन् । उनलाई भारतको बाटोबाट विदेश जानु अवैधानिक हो भन्ने थाहा थियो । त्यसैले जान्न पनि भनिन् । तर सुकमायाले नेपालबाट जान मिल्दैन, छिटो गए राम्रो काम अनि छिटो पैसा कमाउन पाइन्छ भनेर लोभ देखाइन । सुकमायाले तिमी त मेरै बहिनी जस्तै त हौ नि जे जस्तो परे पनि म बेहोरिहाल्छु नि भनेपछि दीपाको मन पग्लियो । त्यसपछि त जसो जसो बाहुन बाजे उसो उसो स्वाह भने जस्तै सुकमायाले जे जे भनिन, त्यही नै मान्दै दीपा उनकै पछि लागिन् । ‘उसको श्रीमान भारतको बनारसमा रैछ ऊ भएसम्म पुर्‍याइदिए अनि त्यहाँ भन्दा उता उसकै श्रीमानले लग्यो’ दीपाले भनिन् । भारतको बनारसमा भेटिएका सुकमायाका श्रीमानले दीपालाई एक महिना अघि दुवई पु¥याएका हुन् । पहिलो दिन दुवई पुग्दा अमेरिका पनि यस्तै होला जस्तो लाग्यो दीपालाई । एअरपोर्टमा अरबी बोल्ने एक जना व्यक्ति लिन आए । उनले खाद्दामा (घरेलु कामदार महिलालाई राख्ने ) अफिस लाने भन्दै आफ्नै घर लगे । कम्पनीमा पु-याउने भनेर लगे पनि अरबी बोल्ने मान्छेले एक महिनासम्म दीपालाई सारजाहामा रहेको आफ्नै घरमा राखे । ‘१५ तला माथिको त्यो बसाई थुनुवाको जस्तै थियो’ दिपा सम्झिन्छिन् ‘केही भनौं भने यातना पो दिने हो कि भन्ने डरले केहि बोलिन ।’ घरको सबै काम गर्नुपर्ने दीपाले दिनमा दुई वटा रोटी भन्दा अरु केही खान पाइनन् । ‘केही काम बिग्रियो भने हराम भन्दै गाली गथ्र्यो’ दीपाले भनिन् । दुवइको एजेन्टले आफ्नै घरमा घरेलु काम गर्न लगाउँदा खाद्दामा अफिस लगेपछि त राम्रो काम पाइहाल्छु नि भन्ने सोच्दै महिना दिन बिताइन दीपाले । तर मोलमोलाई नमिलेर आफूलाई काममा नपठाएको भन्ने सुइँको मात्र होइन दीपाले त आफूलाई सिरिया पठाउन लागेको पनि पत्तो लगाइन् । त्यो अरबीले टेलिफोनमा अर्को मान्छेलाई १२ हजार ५ सय दिनारमा किनेको भनेको सुनेपछि पैताला मुनिको जमिन भास्सिए जस्तै भयो । सबै कुरा थाहा पाएपछि दीपाले आफू सिरिया नजाने अडान लिइन् । त्यो अरबीले किर्गिस्तान जानुपर्छ भन्दै प्रक्रिया पनि सुरु भइसकेको बतायो । उनले कुनै पनि हालतमा किर्गिस्तान जान्न भनेपछि त्यो अरबीले अर्कै पासो थाप्यो । र उनलाई कुवेत लैजाने तयारी गर्न थाल्यो । त्यो व्यक्तिले दीपालाई २५ हजार दिनारमा कुवेतमा बेच्न लागेको थियो । तर त्यो कुरा पनि थाहा पाइन् । त्यसपछि भने नेपालको एजेन्टलाई फोन गर्छु भनेर ढाँटेर दीपाले घरमा फोन गरिन् । घरमा आमालाई आफू एक पटक बेचिइसकेको र फेरि बेचिन लागेको सुनाइन् । तर सबै कुरा सुनाई नसक्दै फोन काटियो । ‘त्यति बेला त मैले अब बाँचेर नेपाल फर्किन्छु भन्ने नै आशा मारेको थिएँ’ दिले भनिन् ‘जीवनको अन्त्य नै भए जस्तै लाग्यो, के गर्ने के नगर्ने मन सोच्न पनि सकेको थिइन ।’ तर त्यो पीडा अरबीसँग देखाइनन् उनले । दीपाले कुवेत जान पाउँदा खुसी भएको नाटक गर्नुभयो । उनले यो खुसीको खबर परिवारलाई सुनाउँछु भन्दै स्कूल पढ्दाकी साथीलाई फोन गरेर आफूलाई कुवेतमा बेच्न लागेको भन्दै सहयोगको आग्रह गरिन् । ‘एक महिनामा सिकेका केही शब्द बोलेर सुरुमा कुवेत जान पाउँदा खुशी छु भनेर झुक्याएँ अनि पछि नेपालीमा आफ्ना समस्या भनें’ उनले आफूले लगाएको जुक्ति सुनाइन् । सबै कुरा रेकर्ड गरेर उनकी साथी रामनगरमा रहेको दीपाको घरमै पुगिन् । तर दीपाका बुवाआमासँग छोरीलाई उद्धार गर्ने कुनै उपाय थिएन । त्यसैले उनका बुवाआमा प्रहरी कार्यालय हुँदै परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुगे । सूचना केन्द्रले प्रहरीलाई नै दीपाको उद्धार गर्न भनेपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दर्ता भयो । प्रहरीले दीपालाई भारत पु¥याउने दलाल सुकमायालाई पक्राउ पूर्जि जारी गर्‍यो । र यसको बोधार्थ काठमाडौंको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पनि पठाएर कारवाही अगाडी बढायो । नेपालमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएकै दिन दीपालाई दुईबाट कुवेत उडाएको थियो दलालले । तर मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट नमिलेको भन्दै कुवेतको अध्यागनमले एयरपोर्टबाटै दीपालाई दुवई नै फर्काइदियो । एजेन्टले रातारात नक्कली कागजात बनाएर पठाउन खोजे पनि सकेन । नेपालमा प्रहरीले पक्राउ पूर्जि जारी गरेको थाहा पाएपछि सुकमायाले पनि भारतमा रहेका श्रीमानलाई फोन गरेर दीपालाई नेपाल नफर्काए आफू पक्राउ पर्ने बताइन् । दुवईको एक महिने भिसाको म्याद त्यही दिन सकिएकाले अरबी एजेन्टले कुवेत पठाउने योजना फेर्दै उनलाई नेपाल पठाइदियो । दलालमार्फत बेचिएकी दीपा हप्ता दिनको पहलमा नेपाल फर्किन सफल भइन् । त्यो पनि आफूलाई किनेर लाने अरबको एजेन्टलाई नै जिल खुवाउँदै । आफू फर्किन सफल भएपनि उनीसँगै गएकी अर्की महिला भने अझै दुवईमै छिन् । दुवइको एजेन्टले भारत र फिलिपिन्सका युवतीलाई ७ हजार दिनार र नेपालीलाई १२ हजार ५ सय दिनारमा किन्ने गरेको तितो यथार्थ पनि उनले सुनाइन् । घर फर्किएपछि दीपा आफूलाई नेपाल फर्काउन सहयोग गर्ने सूचना केन्द्रलाई धन्यवाद दिन आमालाई लिएरै केन्द्रमा पुगिन् । ‘जिउँदै आउँछु भन्ने आशै मरेको थियो तर सहि सलामत घर फर्किन ….’ वाक्य टुँगिन नपाउँदै दीपाका आँखा रसाए । सँगै आएकी आमाले पनि छोरी सुरक्षित रुपमा घर फर्किन पाएकोमा खुशीको आँसु झार्दै अब नेपालमै दुख गर्ने तर छोरीलाई विदेश नपठाउने बताइन्

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv