Latest Updates :

२८ देशको सामु यसरी भयो नेपाली सेनाको हवाई क्षमताको प्रशंसा


SHARE THIS POST :

नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल मिलिट्री हेलिकप्टर कन्फरेन्स’मा आफ्नो हवाइ क्षमताबारे विश्वलाई जानकारी दिएको छ ।


लन्डनस्थित रक्षासम्बन्धी काम गर्ने एक संस्था ‘आइक्यूपीसी’ले ३१ जनवरीदेखि गरेको तीनदिने सम्मेलनमा नेपाली सेनाले आफ्नो हवाइ क्षमता, प्राकृतिक प्रकोप व्यवस्थापनमा हवाइ रणनीति, क्षमता अभिवृद्धिबारे भावी योजना, महाविनाशकारी भूकम्पका बेला सैनिक हवाई महानिर्देशनालयले खेलेको भूमिका आदिबारे जानकारी दिएको हो । नेपाली सेनाका बलाधिकृत रथी बलदेव राज महत, सहायक रथी धनेन्द्रबहादुर शाह (पाइलट) र कर्णेल सन्जीव घिमिरेले गत १ फेब्रुअरी बिहान विभिन्न प्रस्तुति दिएका हुन् ।

सम्मेलनमा सहभागी नारायण अधिकारीका अनुसार, रोचक पक्ष के थियो भने यस सत्रमा कार्यक्रमको सभापतित्व गरिरहेका पल एडवार्डले नेपाली सेनाको विशेष प्रस्तुति हुने भन्दै अन्य सहभागी देशलाई भन्दा पहिले नै १० मिनेट बढी समय दिइएको जानकारी गराएका थिए । उपस्थित अन्य देशका सहभागीले आयोजक संस्थासमक्ष नेपाललाई अर्को १० मिनेट समय थप्न आग्रह गरे । पल एडवार्डले नेपाललाई पुन: अर्को १० मिनेट समय दिंदै नेपाली डेलिगेट्स सबैलाई स्टेजमा एकैपटक आउन अनुरोध गरे । नेपाली प्रतिनिधिमण्डल स्टेज पुगेपछि सहभागीले भूकम्पपछिको उद्दार र पुनर्निमार्णबारे जिज्ञासा राखेका थिए । बेलायती सेनाका एक कर्णेलले नेपाली सेनाको खुलेरै प्रशंसा गरे । न्यूजिल्यान्ड, पाकिस्तान, क्यानडा लगायत देशका सहभागीले नेपाली सेनाबाट प्राकृतिक प्रकोप उद्दारसम्बन्धी अनुभव सिक्न आफ्नो देश उत्सुक रहेको भन्दै नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

२८ देशका १६० बढी प्रतिनिधि सहभागी उक्त १६ औं कन्फरेन्सको मुख्य उद्देश्य सैनिक प्रयोजनका हेलिकप्टरहरुको आधुनिकीकरणमा विशेष जोड दिंदै प्राविधिक र सैद्धान्तिक ज्ञान
बाँड्नु थियो । उक्त अवसरमा सैनिक प्रयोजनका हेलिकप्टर उत्पादन गर्ने विश्वका थुप्रै कम्पनीका प्राविधिकहरुले समेत सैनिक हेलिकप्टरको प्राविधिक र सैद्धान्तिक पक्षबारे प्रस्तुति दिए । सम्मेलनमा नेपाली सेना र आयोजक संस्थाबीचको समन्वय लन्डनस्थित सैनिक सहचारी कर्णेल प्रदीपजंग केसीले गरेका थिए ।

कार्यक्रममा न्यूजिल्याण्ड हाइकमिसन, लन्डनमा कार्यरत कर्णेल लिजाले शान्ति सम्झौतामा नेपालले खेलेको भूमिकाबारे प्रशंसा गरेकी थिइन् । लिजा केही साताअघि लन्डनस्थित नेपाली दूतावासमा भएको ‘शान्ति सम्झौतापछि नेपाली सेनामा माओवादी छापामारको समायोजन’ शीर्षकको एक कार्यक्रममा समेत सहभागी थिइन् ।

पछिल्ला वर्ष विश्वका शक्तिशाली देशहरुको भारी बजेट रक्षामा खर्च हुँदै आएको छ । अमेरिका, चीन, बेलायत, रुस, फ्रान्स र भारतको रक्षा बजेट हरेक वर्ष आकासिंदो छ । सन् २०१५ मा अमेरिकाले झण्डै ६ सय बिलियनको हाराहारीमा रक्षा बजेट घोषणा गरेको थियो । यता, नेपालको उत्तरी छिमेकी देश चीन सैन्य संख्यामा भारी कटौती गर्दै सेनाको संख्याभन्दा आधुनिकीकरणमा जोड दिइरहेको छ । बढ्दो भूराजनीतिक असरले गर्दा स-साना देशहरु पनि सैन्य शक्तिको आधुनिकीकरणतिर जोड दिन थालेका छन् ।

सैन्य संख्यामा भन्दा पनि आधुनिक हातहतियार, मानवबिहीन ड्रोन, आधुनिक लडाकु हेलिकप्टर र सैन्ययुद्ध सामाग्रीहरुको किनबेच अहिले बढ्दो छ ।

कान्तिपुरबाट
२२ माघ २०७३


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv