काठमाडौं, असार २७ –
महिला सशक्तिकरण र प्रजातान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधानको सोमबार जन्म जयन्ती मनाईंदैछ । विक्रम संवत १९८४ असार २७ गते काठमाडौंको असनमा जन्मनुभएकी प्रधानको २०७१ साल असोज ६ गते निधन भएको थियो । उहाँले महिलाले पनि पुरुष सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीति सुरु गर्नुभएको थियो । विभिन्न समयमा विभिन्न भूमिकामा रहनुभएकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाममोर्चाको संयोजक हुनुहुन्थ्यो । प्रजातन्त्र आएपछि पनि उहाँ लामो समयसम्म राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
सहाना प्रधानको जन्म काठमाडौंको अतिव्यस्त टोल असन, त्यौडको मध्यमवर्गीय व्यापारी-परिवारमा बुवा शंकरलाल प्रधान र आमा रम्भा प्रधानको कोखबाट विसं १९८४ साल असार २७ गते भएको हो। उहाँ दुई वर्षको हुँदा मातृस्नेहबाट वञ्चित हुनुभयो । त्यसको दुई वर्ष नबित्दै उहाँ हजुरआमा र बाबाका साथ बर्मा जानुभयो । सात कक्षाको अध्ययन पूरा गरी उहाँ विसं २००० सालमा काठमाडौं फर्किनुभयो। २००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुनुहुन्थ्यो। उहाँ गिरफ्तार हुनुभयो। १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्कुनुभयो । महिलालाई शिक्षा दिलाउन १५ दिन आमरण अनसन बसेपछि तत्कालिन प्रधानमन्त्री पद्म शमशेर सहानासित झुके र महिलाले पनि पढ्न पाउने आश्वासन दिए । २००५ मा भाइसँगै लखनउ गएर आईए पढेपछि २००७ सालमा नेपाल फर्कनुभयो ।
त्यसपछि काठमाडौंको कन्यामन्दिर, शान्ति निकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो । २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बी.ए.को ७२ जना परीक्षार्थीमध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो । त्यसै वर्ष वर्ष उहाँको विवाह पुष्पलालसँग भयो। पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएकाले २०१३ सालपछि पारिवारिक जिम्मेवारी बढ्यो। २०१७-०३५ सालमा उहाँको राजनीति प्रायः मृत अवस्थामा रह्यो। २०३५ साउन ७ (सन् १९७८ जुलाई) मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उहाँ त्यसबखत पार्टी प्रवक्ता हुनुभयो। २०४३ चैत्र १४-१७मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उहाँ पार्टीको सचिव हुनुभयो। २०४८ र २०५१ को आम निर्वाचनमा उहाँ प्रतिनिधिसभामा निर्वाचित हुनुभयो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ पटकपटक मन्त्री पनि हुनुभयो । पार्टीले सञ्चालन गरेको आन्दोलनमा मात्र होइन, महिला अधिकारको आवाज उठाउनुपर्दा उहाँ आफैं मोर्चाको अग्रपंक्तिमा उभिनुहुन्थ्यो । महिला सशक्तिकरण र प्रजातन्त्र स्थापनाको आन्दोलनकी अभियन्ता नेतृ प्रधानको जन्मदिनको अवसरमा एमालेले कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन । धेरै नेताहरुलाई उहाँको जन्मदिनको बारेमा पनि पत्तो छैन ।


Post a Comment