Latest Updates :

टुसा उम्रिएको गेडागुडी खानु स्वास्थ्यको लागि यति धेरै फाइदाहरु !


SHARE THIS POST :

अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ। टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम टुसा पलाएको अन्नले गर्दछ।
अङ्कुरित अन्नको पोषणको मूल्याङ्कन गर्दाः
टुसा पलाएको गेडागुडी अर्थात अङ्कुरित अन्नबाट हुने सबै स्वास्थ्य फाइदाहरू यसमा पाइने भिटामिन, खनिज पदार्थ अनि जैविक तत्वबाटै आउने गर्दछ। यसमा प्रोटिन अनि फाइबरको मात्रा पनि प्रशस्तै हुन्छ। साथै यसमा भिटामिन-के, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन-सी र भिटामिन-ए पनि पाइन्छन्।
खनिज पदार्थको कुरा गर्दा अङ्कुरित अन्नमा माङ्गानिज, तामा, जिङ्क, म्याग्नेसियम, फलाम र क्याल्सियम पाइन्छ। गेडागुडीमा टुसा नपलाउँदा सम्म यस्ता पौष्टिक तत्वहरूको मात्रा थोरै हुने गर्दछ भने टुसा पलाउन थालेपछि यिनीहरूको मात्रा ह्वात्तै बढेर आउँदछ।
अङ्कुरित अन्नका स्वास्थ्य फाइदाहरूः

१. पाचन शक्तिः
गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ। इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ। जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँदछ।

२. रक्तसञ्चारः
शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ। रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन। यदि हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ, किनभने रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व भनेकै फलाम हो। यसले गर्दा शरीर आलश्य हुने, एकाग्रताशक्ति घट्ने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पेटमा गडबडी हुने जस्ता समस्याहरू देखा पर्दछन्।
टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ।

३. मोटोपनाः
अङ्कुरित अन्न यस्तो खानेकुरा हो, जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ। यसको मतलब तपाईँले कुनै चिन्ता नै नगरी यसलाई खान सक्नुहुन्छ। फेरि, यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ। *घ्रेलिन हरमोनले हामीलाई भोक लागेको छ भनेर मस्तिष्कमा सूचना पठाउने गर्दछ।* जसले गर्दा अघाउनको लागि टन्नै खानुपर्ने जरुरी हुँदैन। र मोटोपनाको चिन्ता पनि हुँदैन।

४. मुटुको स्वास्थ्यः
अङ्कुरित अन्न ‘ओमेगा-३ फ्याटी एसिड’को राम्रो श्रोत हो। हुन त यो एकप्रकारको कोलेस्ट्रोल नै हो, तर ‘राम्रो कोलेस्ट्रोल’ हो। यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ। मतलब ‘नो कोलेस्ट्रोल’ अनि ‘नो ब्लड प्रेसर’।
५. शिशुको स्वास्थ्यः
अधिकांश शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा ‘न्यूरल ट्यूब डिफेक्ट’ हुने गर्दछ। यो भनेको मस्तिष्कको समस्या हो। यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन्।अङ्कुरित अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता घातक समस्या हुनबाट बचाउँदछ।

६. क्यान्सरः
टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। भिटामिन-सी, भिटामिन-ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ। *फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ।* त्यसैले अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।

७. प्रतिरक्षा प्रणालीः
अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन्। यसमा हुने भिटामिन-सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ। साथै, जब अङ्कुरको विकास हुन थाल्दछ तब भिटामिन-ए को मात्रा १० गुणाले बढ्दै जान्छ, जसले सेतो रक्तकोषको शक्ति र विकासमा मद्दत पुर्याउँदछ।

८. आँखाको स्वास्थ्यः
माथि नै उल्लेख गरेअनुसार अङ्कुरित अन्नमा प्रशस्त भिटामिन-ए पाइन्छ। र हाम्रो आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन-ए नै हो। यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ। त्यसैले चस्मा लगाउन छोड्न चाहनुहुन्छ अनि यो सुन्दर संसारलाई राम्रोसँग नियाल्न चाहनुहुन्छ भने दिनहुँ ‘अङ्कुरित अन्न’ खानुहोस्।

अति महत्वपूर्ण नोटः
अङ्कुर पलाएको अन्नलाई काँचै खाँदा सबैभन्दा उचित हुन्छ। तर, यसमा धेरैकिसिमका ब्याक्टेरियाहरू पाइने अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले अङ्कुरित अन्नको सेवन गर्दा राम्रोसँग सफा गरेर अझ सकिन्छ भने तातो पानीले पखालेर खाँदा सबैभन्दा उचित हुन्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv