Latest Updates :

महोत्तरीका धार्मिक पर्यटकीयस्थल रुग्ण अवस्थामा


SHARE THIS POST :

बर्दिवास/
साउने बोलबम मेला जारी नै रहेको बेला महोत्तरी जिल्लामा धार्मिक महत्वका पर्यटकीय स्थलको रुग्ण अवस्थाबारे चिन्ता बढेको छ । साउने बोलबम मेलामा शिवालयमा चहलपहल बढिरहेकै बेला जिल्लाका बुद्धिजीवी र सर्वसाधारणले यहाँका शिवालय र अन्य धार्मिक महत्वका पर्यटकीय स्थल बेवास्ताको सिकार भएको टिप्पणी गरेका हुन् ।

जिल्लाको सुदूर उत्तरवत्र्ती क्षेत्रको चुरे फेदीस्थित बर्दिवास–१२ मा पर्ने प्रसिद्ध धार्मिकस्थल टुटेश्वर महादेव मन्दिर क्षेत्रमा खानेपानी, शौचालय र बसोबासका लागि धर्मशाला नहुँदा सो क्षेत्र फेहोरको डुङ्गुर बनेको छ । साउने मेलामा महिनैभरि श्रद्धालुको सघन चहलपहल हुने मन्दिर परिसरको विकासका लागि कुनै निकायले चासो नदेखाउँदा मन्दिरको अस्तित्व नै सङ्कटमा परेको बर्दिवास–१२ टुटेश्वर बस्तीकै सामाजिक कार्यकर्ता हरिबहादुर महतले बताउनुभयो ।

बर्दिवास नगरकै वडा नम्बर ५ मा पर्ने राईमण्डल धार्मिक क्षेत्र पनि उपेक्षाको सिकार भएको छ । चुरे पर्वतका पाखामा प्राचीनकालमै कुँदिएका रामायण र महाभारतकालीन मूर्ति हेर्न र इन्द्रेश्वर महादेवको दर्शन गर्न श्रद्धालुको घुइँचो लाग्ने गरेपनि यो धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन र विकासमा समुदाय र सरकारी निकायले चासो नदेखाएका अन्तरपार्टी महिला सञ्जाल बर्दिवासकी अध्यक्ष शारदा थापाको गुनासो छ ।

“बर्दिवास नगरक्षेत्रमा प्रशस्त पर्यटकीय सम्भावनाका ठाउँ छन्”, थापाले भन्नुभयो, “तर, तिनको विकास, संरक्षण र संवद्र्धनमा कतै कुनै निकायबाट चासो देखाइएको पाइँदैन ।”

बर्दिवास–१० स्थित पञ्चधुरा माईमन्दिर पनि समुचित सम्भार र संरक्षणको अभावमा मुस्किलले आफ्नो अस्तित्व धानिरहेको देखिँदो छ । जिल्लाकै भङ्गाहा–६ सिद्धपुरस्थित अति प्राचीन सिद्धनाथ महादेव मन्दिर त बडहरी नदीको बगरमाझ ठिङ्ग उभिएको छ । बर्सेनि साउन महिनाभरि र महाशिवरात्रि मेलामा ठेक्का बन्दोबस्तबाट हुने आम्दानी पनि मन्दिर संरक्षण र सम्भारमा नलगाइएको मन्दिर छेउकै पलार बस्तीका दलित अगुवा चौठी सर्दार बाँतरले दिक्दारिँदै बताउनुभयो ।

नेपाल र भारतका श्रद्धालुको वर्षौंदेखि धार्मिक गन्तव्य रहँदै आएको सोनामाईको भोइलस्थित सोनामाईस्थान र पडौलस्थित कारिखस्थानमा चढौंना रकम (श्रद्धालुले चढाउने भेटी) का लागि समुदायका समूह÷समूहबीच रडाको हुने गरेको छ । मन्दिरको भेटी कज्याउन रडाको मच्चिँदै आएपनि यी प्राचीन धार्मिक धरोहरको विकासमा भने समुदाय, स्थानीय निकाय र अन्य सरकारी निकाय उदासीन देखिएका सर्वसाधारणले गुनासो गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रसिद्ध धार्मिकस्थल जलेश्वरनाथ महादेव मन्दिर पुरानै गतिमा घस्रिरहेको छ । मैथिली भाषाका महाकवि कोकिल विद्यापतिको डिह (कार्यस्थल) मानिएको बनौली दनौलीस्थित विद्यापति गढका नाउँमा संस्था दर्ता गरेर विभिन्न निकायमा रकम माग गर्ने होड देखिएपनि डिहको संरक्षणमा भने आशातीत काम हुन नसकेको सोही बस्तीका युवा सामाजिक कार्यकर्ता नारायण झाले गुनासो गर्नुभयो ।

यसैबीच, बर्दिवास नगरपालिकाले नगर क्षेत्रका धार्मिकस्थल, पिकनिक स्पट (वनभोजस्थल) र प्राचीन धरोहरको समुचित विकास र संरक्षणका लागि विस्तृत कार्ययोजना बनाइरहेको जनाएको छ । नगरका यस्ता ठाउँको विकासमा स्थानीय समुदायलाई उत्प्रेरित गर्दै योजनाबद्ध कामको सुरुआत गरिसकिएको नगरका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, जिविस महोत्तरीका स्थानीय विकास अधिकारी कृष्ण चापागाईंले जिल्लाका धार्मिक र पर्यटकीयस्थलको विकास र संरक्षणका लागि बृहत्तर जनकपुर क्षेत्र विकास कोष र अन्य निकायको समन्वयमा काम थालिने गरी गत जिल्ला परिषद्ले निर्णय गरेअनुसार प्रारम्भिक काम सुरु भएको बताउनुभएको छ ।

पछिल्लो पटक सम्बन्धित स्थानीय निकायमा धार्मिक र पर्यटकीय क्षेत्रको पहिचान, सम्भाव्यता अध्ययन र संरक्षण संवद्र्धनका कुरा छलफलमा सुनिने गरिएपनि तिनका लागि स्रोत खोज्ने र रकम विनियोजन गर्ने काम नगरिएकाले केही काम हुने कुरामा विश्वास हुने आधार नदेखिएको बुद्धिजीवीले टिप्पणी गरेका छन् ।

जिल्लाका धार्मिकस्थल र राम्रो सम्भावना बोकेका पर्यटकीय स्थलको विकासमा ठ्याक्कै यो काम गरिने भनेर योजना बनाउने, स्रोतको खोजी गर्ने र रकमको व्यवस्थाबारे स्थानीय निकाय उदासीन रहेकाले काम हुने विश्वास जाग्न नसकेको जलेश्वर–१४ का बासिन्दा उपसचिव पदको सरकारी सेवाबाट अवकाश लिनुभएका संस्कृतिविद् महेश्वर रायको टिप्पणी छ । रासस


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv