सिरियाली शरणार्थी बनाएर युरोप लगिँदै नेपाली
काठमाडाैं-युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थीले यतिबेला युरोपेली देशका शिविरहरू भरिभराउ छन् । त्यही भीडमा नेपाली नागरिकहरूसमेत रहेको पत्ता लागेको छ ।
मानव तस्करले सिरिया, रुस, इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन् । रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूमध्य सागरको खतरनाक यात्रापछि युरोप पुर्याउने गरिएको छ ।
उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले त्यस्ता शिविरमा दोभाषेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो । गैरआवासीय नेपाली महासंघ (एनआरएनए) फिनल्यान्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन् । इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ ।
‘केही रुस हुँदै र केही सिरिया, इराक र इरानी नागरिकसँगै शरणार्थी शिविरमा आएका रहेछन्,’ एनआरएनए फिनल्यान्डका सचिव भुवन पोखरेलले फोनमा कान्तिपुरलाई भने, ‘केहीलाई पहिचान गरेर नेपाल फर्काइएको छ ।’ त्यसरी फर्काइएकाहरूलाई फिनल्यान्ड प्रहरीले विमानस्थल पुर्याई बोर्डिङ पास दिएर छाडेको थियो । स्थानीय प्रहरीले एनआरएनए पदाधिकारीसँग सम्पर्क गरेर नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गरेको थियो ।
काठमाडौंस्थित शैक्षिक परामर्श केन्द्र, म्यानपावर एजेन्सी र गैरसरकारी संस्थाको नामबाट उनीहरूलाई शरणार्थी शिविरसम्म लगिएको हो । काठमाडौंस्थित अमेरिकी दूतावास आसपासका परामर्श केन्द्रबाट उनीहरू बिदेसिएको खुलेको छ । तर उनीले आफूहरूलाई पठाउने म्यानपावर कम्पनी र गैरसरकारी संस्थाको नाम सार्वजनिक गरेका छैनन् । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यस्ता परामर्श केन्द्र र म्यानपावर एजेन्सीमा छापा मारेको थियो ।
अमेरिका जान चाहनेलाई ल्याटिन अमेरिकी मुलुकबाट जोखिमपूर्ण यात्रा गराइँदै आएकोमा अहिले त्यहाँबाट सिरिया र इराक हुँदै युरोप पुर्याउन थालेका छन् । अाजको कान्तिपुर दैनिकमा समाचार छ ।
Post a Comment