Latest Updates :

बढेको भत्ता पाउँदा वृद्धवृद्धाको मुहारमा खुशी, ओली र मनमोहन सम्झिए ! (फोटो फिचर)


SHARE THIS POST :


दशैंको मुखमा बढेको भत्ता पाउँदा वृद्धवृद्धाको मुहारमा खुशी
काठमाडौं, १२ असोज – दशैंको मुखमा वृद्धभत्ता थाप्न पाउँदा स्थानीय वृद्धवृद्धा खुशी भएका छन् । पूर्ववर्ती केपी ओली सरकारले बढाएको वृद्धभत्ताको पहिलो किस्ता उनीहरूले पहिलोपटक पाएका हुन् । दशैं आउन केही दिनमात्र बाँकी रहदा घर खर्चको जोहो गर्नुुपर्ने चिन्ता कम भएको वृद्धवृद्धा बताउँछन् ।
पाटन गाबहालस्थित नेपाल बैंक लिमिटेडमा मंगलवार वृद्धभत्ता लिनेको भीड लागेको छ । ललितपुर उपमहानगरपालिकाको वडालाई छुटाछुट्टै वर्गीकरण गरेर भत्ता बाँडेको छ । बैंक खोल्नु अगाडिदेखि नै ७० कटेका वृद्धवृद्धाहरू अनि एकल महिला सबै लाइनमा बसेका भेट्टिए ।
कोही लठ्ठी टेकेर आइरहेका, कोही लाइनमा बसेर थाकेर बसिरहेका थिए भने कोही वृद्ध आमाबुवाको पत्र लिएर लाइनमा बसिरहेका छोराछोरीहरूको लाइन बैंकभन्दा परसम्म थियो ।
नेवारी परम्परामा जंकु अर्थात ७८ औं वर्ष नाघिसकेका वृद्धवृद्धाको अनुहारमा छाएको त्यो खुशीले पक्कै उनीहरूमा ऊर्जा थपिएको देखिन्छ ।


काइचा अवाले ललितपुरको भिन्द्योलाछीमा बस्ने ७५ वर्षका उनी भूकम्पले घर ढलेर घर नजिकैको ठाउँमा जस्ताको टहरामा बसिरहेका थिए । वृद्धभत्ता पाउँदा खुसी लागेको उनले बताए ।


सरकारले वर्षमा तीनकिस्ता गरेर ४ महिनामा एकचोटि वृद्धभत्ता दिने गर्छ । ओली सरकारले १ हजारबाट २ हजार बनाएपछि ७० वर्ष नाघेका वृद्धवृद्धाले यसपालीको दसैंमा कुल ८ हजार पाउँदा निकै दंग छन् ।
‘गरीबलाई ८ हजार रुपैयाँ ८ लाख रुपैयाँ जस्तै लाग्दछ, दशैं र तिहारको घरखर्च गर्न मज्जाले पुग्दछ,’ उनले भने । काइचा आफ्ना छोराछोरीसँग छुट्टिएर ६५ वर्षीया श्रीमतीसँगै गुजारा चलाउँदै आएका छन् ।
श्रीमान् बितिसकेका च्यासलका ७५ वर्षीया रत्ना अवाले अहिले एक्लै बस्दै आएकी छन् । छोराछोरी भएपनि अलग्गिएर बस्न थालेपछि उनी एक्लै गुजारा गर्दै आएकी हुन् । भत्ता पाउन लाइनमा बसिरहेकी रत्ना निकै खुशी देखिइन् । ‘भत्ताले दशैं र तिहार मनाउन पुग्ला,’ उनले भनिन् ।




केपी ओली नेतृत्वको सरकारले एकल महिलालाई दिँदै आएको ५ सय भत्तालाई बढाएर १ हजार, ७० नाघेका वृद्धवृद्धालाई दिँदै आएको १ हजार रकम बढाएर २ हजार बनाएपछि लाइनमा बसेका वृद्धवृद्धाले ओली सरकारलाई धन्यवाद दिएका थिए ।


उनीहरूले २०५१ सालमा वृद्धभत्ताको सुविधा शुरु गर्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि सम्झेका थिए ।- लोकान्तर

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv