Latest Updates :

‘क्यानाडा र युरोप पठाउँछु’ भन्नेले यसरी ठगे ३४ युवा–युवती, बियर–मासु अर्डर गर्नासाथ प्रहरीले झ्याप पार्यो !


SHARE THIS POST :

काठमाडौं– घाम ढल्कँदै थियो । गएको कात्तिक ४ गते शनिवार साँझपख एउटा रातो प्लेटको गाडीले स्कुटरलाई पछ्यायो । निजी गाडीमा सवार सादा पोशाकमा रहेका प्रहरीहरु स्कुटरको पाइला पछ्याउँदै काभ्रेको बनेपा पुगे । चार दोवाटोमा अवस्थित त्रिभुवनको ढलेको सालिक छेउमा पुगेपछि स्कुटर दायाँतिर ढल्कियो, प्रहरीको गाडी बाँया साईडमा रोकियो । स्कुटर चालकले कल गर्नासाथ मास्क लगाएको एक ब्यक्ति यताउती हेर्दै चार दोवाटो आईपुगे । तिनै थिए, दर्जनौंलाई ठगेर करोडौं कमाएका सोलुखुम्बुका नारायण कुमार खड्का ।

३८ बर्षीय खड्काले चारदोवाटोमा रहेको एक फास्टफुडमा कुखुराको मासु र चिसो बियर अर्डर गरेका थिए । बिहान–बेलुका अनुभव हुन थालेको चिसो मौसममा उनले अर्डर गरेको चिसो बियर पिउनै पाएनन् । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरे, गाडी काठमाडौंतिर मोडियो । अब गाडीलाई पछ्याउने पालो स्कुटरको थियो ।

निम्म माध्यमकि तह अर्थात आठ कक्षा मात्रै पास गरेका सोलुखुम्बु तिलङघाटका खड्काले काठमाडौंको तिनकुनेमा हाइलिंक एजुकेशन कन्सल्टेन्सी र जब प्लेसमेन्ट सेन्टर सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सोही कन्सल्टेन्सी उनको ठगी गर्ने माध्यम बनेको थियो ।

कन्सल्टेन्सी मार्फत रसिया, क्यानडा, युरोप र मकाउ जस्ता आकर्षक मुलुकहरुमा पठाईदिन्छु भन्दै उनले ३४ भन्दा बढी नेपालीबाट २ करोड १५ लाखभन्दा बढी ठगेको महानगरीय अपराध महाशाखाका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तो थियो लाखौं ठग्ने ट्रिक, यसरी खुल्यो पोल

केही समय रसिया बसेर आएका नारायण कुमार खड्कालाई राम्रोसँग थाहा थियो, ‘रसिया, क्यानडा, र मकाउमा जस्ता मुलुक अवसरको खानी हो ।’ रसियाबाट नेपाल फर्केपछि धादिङकी संझना केसी र कास्किका आनन्द केसी सँगको मिलेमतोमा उनले ‘युरोप पठाईदिन्छु’ भन्दै लाखौं ठग्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०७३ असोज अन्तिम साता सिनामंगल बस्ने सिता कुमारी पाठक र दिपक अधिकारी पहिलोपटक नारायण खड्का बिरुद्ध उजुरी बोकेर महानगरीय अपराध महाशाखा पुगेका थिए । सीता पाठकको श्रीमान बाल कुमार कार्र्कीले युरोप जानका लागि भन्दै खड्कालाई १० लाख बुझाएका थिए । दीपक अधिकारीको भिनाजु चन्द्रमणी अर्यालले १७ लाख तिरेका थिए । यसरी लाखौं तिरेर युरोप जान भनि घरबाट बिदा भएकाहरु मस्कोमा पुगेपछि रोकिए । उनीहरुसँगै साथमा रहेका उदय चौधरी, हिमालहाङ लिम्बु, विमल कार्की र प्रेम कुमार चौधरी समेत अलपत्र परेको उजुरी परेपछि अपराध महाशाखाले खड्का र उनका सहयोगी बिरुद्ध अपरेशन शुरु गरेको थियो ।

‘हाइलिंक एजुकेशन कन्सल्टेन्सीमा जाँदा वर्किङ भिसामा युरोप पठाउने र रसिया पुगेपछि अस्थायी प्रमाणपत्र (टिआरसी) बनाई युरोप पठाउन सक्छु भन्दै हाम्रो आफन्तलाई २५ दिने टुरिष्ट भिसामा २०७३ साउन १४ गते भारत हुँदै रसिया लगिएको थियो’ पाठक र अधिकारीले अपराध महाशाखामा दिएको उजुरीपत्रमा भनिएको छ, ‘मस्कोमा बस्ने संझना केसीले युरोप पठाउन सेटिङ मिलाउने भनेपनि हाम्रो आफन्तहरु दुई महिनादेखी सम्पर्कमा आएका छैनन ।’

त्यसपछि अपराध महाशाखाको प्रहरी टोली खड्का र उनको सहयोगीको खोजीमा निस्कीयो । ‘मस्कोमा बसेर खड्कालाइ सहयोग गर्दै आएकी संझना केसी र अर्का सहयोगी आनन्द केसीलाई हामीले सवैभन्दा पहिले नियन्त्रणमा लियौं’ महाशाखाका डिएसपी बोगटीले भने, ‘संझना त्यतिवेला नेपाल आएकी थिईन् ।’

बाग्लुङको विनामारे गाविसका भरत विक समेतका युवाहरु संझना केसीको स्वमित्वमा रहेको नयाँ बानेश्वरको रिकोन एजुकेशन कन्सल्टेन्सी मार्फत युरोप जान खोज्दा ठगिएका थिए । ‘हाईलिंक एजुकेशन कन्सल्टेन्सीको संचालक मध्येका आनन्द केसी तथा संझना केसीले सञ्चालन गरेको रिकोन कन्सल्टेन्सीले रसिया हुँदै पोर्चुगल पठाईदिन्छौं भनेर सात जनासँग दश लाख पचास हजारको दरले असुल गरेर रसियामा पुर्याएपछि अलपत्र छाडेको अनुसन्धानका क्रममा खुलेको छ’ डिएसपी बोगटीले भने, ‘संझना र आनन्द केसी अहिले वैदेशीक रोजगार विभागको हिरासतमा छन्, उनीहरुले अन्य ब्यक्तिलाई समेत ठगेको बुझिएकोले अनुसन्धान गरिरहेका छौं ।’

असोज ३० गते केसीद्वय पक्राउ परेपछि नारायण खड्काबारे प्रहरीले थप सुचना पाएको थियो । सहयोगी पक्राउ परेपछि पेप्सिकोला स्थित घरमा समेत बस्न छाडेका खड्काले पुरानो मोवाइल नम्बर बोक्न छाडेका थिए । श्रीमतीलाई पनि नयाँ मोवाईल नम्बर बोक्न लगाएका खड्कालाई फेला पार्न अपराध महाशाखाले निकै मेहनत गरेको थियो । ‘उनको श्रीमतीले बोक्ने गरेको मोवाइलको आइएमई नम्बरबाट हामीले अनुसन्धान शुरु गरेको थियौं’ खड्का बारे अनुसन्धान गरिरहेका प्रहरी इन्सपेक्टर राजेश राज पुरीले भने, ‘खड्काकै अर्का एकजना सहयोगी मार्फत हामी बनेपा पुगेका थियौं ।’ खड्का अहिले महानगरीय प्रहरी परिसर काठमाडौं हिरासतमा छन् । प्रहरीले ठगी मुद्धामा म्याद लिएर उनीमाथी अनुसन्धान गरिरहेको छ ।

आनन्द केसी र नारायण खड्काले नेपालमा बसेर डकुमेन्टेशनको काम गर्ने गरेको र संझना केसी मस्कोमा बसेर नेपालबाट त्यहा पुग्ने ब्यक्तिहरुलाइ पोर्चुगल हुँदै युरोपको ढोकासम्म लैजाने असफल प्रयास गर्दै आएकी थिइन् ।

१४ नेपाली अझै थाइल्याण्डमा अलपत्र

काठमाडौंबाट दिल्लीहुँदै बिना आधार विभिन्न देशमा पठाउने असफल प्रयास गर्दै आएको यो समुहले पठाएका १४ युवा–युवती अझै थाइल्याण्डमा अलपत्र अवस्थामा रहेका छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार त्यहाँ अलपत्र पर्नेहरु क्यानडामा वर्किङ भिसामा काम गर्न पाईने आशामा नेपालबाट दिल्लीको बाटो हुँदै बैंकक पुगेका थिए ।

यसरी अलपत्र पर्नेहरु श्रवण श्रेष्ठ (पर्वत), रुपक घिमिरे (सिन्धुली), शिवराज पाण्डे, दिपेन्द्र पाण्डे, राजकुमार जीसी (गुल्मी), राजेश चौधरी, आयुष चौलागाई, फिरोज सापकोटा (बनेपा), बनेपाकै दिपेश सापकोटा, सुमन सापकोटा, राजेन्द्र सापकोटा, सुदिप सापकोटा, सुवोध कार्की र सुष्मा देउजा रहेका छन् । उनीहरुको अझै उद्धार हुन सकेको छैन ।

ठगिनेको सूची ३४ पुग्यो

अपराध महाशाखाका अनुसार नारायण कुमार खड्काको समुहले ठगेका ब्यक्तिहरुको सुचि ३४ पुगेको छ । ताप्लेजुङको खुम्बु गाविसका ख्याम कुमार श्रेष्ठ, हेटौंडाका सन्तोष पण्डित र दिनेश रेग्मी सहित ८ जनासँग दिल्ली–रसिया हुँदै पोर्चुगल पठाउँछु भन्दै प्रलोभनमा पारेर प्रतिब्यक्ति १० लाख पचास हजार लिएका थिए । ती मध्ये घनश्याम निउरे नेपाल फर्किएपनि अन्य रसियामै अलपत्र अवस्थामा छन् । त्यस्तै प्रतिब्यक्ति १४ लाख बुझाएर क्यानडा जान भनी हिँडेका १४ जना थाइल्याण्डमा अलपत्र परेका छन् । ‘प्रतिब्यक्ति चार लाख पचास हजार ठगेर मकाउ पठाईएका ३ जना अलपत्र परेको खुल्न आएको छ’ डिएसपी बोगटीले भने, ‘यसरी खड्का र उनका सहयोगीबाट ठगिनेको संख्या ३४ जना पुगेको छ, निजले बितगमा पनि ३२ जनाभन्दा बढी मानिसहरुलाई क्यानडा पठाउँछु भनेर ठगी गरेको उनको कम्युटर रेकर्डबाट देखिन्छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv