धरान, १५ कात्तिक । धरान उपमहानगरपालिकाको पटके कर संकलन गर्ने ठेक्का पाउने रविन राईले सडकपेटीमा बसेर व्यवसायी गर्नेहरुलाई तोकेभन्दा अढाइ सय गुना बढी पटके कर असुल गर्न थालेका छन् ।
चाडवाडको मौका पारेर जथाभावी आफूखुसी मूल्य तोकेर ठेकेदार राईले पटके कर लिएको हो ।
ठेकेदार राई र उनले खटाएका कर्मचारीले धरान उपमहानरपालिका कार्यालय, पटके व्यवसाय ९हाटबजार कर आम्दानी रसिद० ०७३/७४ लेखिएको अकासे रंगको रसिदमा २० रुपैयाँ लिने ठाउँमा केरमेट गरेर ५० रुपैयाँ लेखेर लिएको फेला परेको छ ।
उपमहानगरपालिकाको स्टाम्प रहेको रसिदमा २० रुपैयाँ मात्र लेखिए पनि ठेकेदार रविन राई र उनले खटाएका कर्मचारीले ५० रुपैयाँ लिने गरेका छन् । रसिदमा तोकिएको मूल्य केरमेट गरेर हातैले ५० रुपैयाँ लेखेर पटके कर लिँदै आएका छन् ।
उपमहानगरपालिकाले सडक पेटीको छेउमा बसेर दैनिक चिया पसल थापेर बिक्रि गर्ने, भेन, ट्याक्सीमा माइक राखेर विभिन्न सामान बिक्रि गर्ने, ठेलामा राखेर खानेकुरा बिक्रि गर्नेहरुलाई दैनिक २० रुपैयाँ पटके कर लिने गरिएको छ । तर, रविन राई र उनले खटाएका कर्मचारीले उपमहानगरपालिकाले छापेको रसिदमा केरमेट गरे ५० रुपैयाँ लिने गरेको सडकमा ठेला राखेर चिया पसल चलाएर जिविका चलाउने जीवन तामाङले बताए ।
बढी रकम लिने ठेकेदारलाई धरान उपमहानरपालिकाले कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरेका छन् ।
उनले भने, ‘रसिदमा भएको रकम दिँदा मान्दैनन् । उल्टै चिया पसल गर्ने इच्छा छ कि छैन भनेर धम्क्याएर ५० रुपैयाँ लिएर हिँड्छन् । निरीह हुनु पनि हाम्रा लागि अभिसाप जस्तै भएको छ ।’
आइतबार ठेकेदार रविन राईले खटाएका कर्मचारीले रसिदमा तोकेको दर भन्दा बढी शुल्क लिएपछि स्थानीय साना व्यवसायीहरुले आक्रोस व्यक्त गरे ।
उनीहरुका अनुसार ठेकेदार राईले चिनेजानेका साना व्यवसायीबाट भने तोकिएकै कर असुल गर्ने गरेका छन् । प्रतिवाद गरेमा जबर्जस्ती रकम असुल्ने गरेको उनीहरुले बताए ।
धरान उपमहानगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाले ठेकेदारले सम्झौता अनुसार तोकिएको रकमभन्दा बढी पटके कर असुले स्वीकारेको खबर कान्तिपुरमा छ ।
उनले भने, ‘ठेकेदारलाई अब आइन्दा यस्तो नगर्न निर्देशन दिएको छ ।’ उनले बढी कर लिएको साना व्यापारीको पैसा फिर्ता गर्न पनि निर्देशन दिएको उनले बताए । उनले भने, ‘ठेकेदारको यस्तो गलत प्रवृत्ति दोहोरिन दिन आफूहरु सजग भएका छौं ।
अनावश्यक बढी कर लिने ठेकेदारलाई कारबाही गर्न समेत धरान उपमहानगरपालिका पछि पर्दैन ।’ नियमविपरीत ५० रुपैयाँ पटके कर लिने ठेकेदार राई सम्पर्कमा आउन चाहेनन् ।
Post a Comment