Latest Updates :

पैसा कमाउन गएका ओमप्रकाशले उल्टै परिवारसँग रकम माग्दा उनका परिवार सुरुमा झस्किएका थिए । यद्यपि कागजात मिलाउन पैसा चाहिएको भनेपछि रकम पठाइदिएका थिए । उनी अपहरणमा परेको बारे कसैलाई जानकारी थिएन


SHARE THIS POST :
सप्तारी, असोज १८


मलेसियामा रहेका सप्तरीको हर्दिया गाविस ७ का २३ वर्षीय ओमप्रकाश महतो घर फर्किने तयारी गरिरहेका थिए । सम्पूर्ण कागजात तयार पारेका उनले जहाजको टिकट लिन मात्रै बाँकी थियो । कम्पनीबाट छुट्टी लिएर उनी नेपालीले नै सञ्चालन गरेको एसटी होलिडे लजमा एक रात बसे ।

त्यहाँबाट भोलिपल्ट साथीको कोठा जान लाग्दा ९ असोजमा उनलाई दुई जना युवा मिलेर नियन्त्रणमा लिए । यसपछि उनलाई अर्को लजमा लगियो । त्यहाँ पहिलेदेखि नै सात जना अन्य युवा रहेछन् । सबै मिलेर उनको हात, खुट्टा बाँधे । परिवारलाई उनीमार्फत नै फोन गर्न लगाएर पाँच लाख रुपैयाँ माग्न लगाए ।

फिरौती माग्न लगाउँदै ओमप्रकाशलाई बारम्बार कुटपिट गरे । कुटपिट सहन नसकेपछि उनले गाउँमा रहेका दाइ भागवतलाई फोन गर्दै पैसा पठाउन आग्रह गरे । पैसा माग्नको लागि बहाना बनाए, ‘कागजात मिलाउनु छ, पैसा नभएर काम अड्कियो ।’ भन्नेबित्तिकै दाइले सिरहाको लहानस्थित आईएमई मार्फत पहिलो पटक दुई लाख र दोस्रो पटक तीन लाख रुपैयाँ भाइले भनेको व्यक्तिको नाममा पठाइदिए ।

पैसा काठमाडौंका व्यक्तिलाई

मलेसियामा अपहरित ओमप्रकाशले पैसा पठाउन भने पनि त्यो पैसा काठमाडौंका एक व्यक्तिले बुझे । उनलाई बन्धक बनाउन सहयोग गर्ने झापा घर भएका सुजन मगरले काठमाडौंका गोकुल नेवारको नाममा रकम पठाउन ओमप्रकाश मार्फत भनेका थिए ।

तर, गोकुलको नागरिकतामा गोकुल श्रेष्ठ नेवार उल्लेख रहेकाले आईएमईवालाले उनलाई रकम दिएनन् । यसपछि गोकुलले नै ओमप्रकाशका दाइ भागवतलाई फोन गरेर पैसा गोकुल श्रेष्ठ नेवारको नाममा पठाइदिन भने । भागवतले त्यसै गरे ।

ओमप्रकाश बन्धक भएको दुई दिनपछि ११ गते गोकुलले रकम पाएपछि सुजनलाई जानकारी गराएका थिए । बन्धक बनाउनेहरुले त्यसपछि उनको बाँधिएको खुट्टा खोलिदिए ।

तर, उनलाई मुक्त गरेनन् । ‘यसपछि १२ गते उनीहरुले मलाई घना जंगलमा लगेर मार्ने कोसिस गरेका थिए’, सोमबार राजविराज आइपुगेका ओमप्रकाशले नयाँ जीवन पाएको सम्झिँदै भने ‘धन्न एक जना ट्याक्सी चालकले मलाई जोगाएका रहेछन् ।’ ट्याक्सी चालकले स्थानीय प्रहरीलाई सबै कुरा बताएपछि उनको उद्धार भएको थियो । प्रहरीले उनलाई निलाइ भन्ने थानामा ल्याएर सोधपुछ गर्‍यो ।

अपहरणबारे परिवार बेखबर

पैसा कमाउन गएका ओमप्रकाशले उल्टै परिवारसँग रकम माग्दा उनका परिवार सुरुमा झस्किएका थिए । यद्यपि कागजात मिलाउन पैसा चाहिएको भनेपछि रकम पठाइदिएका थिए । उनी अपहरणमा परेको बारे कसैलाई जानकारी थिएन ।

ट्याक्सी चालकको सहयोगमा मुक्त भएपछि उनले दाइ भागवतलाई फोन गरेर सबै कुराको जानकारी गराएका थिए । उनले आफूलाई ज्यान मार्ने उद्देश्यले नै जंगलतर्फ लगेको र संयोगले बाँचेको सुनाए । ओमप्रकाशले जानकारी दिए लगत्तै उनका दाइसहितका व्यक्तिहरुले तत्कालै प्रहरी समक्ष घटनाबारे जानकारी गराए ।

‘सप्तरी, सिरहाका प्रहरीका साथै काठमाडौंका प्रहरी समक्ष पनि जानकारी गराइयो’ ओमप्रकाशसँगै आएका सद्भावनाका युवा नेता दिनेश यादवले भने, ‘रकम लिने व्यक्तिको नाम भन्नेबित्तिकै काठमाडौं प्रहरीले गोकुललाई पक्राउ गर्‍यो ।’

गोकुल पक्राउ परेपछि ओमप्रकाशको परिवारलाई प्रहरीले काठमाडौं बोलायो । यस क्रममा गोकुलले ओमप्रकाशले कम्पनीमा चोरी गरेकाले बचाउन रकम लिएको बयान दिए । तर, मलेसियामा होटल सञ्चालन गरिरहेका गोकुलकै भाइ लीलाले ओमप्रकाशको अपहरणै भएको बताएका थिए । त्यसपछि गोकुलले सुजन मगरले नै त्यसो भनेर आफूलाई उनको परिवारसँग रकम लिई पठाइदिन भनेको बताए । असोज १३ गते गोकुललाई महानगरीय अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको थियो ।

रकम त फिर्ता भयो, तर फेरि यस्तो घटना नहोस्

प्रहरीले ओमप्रकाशको परिवारलाई गोकुल मार्फत पाँच लाख रुपैयाँ फिर्ता गराएको छ । अपराध अनुसन्धान महाशाखाका डिएसपी अजय केसीले रकम फिर्ता गराएर पीडित परिवारसँग जाहेरी पनि लिएका छन् । रकम लिएर मलेसिया पठाउने गोकुललाई तारेखमा छाडिएको छ ।

ओमप्रकाश पनि मलेसियाको प्रहरी तथा साथीको सहयोगमा सकुशल आफ्नो मुलुक फर्किएका छन् । तर, एउटा प्रश्न छँदै छ, नेपालीले आफ्नै देशका दाजुभाइलाई किन बन्धक बनाए ?

असोज १४ गते ओमप्रकाश मलेसियाबाट फर्केपछि सुजन मगरसहित ६ जनाविरुद्व जाहेरी दिएका छन् । प्रहरीले दोषीहरुलाई कारबाही गर्ने प्रतिबद्वता जनाएको छ । पीडित परिवारले आगामी दिनमा यस्तो घटना अरु कसैमाथि नहोस् भनी कामना गरेको छ ।

अनलाइन खवरबाट साभार

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv