Latest Updates :

बीपी त्यसै महामानव भएका होइनन्


SHARE THIS POST :
तारानाथ रानाभाट -
२०३३ सालमा बीपी भारतबाट नेपाल फर्कने सोचमा हुनुहुँदो रहेछ । नेपाल फर्कने कुरामा उहाँले हामीसँग भारतमै सल्लाह गर्नुभयो । जाउँ कि नजाउँ भनी सोध्नुभयो । तर उहाँको सोच भने नेपाल फर्कने भइसकेको रहेछ ।

हामीले नेपाल नजान सल्लाह दियौं । नेपालमा उहाँविरुद्ध त्यत्रा त्यत्रा ठूला मुद्दाहरू थिए । पञ्चहरू गाउँगाउँमा बीपीलाई झुन्डाउनुपर्छ भनी भाषण गर्दै हिँड्थे । त्यसैले तपाई नेपाल फर्कनुभयो भने पञ्चहरूले मार्छन्, प्रजातन्त्र के होला, पार्टी के होला भनी चिन्ता व्यक्त ग¥यौं, तर उहाँले तिमीहरू यस्ता कुरा बुझ्दैनौ भन्नुभयो ।

उहाँले सरकारले मलाई मार्न सक्दैन थुन्ला, त्यो बेग्लै कुरा हो । यसले आन्दोलनलाई सहयोग नै पुग्छ । कुनै प्रकारको तिमीहरूले चिन्ता नलेऊ, तर म जेलमा गएपछि हामीले जुन वक्तव्य निकाल्छांै, त्यो वक्तव्य तिमीहरूले घरघरमा पु¥याउनुपर्छ भन्नुभयो । त्यतिखेर पत्रपत्रिका, रेडियो थिएनन्, भए पनि निकै कम थिए ।

जनताको पहँुचमा थिएन । त्यतिखेर पार्टीले हामीलाई लिथो मेसिन दिएको थियो । लिथो गरेर वक्तव्य घरघर पु¥याउने जिम्मेवारी बीपीले हामीलाई दिनुभयो ।

२०३३ सालमा बीपी नेपाल फर्कनुभयो । उपचारका लागि उहाँ छुट्नुभयो । अमेरिकामा उपचार गरेर उहाँ फर्कनुभयो । फर्कने क्रममा पटनामा सम्मेलन गर्नुभयो । पटनामा नेपाली काँग्रेसको सम्मेलन भयो ।

सम्मेलनपछि उहाँले निर्देशन दिन अञ्चल अञ्चलको समूह समूह बनाएर आउन भन्नुभयो । गण्डकी अञ्चलको तर्फबाट हामीले समूह बनायांै ।

उहाँलाई भेट्न गण्डकी अञ्चलका हामी  साथीहरू उहाँ बसेको ठाउँमा गयौं । म ढोकाबाट भित्र बस्नेबित्तिकै उहाँले ‘तारा तिम्रो छोराको स्थिति कस्तो छ’ भनी सोध्नुभयो । उहाँले त्यसरी सम्झनुभएको रहेछ । त्यसैले त बीपीको बहुआयामिक व्यक्तित्व भन्ने गरिन्छ । त्यसैले हामीले बीपी भनेर उहाँलाई मान्ने गर्छौं ।

साहित्य, संस्कृति, धर्म दर्शन, राजनीतिमा उहाँका सोचहरू, उहाँका विचारहरू जीवन्त छन् । एउटा समान्य कार्यकर्ताको घरव्यवहारको अवस्थाबारे कण्ठस्थ गरी उसको दुःखको बारेमा सहानुभूति देखाउँदै त्यसको जिम्मेवारी लिने उहाँको व्यवहार निकै महान छ । भेट भयो कि, उहाँले सोध्नुहुन्थ्याो ।

मेरो मात्र होइन, हरेक कार्यकर्ताको बारेमा उहाँले त्यसरी नै चासो राख्नुहुन्थ्यो । त्यही कारण त नेपाली काँग्रेस पार्टी बनेको थियो । कार्यकर्ताहरू मर्न, मार्न तयार थिए । कार्यकर्ताहरूमा समपर्ण भाव थियो । उनीहरू इमान्दार थिए ।

पटना सम्मेलनपछि बीपी नेपाल आउनुभयो । उहाँ फेरि थुनिनुभयो । नेपालमा जनमतसंग्रहको घोषणा भयो । उहाँ पोखरा जानुभयो । पोखरामा हामीले उहाँलाई भव्य स्वागत ग¥यौं । सबैभन्दा पहिले उहाँलाई मैले गलामा माला लगाइदिएँ । मैले माला लगाइदिएको फोटो अहिले पनि मेरो घरमा छ  ।

मैले माला लगाउनेवित्तिकै उहाँले ‘तारा तिम्रो छोरालाई कस्तो भएको छ । भोलि मकहाँ ल्याउनु है’ भन्नुभयो । त्यतिखेर उहाँ बहुदल जिताउने मिसनमा प्रचार–प्रसारमा हुनुहुन्थ्यो । त्यो स्थितिमा पनि उहाँले मेरो छोराको स्वास्थ्यस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो । भोलिपल्ट मेरो बा, मेरो आमा, मेरो श्रीमती, म, मेरो छोरा र अरु केटाकेटीलाई लगेर उहाँलाई भेट्न गयौं ।

उहाँले मेरो आमालाई आमा भन्नुभयो । उहाँले भन्नुभयो, ‘आमा यो बच्चाको उपचार म गराउँछु । तपाईले कुनै चिन्ता नलिनुहोस् । अब हाम्रो सरकार हुन्छ’ भन्नुभयो । र, त्यो केटाको टाउकोमा सुमसुम्याउनु भयो । यस्ता घटना कति छन्, कति भनेर साध्य नै छैन ।

मेचीदेखि महाकाली घुम्दाको स्थितिबारे भन्नुहुन्छ कि बनारस बस्दाको अबस्थाबारे भन्नुहुन्छ, बीपीसँग मेरा धेरै संस्मरण छन् । सम्झँदै रुँदै गर्ने हजार संस्मरण छन् । त्यसै बीपी महामानव भएको होइन ।

त्यसैले उहाँलाई समाजले देवता समान मानेको होइन । उहाँ नेपालको गरिब, नेपालको समाजप्रति कति संवेदनशील हुनुहुन्थ्यो भन्ने कुरा हरेक घटना र दर्शनले पुष्टि गरेका छन् । नेपाली जनताको स्थिति कसरी फेर्ने भन्ने उहाँको सपना थियो ।

हामीले बीपी, गणेशमान, सुवर्ण, किसुनजीलाई बेहोरेका छौं । तर अहिलेको पुस्ताले हामीलाई हेरे भने के पाउँछ ? केही पाउँदैन । त्यतिखेरको त्याग, निष्ठा, आदर्श खोइ अहिले ?

त्यतिखेर नेताहरूको अनुहारमै सन्देश हुन्थ्यो । हेराइमा सन्देश हुन्थ्यो । तर अहिले नेताहरूसँग हजार पटक देखभेट होस्, नेताहरूले सम्झन्छन् कि सम्झँदैनन्, थाहा नै हुँदैन । अरु चिन्तनको कुरा छाड्नुहोस् । मैले बीपीसँग ज्यादै नजिक भएर काम गरें ।

यसैगरी, किशुनजीसँग पनि ज्यादै नजिक भएर काम गर्ने मौका पाएँ । जिम्मेवारी पनि मैले पाएँ । महामन्त्री भएँ । यता, संसद्मा पनि जिम्मेवारी पाएँ । सभामुख भए । सरकारमा पनि जिम्मेवारी पाएँ ।

यो सानो कुरो होइन । राजनीतिमा मेरो, हाम्रो परिवारको, हाम्रो पिताजीको जुन प्रकारको संघर्ष, लगनीशलता र निरन्तरता थियो, त्यसको कदर गरिएको छ । यसबाट म सन्तुष्ट छु । भोलिका दिनमा पनि म यसैगरी निरन्तर लाग्ने छु ।


(नेपाली कांगे्रसका नेता रानाभाट पूर्वसभामुख पनि हुनुहुन्छ ) तरुणबाट साभार ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv