काठमाडौं, ७ पुस । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहबाट सतर्क रहनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहले देशको अस्तित्व र राष्ट्रियता जोगाउन सम्पूर्ण नेपालीहरु जाग्नुपर्ने बेला आएको भन्दै बुधबार अपराह्न विज्ञप्ति जारी गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत बाबुरामले आत्तिदै तीन वटा ट्वीट गरेका छन् ।
जसमा उनले ज्ञानेन्द्रलाई दिएको छुट अब खोस्नुपर्नेदेखि सतर्क रहनुपर्नेसम्मको कुरा उल्लेख गरेका छन् ।
पहिलो ट्वीटमा बाबुरामले लेखेका छन्– ‘पश्चगामी ध्येयकासाथ आज आएको पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति पहिलेभन्दा गम्भीर छ । सबै अग्रगामी शक्तिहरूले प्रतिवाद गर्नैपर्छ । सतर्क बन्नैपर्छ ।’
दोस्रो ट्वीटमा बाबुरमले ‘इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्की दिने छुट कतै दिएको देखिन्न । ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म ?’ भन्ने प्रश्न गर्दै ज्ञानेन्द्रलाई दिएको अधिकार कटौती गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी तेस्रो ट्वीटमा बाबुरामले ‘बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ । शाहवंशले मात्र नेपाल आर्जेको, अरू गोरखाली सुतेको हो त ?’ भन्ने प्रश्न गरेका छन् ।
उनले पूर्वराजालाई यस्तो प्रश्न गरेपछि धेरैले ‘बाबुराम जी– बाह्य शक्तिसँग सम्बन्ध तिमीहरु र राजा दुबैको छ । तर, फरक के छ भने राजाको पालामा ती शक्तिहरु नेपाल आमाको खुट्टा ढोग्थे तर आज भारतीय राजदूतको लंगौट धुने तिमीहरु जस्ताको कारण नेपाल आमालाई झुक्नु परेको छ । गोरखामा जन्मिदैमा कोही गोर्खाली हुदैन ।’ भन्दै कडा जवाफ दिएका छन् ।
Post a Comment