आफ्नै श्रीमानले समाते, जेठाजुले बियरको बोतलले हाने, अनि मरी भनेर भीरबाट फाले…
‘धादिङमा कोही नातेदार छैन । तर, मेरो श्रीमान राजु रिजाल र जेठाजु पर्ने अर्जुन खनाल मिलेर घुम्न जाने भनेर गाउँतिर लगे । लपाङफेदीबाट चार घण्टा हिँडेपछि बल्ल एउटा बजार आयो । म हिँड्न नसक्ने भइसकेकी थिएँ । रिङ्गटा लाग्यो तर बजारमा बस्न मानेनन् । उनीहरु रक्सी पिउँदै हिँड्दै गरेका थिए । मैले अघिल्लो दिनदेखि केही खाएकी थिइँन । राती जंगलको बाटो अघि जाने भनेर हिँडे ।
मैले नचिनेको ठाउँ भएकोले पछिपछि लागेँ । अलि पर जंगलमा पुगेपछि उनीहरु दुई जना रक्सी खान थाले । मलाई खा भनेर कर गर्दै थिए । मैले खान्न, कहिले नखाएको कुरा भनेर जिद्दी गरेँ । त्यसपछि जबरजस्ती खुवाउन खोजे । मैले नाई भनेपछि मेरो श्रीमानले मलाई बेसरी समाते । अर्जुनले बियरको बोतलले टाउकोमा हाने ।’
माथिको पीडा आफ्नै श्रीमान र जेठाजु पर्नेले जंगलकाे बीचमा कुटेर मरी भनी भिरमा फालिएकी जमुना रिजालको हो । तनहुँ रानीपोखरी गाविस–९ की २२ वर्षीय रिजालले जिल्ला अदालतमा अगाडि भनिन्, ‘मैले आफूलाई समाल्नै सकिन । कुटेको थाहा पाएँ तर कुनै प्रतिक्रिया जाउन सकिन् । अनि मेरो कानको गहना लुछे । घाँटीबाट पनि झिके । त्यसपछि मलाई भीरबाट फालेछन् । मैले केही थाहा पाइन ।’
धादिङको किन्ताङफेदि नजिकै दाखा–१ जंगलमा मरी भनेर फालिएकी रिजालले आफ्ना कुरा राख्दै गर्दा आँखाभरी आँसु भरिएका थिए । त्यसले सुन्ने र देख्नेलाई भावुक बनायो । उनी श्रीमानले पटक पटक धेरै पटक मरी भनेर हालिएकी थिइन् ।
रिजाललाई किनताङफेदीका बासिन्दाले २०७३ कात्तिक १३ गते बिहान जंगलको भिरबाट उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगेका थिए । आफ्नो उद्धार गर्नेको नाम जमुनालाई अझै थाहा छैन ।
श्रीमतीलाई घुम्न जाउँभन्दै तनहुँबाट धादिङ ल्याएर मार्ने नियतले भिरबाट फालेर भागेका जमुनाका श्रीमान शुक्ल गण्डकी नगरपालिका-८ का २६ वर्षीय राजु रिजाल र छिमेकी जेठाजु नाता पर्ने २७ वर्षीय अर्जुन खनाललाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । श्रीमती मार्न खोजेको आरोपमा कात्तिक १६ गते राजुलाई र अर्जुनलाई १७ गते प्रहरीले घरबाट पक्राउ गरेको थियो ।
पीडित जमुनालाई २०७३ कात्तिक १२ गते तनहुँको अकला मन्दिरमा बोलाई माइती घरबाट ल्याएको २० हजार रुपैयाँ राजुले मागेर लिएका थिए । त्यसपछि गाडीमा काठमाडौं जाने भन्दै चढेका थिए । दमौली पुगेपछि उनीहरु अर्को बस चढे ।
मुग्लिन पुगेपछि राजुले अर्जुनलाई बोलाएर सुनौली जाने गाडीमा जमुनासहित चढे । सुनौलीबाट भारत जान नपाएपछि उनीहरु राती नै फर्केर नारायणगढमै बास बसे । भारत जान नसकेपछि १३ गते काठमाडौं लागि भनेर बसबाट मलेखु हुँदै धादिङबेसी पुगे । बास नबसी लफाङफेदी जाने गाडी चढेर ताङफेदी पुगे ।
लामो यात्रापछि जमुना थाकिसकेकी थिइन् । जमुनाले म हिड्न सक्दिन भन्दा पनि झार्लाङ जाने भन्दै अघि लगियो । जंगलमा पुगेपछि दुई जनाले रक्सी खाए । जमुनालाई पनि खान भने । नखाएपछि राजुले समाते । अजर्नुले बियरको बोतलले हानेर ढाले । कान र घाँटीको गहना लुटे । अनि भिरबाट लडाएर उनीहरु भागे ।
पीडितको किनताङफेदीमा रहेको स्वास्थ्य संस्था, जिल्ला अस्पताल धादिङ, वीर अस्पताल काठमाडांै, मणिपाल अस्पताल पोखरा र अहिले दमौलीमा रहेको स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।

Post a Comment