Latest Updates :

काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान


SHARE THIS POST :
 नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ ।

न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका हूल आएर हिलो ओगट्ने क्रम चल्छ । ‘केही समयअघि ढल खोतल्दै गर्दा हिलो लिनका लागि कुटाकुट नै भयो,’ अवरोध खुलाउन खटिएका माइला तामाङ भन्छन्, ‘महिला पुरुषदेखि बालबालिकासम्म हारालुछ गर्छन्, कतिले पैसा दिएर लान्छन्, कतिले थाहै नदिई राति उठाउँछन् ।’

न्युरोडभित्रका ढलको अवरोध खुलाउने ठेक्का मकवानपुरका हर्क तामाङले गर्दै आएका छन् । उनको भाइ माइलासहित केहीले ढल खोतल्छन् र फोहोर बाहिर निकाल्छन् । ‘सय बोरा निस्किएको थियो, राति नै लगेछन्,’ माइलाले भने, ‘थाहै नदिई लगेछन्, पैसा नदिने भए फिर्ता ल्याऊ भनेर फोन गरेँ । उसले हेरुँ कति फाइदा हुन्छ भन्ने जवाफ दियो ।’

न्युरोडका नालीमा सुन बग्ने कारणले ढलका फोहोर खोसाखोस हुने उक्त क्षेत्रका वडाअध्यक्ष चिनीकाजी महर्जन बताउँछन् ।

देशको सबैभन्दा धेरै सुनको कारोबार हुने काठमाडौं महानगरपालिका २२ स्थित न्युरोड गेटदेखि जुद्ध सडक आसपासका नालाबाट निस्किएको फोहोर उठाउन हारालुछ हुने उनले बताए ।

उक्त क्षेत्रमा करिब दुई सय सुन पसल भएको अनुमान महिला वडासदस्य रश्मिला मल्लले गरिन् । ‘महानगरभित्र सुन कारोबार हुनेमध्ये ८६ प्रतिशत वडा नम्बर २२ भित्र पर्छन् । त्यसैले ढलहरू जाम हुनेबित्तिकै फोहोर उठाउन मानिसको लर्को लाग्छ ।’

फोहोर उठाउने कार्यमा बढीजसो भारतका बंगालीहरू हुने गरेको वडासदस्य चन्द्रमान तुलाधरले बताए । ‘यहाँ त सुन पसलअघिको फोहोरसमेत बिहानै बढारेर लान्छन्,’ उनले भने, ‘नालीको फोहोर पैसामा कारोबार हुन्छ तर ठेक्कामार्फत ढलको जाम खोल्न लगाइने हुँदा कारोबारमा वडा कार्यालयलाई सरोकार हुँदैन ।’

सुन पसल र कारखाना वरपरबाट उठाइएको नालीको हिलो र पसलबाट निस्कने फोहोरलाई विभिन्न विधिबाट सुन खोजिन्छ । त्यस्ता कारोबार गर्नेहरूले फोहोरको प्रकृति हेरेर पखाल्ने, छान्ने, डढाउने तरिका प्रयोग गर्छन् । निकै कठिन र होसियारीपूर्वक काम गर्दा केही मात्रामा सुन आउन सक्ने र त्यसैबाट गुजारा चलाउने गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv